१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ असार १७ सोमबार o८:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आयल निगमले सफ्टवेयर प्रणाली बनाउँदा खर्चेको २६ करोडमाथि प्रश्न

ठेक्का सम्पन्न नहुँदै मर्मत सम्झौता गरेर भुक्तानी दिइयो दुई करोड ५२ लाख

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o८:४७:oo

नेपाल आयल निगमले सफ्टवेयर प्रणाली बनाउँदा खर्चेको करिब २६ करोड रुपैयाँमाथि प्रश्न उठेको छ । निगमका आर्थिक कारोबार, प्रशासनिक तथा व्यवस्थापकीयलगायत सबै गतिविधिलाई डिजिटलाइज्ड गर्न भन्दै भएको सफ्टवेयर प्रणाली खरिद प्रक्रियामा अनियमितता देखिएको छ । 

ठेक्का सम्पन्न नहुँदै र प्रणाली सञ्चालनमा नआउँदै निगम प्रशासनले वार्षिक मर्मत सम्झौता (एएमसी) गरेर दिएको दुई करोड ५२ लाख रुपैयाँमाथि प्रश्न उठेको छ । जब कि ठेक्का सम्पन्न भएर हस्तान्तरण भएको सफ्टवेयर प्रणाली प्रभावकारी रूपमा सञ्चालन पनि हुन सकेको छैन । ठेक्काअन्तर्गत हालसम्म सम्झौताबमोजिम डेढ करोड रुपैयाँबाहेक सबै भुक्तानी भइसकेको छ । कम्पनीले पनि काम सकिएको भन्दै सम्पूर्ण भुक्तानीका लागि ताकेता गरेको छ । तर, प्रणाली राम्रोसँग चल्न सकेको छैन । निगमले इआरपी (इन्टरप्राइजेज रिसोर्स प्लानिङ) अन्तर्गत जर्मन कम्पनी स्यापको सफ्टवेयर खरिद गरेको थियो ।

आयोजना सम्पन्न भएर हस्तान्तरण भएपछि सञ्चालनका क्रममा मर्मतका लागि एएमसी गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । सामान्यतः ठेक्काको मान्यता पनि काम सम्पन्न भएपछि सञ्चालनका क्रममा एएमसी गरिन्छ । तर, आयोजना सम्पन्न नहुँदै निगमले एएमसीका नाममा भुक्तानी दिएको विषय विवादित हुन पुगेको छ । निगमले ठेक्का सुरु भएको एक वर्षपछि १ असोज ०७८ मै ठेकेदारलाई एएमसीको रकम भुक्तानी दिएको थियो । 

ठेक्कामा पनि गडबड : इच्छाएको कम्पनीलाई ठेक्का पार्ने गरी स्पेसिफिकेसन
साबिकमा कागजी रूपमा सञ्चालन हुँदै आएका गतिविधिलाई डिजिटलाइज्ड गर्ने भन्दै निगमले इआरपीअन्तर्गत सफ्टवेयर खरिदको प्रक्रिया अघि बढाएको थियो । तर, ठेक्काको प्रक्रियामा मिलेमतो र गडबडी देखिएको छ । ठेक्का प्रक्रियाबमोजिम निगमले आह्वान गरेको बोलपत्रको स्पेसिफिकेसनमा ठेकेदारको योग्यताअन्तर्गत निगमको इन्धन आपूर्तिकर्ताले प्रयोग गरेकै सफ्टवेयर प्रयोग गर्ने भनेर प्रतिस्पर्धा सीमित गरिएको थियो । निगमको इन्धन आपूर्तिकर्ता इन्डियन आयल निगम (आइओसी) हो । त्यति वेला आइओसीले स्यापकै सफ्टवेयर प्रयोग गरिरहेको थियो । मिलेमतोमा प्रतिस्पर्धा सीमित गर्नका लागि यस्तो गरिएको थियो । 

विभिन्न कम्पनीबीच प्रतिस्पर्धा देखाएर निगम प्रशासनले ०७७ मा ठेक्का लगाएको थियो । एम÷एस नियोटेरिक निओसफ्टवेयर जेभीसँग निगमले ४ साउन ०७७ मा सफ्टवेयर खरिदका लागि सम्झौता गरेको थियो । सम्झौतामा ठेक्का रकम भ्याटसहित २५ करोड ८४ लाख ४७ हजार ९१५ रुपैयाँ थियो । सफ्टवेयरका लागि निगमले निर्धारण गरेको उक्त लागत पनि अत्यधिक र अस्वाभाविक भएको भन्दै प्रश्न उठेको छ । 

