१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
एकीकृत समाजवादीको दशौँ महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डलगायत प्रमुख दलका शीर्ष नेताहरू । तस्बिर : संजित परियार/नयाँ पत्रिका
प्रेम गौतम काठमाडाैं
२o८१ असार १७ सोमबार o८:३४:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको महाधिवेशन सुरु : सहमतिमै नेतृत्व चयन गर्न दबाब

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o८:३४:oo

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । आइतबार प्रज्ञा भवन कमलादीमा उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले महाधिवेशन सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्दलगायतले महाधिवेशन सफलताको शुभकामना दिए । निम्तो गरिए पनि एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने गएनन् । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीको महाधिवेशनले मुलुकका सबै वामपन्थी र कम्युनिस्ट पार्टीबीच एकताको आधार तयार पार्ने विश्वास व्यक्त गरे । ‘नेपालको कम्युनिस्ट आन्दोलन एकता, संघर्ष, विभाजन, पुनः एकता हुँदै अघि बढेको छ । यसरी हेर्दा पनि हामी सबै वामपन्थी, कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनैपर्नेछ,’ प्रचण्डले भने, ‘सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र आत्मसम्मानका निम्ति एकठाउँमा उभिन जरुरी छ । त्यसका निम्ति पनि महाधिवेशनले ठोस निर्णय लिने विश्वास लिएको छु ।’

माओवादी र एकीकृत समाजवादी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेको पनि प्रचण्डले बताए । ‘मलाई लाग्छ, यो महाधिवेशनले त्यस दिशामा पनि ठोस निर्णय गरोस् । हामी चाहन्छौँ, देशका सबै देशभक्त र वामपन्थी शक्तिहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई, सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सकियोस् ।’ 

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदनमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डले असहमति जनाए । ‘विभिन्न राजनीतिक शक्तिको मूल्यांकन गर्दा माओवादीलाई नजिकको मित्र र ‘अस्थिर’ पनि भन्नुभएको छ । तपाईंहरूको त्यो भन्ने अधिकारप्रति म प्रश्न उठाउन चाहन्न । हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण बनाउन जरुरी पनि छ । त्यो तपाईंहरूको अधिकारको कुरा हो । तर, म यति भन्छु, नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो, समृद्धिको एउटा नयाँ अभियान चलेको छ । प्रचण्ड अलि ‘अस्थिर’ नभएको भए हुँदैन थियो,’ उनले भने । माक्र्सवाद पोखरीजस्तो नभएको उनले दाबी गरे । माओवादी गतिशील भएको भन्दै उनले अस्थिरताका रूपमा नबुझ्न आग्रह गरे । परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा उनको जोड थियो । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले विभाजनको औचित्य पुष्टि भइसकेको दाबी गरे । एमाले विभाजन नगरेको भए आफू र आफ्ना कार्यकर्ता राजनीतिबाट पलायन हुने अवस्था आएको दाबी गर्दै नेपालले विभाजनको औचित्य पुष्टि भइसकेको बताए । ‘संविधानलाई समाप्त पार्न खोजिएको थियो, त्यसलाई विफल पारियो । त्यही वेलामा पुष्टि भएको थियो, जतिवेला हामीले यो पार्टी निर्माण गरेर आफ्ना कार्यकर्ताको रक्षा गरेका थियौँ । नत्र यी कार्यकर्ता निराश हुने थिए । हामी सबै समाप्त हुने थियौँ । हामीले यो राजनीतिबाट पलायन हुनुपथ्र्यो या आत्मसमर्पण गरेर बस्नुपथ्र्यो । हामीले त्यो बाटो रोजेनौँ । विद्रोहको औचित्य पुष्टि भएको छ, क्षणक्षणमा भएको छ,’ उनले भने । नेपालले फेरि संसद् विघटन हुनेतर्फ सचेत रहन प्रधानमन्त्री प्रचण्डलाई आग्रह पनि गरे । विगतमा संविधान र आफूहरूको राजनीति जोगाउन एमाले फुटाउनुपरेको उनले बताए । ‘अहिले पनि खतरा छ, सम्माननीय प्रधानमन्त्रीज्यू । सुनिन्छ, विघटन गरेर ठीक गरियो भनेर पनि कतिपयले बोल्ने गर्छन् । हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गर्देलान्, ख्याल गर्नुस्,’ नेपालले भने । 

कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीले स्थापनाको छोटो अवधिमै नेपालको राजनीतिमा महत्वपूर्ण, निर्णायक भूमिका निर्वाह गरेको बताए । संविधानको रक्षा, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नका लागि महत्वपूर्ण एजेन्डा भएको भन्दै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको बताए ।