ठेक्कामा ढिलाइ, सञ्चालनमा कठिनाइ  
३६ महिना अर्थात् तीन वर्षभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्ने दुई पक्षबीच भएको सम्झौतामा उल्लेख छ । तर, ठेकेदारले समयमा काम सम्पन्न गर्न नसकेपछि कोभिड १९ को बहानामा ६ महिना समय थपिएको थियो । योसहित गत ३ माघमा ठेक्का सम्पन्न गर्नुपर्ने थियो । 

सम्झौताबमोजिमको समय गुज्रेपछि ठेकेदारले काम सकिएको भन्दै ठेक्काअन्तर्गत सम्पूर्ण भुक्तानीका लागि निगमलाई पत्राचार गर्‍यो । ठेकेदारबाट रकम माग भएपछि आयोजना प्रबन्धक राजन नेपालले निगम प्रशासनलाई ठेक्काको ९८ प्रतिशत काम पूरा भएको भन्दै भुक्तानीका लागि गत ६ वैशाखमा सिफारिस गरेका थिए । तर, पूरै रकम हालसम्म भुक्तानी भएको छैन । 

ठेकेदारले निगमलाई प्रणाली दिएको छ । ठेक्काबापतको अधिकांश हिस्सा भुक्तानी पनि गरिसकेको छ । तर, अहिले यसको सञ्चालनमा कठिनाइ देखिएको छ भने कयौँ त्रुटि पनि भेटिएका छन् । ठेक्का सम्झौतामा निगमले गर्नुपर्ने भुक्तानी सीधै आफैँले गर्न मिल्ने गरी सफ्टवेयर प्रणाली बनाउने उल्लेख थियो । तर, त्यसका लागि भुक्तानीको ‘मोड्युल’ नै तयार गरिएको छैन । हालसम्म पनि निगमले चेकबाटै भुक्तानी दिइरहेको छ । त्यस्तै, सफ्टवेयरको ‘एचआर (ह्युमन रिर्सोस) मोड्युल’ पनि अपुरो छ । ठेक्काको सर्तबमोजिम कर्मचारीलाई सफ्टवेयरमा पहुँच दिनेसम्बन्धी पर्याप्त व्यवस्था तयार भएको मोड्युलमा गरिएको छैन । 

ठेक्काको स्पेसिफिकेसनमा आइओसीले प्रयोग गरिरहेको सफ्टवेयर प्रयोग गर्ने भनेर योग्यता निर्धारण गरी प्रतिस्पर्धा सीमित गरियो । मिलेमतोमा ठेक्का सम्झौता गरिएको थियो । आइओसीले प्रयोग गरिरहेको यही सफ्टवेयर ‘एड्भान्स’ छ । त्यही सफ्टवेयर भनिए पनि नेपालमा भने कमजोर र विभिन्न त्रुटि देखिएका निगमका अधिकारीहरू बताउँछन् । यसैका कारण सफ्टवेयर राम्रोसँग सञ्चालन हुन सकेको छैन । 

निगमका प्रवक्ता इ. मनोजकुमार ठाकुरले भने सफ्टवेयर प्रणाली सञ्चालनमा रहेको र अहिले अनलाइनबाटै सबै काम भइरहेको बताए । निगमको आवश्यकताअनुसार नै सफ्टवेयर बनेको उनको भनाइ छ । ‘आइओसीमा १८–२० वर्षदेखि यही प्रणाली छ । हाम्रोमा नयाँ भएकाले ‘एडप्टेसन’मा समय लागेको हो,’ उनले भने, ‘भुक्तानीका लागि बैंकसँग जोडिने काम भइरहेको छ ।

निगमको आवश्यकताअनुसार नै सफ्टवेयर बनेको छ
इ. मनोजकुमार ठाकुर, प्रवक्ता, नेपाल आयल निगम 

सफ्टवेयर प्रणाली सञ्चालनमा छ । अहिले अनलाइनबाटै सबै काम भइरहेका छन् । निगमको आवश्यकताअनुसार नै सफ्टवेयर बनेको छ । आइओसीमा १८–२० वर्षदेखि यही प्रणाली छ । हाम्रोमा नयाँ भएकाले ‘एडप्टेसन’मा समय लागेको हो । भुक्तानीका लागि बैंकसँग जोडिने काम भइरहेको छ । एएमसीको भुक्तानीको विषय मेरो जानकारीमा छैन ।  

 

ad
ad
ad
ad