शान्ति स्थापना, संविधान निर्माण गर्नेलगायत सवालमा नेपालले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘माधवजीले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिएको सबैलाई थाहा छ,’ उनले भने । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन प्रवर्द्धनमा सबै लाग्नुपर्ने बताए । शोषणको अन्त्य, राष्ट्रियताको प्रवद्र्धन, देशको सामाजिक, आर्थिक रूपान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालको समाजवादी आन्दोलनलाई तीव्र गतिमा अगाडि बढाउने भन्दै खनालले एकताबद्ध भएर अगाडि बढ्न पनि उनले आग्रह गरे । मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिन आग्रह पनि गरे ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा छलफल गर्नका लागि सर्वदलीय बैठक राख्न आग्रह गरे । सबै नेताको भाषणमा जनताको चिन्ता भए पनि व्यवहारमा हुन नसकेको उनको आरोप छ । जनजीविकाको सवालमा सबै नेता एकै ठाउँमा उभिनुपर्ने उनले आंँल्याए । देश बनाउने राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ थियो । ‘यहाँ सबै शीर्ष नेताहरू हुनुहुन्छ । देश बनाउन कसले रोक्छ ? देश बनाउने राष्ट्रिय सहमति गर्न केमा सहमति गर्ने हो ? बुँदाबुँदामा सहमति गरौँ, अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरूप हेर्नुपर्ने हो कि हेरौँला । तर, हामीलाई कसैले रोकेको छैन,’ उनले भने ।

 ओली र लिङ्देन गएनन्
एकीकृत समाजवादीको महाधिवेशनमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गएनन् । ओलीलाई महाधिवेशनमा निम्तो गर्न १० पटक फोन गर्दा पनि नलागेको नेपालले बताए । त्यसपछि म्यासेज पठाएको उनले जानकारी दिए । तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुन सक्ने नेपालले उद्घाटन सत्रमा बताए । ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पिएहरूलाई म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । तीन वर्षको घाउ आलो भएर नआउनुभएको होला । राजनीतिमा घृणाभाव राख्नुपर्ने आवश्यक छैन,’ उनले भने । महाधिवेशनमा राप्रपा पनि सहभागी भएन । राप्रपालाई बोलाए पनि कुनै प्रतिनिधि नआएको नेपालले बताए ।

सोमबार बिहानबाट बन्दसत्र
सोमबार बिहान ९ बजेबाट बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । नेतृत्वका लागि सर्वसहमतिको प्र्रयास भइरहेको नेताहरूले दाबी गरेका छन् ।

सर्वसम्मत हुन नसके सहमतिमै प्रतिस्पर्धामा जाने नेताहरूले बताएका छन् । ‘६० प्रतिशत सहमति, ४० प्रतिशत प्रतिस्पर्धाको सम्भावना देखिन्छ । हामी सहमतिकै पक्षमा छौँ,’ एक पदाधिकारीले भने । प्रतिस्पर्धा हुने अवस्थामा माधवकुमार नेपाल र घनश्याम भुसाल टिमसहित मैदानमा उभिने सम्भावना रहेको नेताहरू बताउँछन् । दुवै पक्षले आफूहरूले जित्ने दाबी गरेका छन्् । प्रदेश अध्यक्षहरूले भने सहमतिमै नेतृत्व चयन गर्न दबाब दिएका छन् ।

कसले के भने ?
प्रचण्ड, प्रधानमन्त्री

सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र आत्मसम्मानका निम्ति एकठाउँमा उभिन जरुरी छ । त्यसका निम्ति पनि महाधिवेशनले ठोस निर्णय लिने विश्वास लिएको छु ।

शेरबहादुर देउवा, सभापति, कांग्रेस
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । शान्ति स्थापना, संविधान निर्माण गर्नेलगायत सवालमा माधवजीले महत्वपूर्ण योगदान दिएको सबैलाई थाहा छ ।

माधवकुमार नेपाल, अध्यक्ष, एकीकृत समाजवादी
संविधानलाई समाप्त पार्न खोजिएको थियो, त्यसलाई विफल पारियो । त्यही वेलामा पुष्टि भएको थियो, जतिवेला हामीले यो पार्टी निर्माण गरेर आफ्ना कार्यकर्ताको रक्षा गरेका थियौँ । नत्र यी कार्यकर्ता निराश हुने थिए । विद्रोहको औचित्य पुष्टि भएको छ ।

रवि लामिछाने, उपप्रधानमन्त्री 
यहाँ सबै शीर्ष नेताहरू हुनुहुन्छ । देश बनाउन कसले रोक्छ ? देश बनाउने राष्ट्रिय सहमति गर्न केमा सहमति गर्ने हो ? बुँदाबुँदामा सहमति गरौँ, अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरूप हेर्नुपर्ने हो कि हेरौँला । तर, हामीलाई कसैले रोकेको छैन ।

 

ad
ad
ad
ad