अपहरणपछि घाइते भएका दुईजना चिनियाँलाई अस्पताल भर्ना गरेपछि मात्रै अपहरणको भेद खुलेको पाइएको छ । अपहरित दुईजना चिनियाँलाई अपहरणकारीले नै उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल लगेका थिए । घाइते अवस्थामा अस्पताल लगिएका चिनियाँ नागरिकको सम्बन्धमा अस्पताल प्रशासनले प्रहरी कार्यालयमा खबर गरेपछि मात्रै उनीहरू अपहरणमा परेको रहस्य खुलेको थियो ।
त्यसलगत्तै अनुसन्धानमा खटिएका प्रहरीले घटनामा संलग्न दुई चिनियाँ नागरिकसहित चार अभियुक्तललाई ठमेलबाट पक्राउ गर्न सफल भएको थियो । अनुसन्धनमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रवक्ता डिएसपी प्रमेश विष्टले अपहरणपछि घाइते भएका दुई चिनियालाई धुलिखेल अस्पताल भर्ना गरिएको र त्यसपछि घटनाको अनुसन्धान अघि बढेको बताए ।
एनले भने,‘दुई चिनियाँको चिनियाँ नागरिकबाटै अपहरण भयो । कुटपिटपछि घाइते भए । उपचार गर्न अपहरणकारीले नै उनीहरूलाई धुलिखेल अस्पताल भर्ना गरे । त्यस क्रममा प्रहरीकहाँ सूचना आयो । अनुसन्धान भयो । घटनामा संलग्न सबै पक्राउ परे ।’
गत १९ पुसमा दुई चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङलाई उनीहरूकै साथी चीन आङखोइ उहुका वु चाव र चिन सान्दोंका झाङ वेले अपहरण गरेका थिए । उनीहरूलाई दुई नेपाली सिन्धुपाल्चोक भोटेकोसी ५ का ३२ वर्षीय दावा पासाङ लामा र सोही ठाउँका माइला भनिने भक्त लामाले सघाएका थिए ।
प्रहरीका अनुसार अपहरणकारीले विपिङ र जियाजिङलाई गौशालास्थित होटेल आनन्दबाट ट्याक्सीमा काभ्रे हुँदै सिन्धुपाल्चोकको मार्मिङ लगेका थिए । जहाँ अपहरणमा संलग्न दावाको घर छ । उनीहरूले अपहरित विपिङ र जियाजिङलाई सोही घरमा बन्धक बनाए । चरम यातना दिन सुरु गरे ।
यही क्रममा अपहरित दुई अपहरणकारीको कब्जाबाट भाग्न सफल भए । भाग्ने क्रममा उनीहरू बारीका कान्ला/कान्ला हाम फल्न थाले । भागेको सुइँको पाएपछि अपहरणकारीले उनीहरूलाई पछ्याउन थाले । यस क्रममा दुई पक्षको झन्डै दुई दिन लुकाछिपी चल्यो । बाटो पहिल्याउन नसकेका अपहरित फेरि अपहरणकारीको पन्जामा पुगे । यातना पुनः सुरु भयो । यस क्रममा अपहरितमध्ये एकजनाको खुट्टा भाँचियो । अर्का सख्त घाइते भए । हिँड्न नसक्ने भएपछि दुवैलाई अपहरणकारीले बोके ।
घाइेतलाई बल्लतल्ल सडकसम्म पुर्याए । बस समाते । त्यसैमा चढेर घाइतेलाई धुलिखेल अस्पताल लगे । उपचारका लागि अस्पताल भर्ना गर्न खोजे । चिकित्सकले बिरामीको अवस्था परीक्षण गरे । शरीरभरि नीलडाम मात्र नभई हातखुट्टा नै भाँचिएको पाइएपछि अस्पताल प्रशासनले भर्ना लिन मानेन । यसका लागि प्रहरीको सिफारिसपत्र आवश्यक परेको जानकारी दियो । लगत्तै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा खबर पुग्यो । घटनाको निरीक्षण गर्न प्रहरी अस्पताल पुग्यो । अनुसन्धानपछि बल्ल खुल्यो, अस्पताल भर्ना गर्न ल्याइएका दुई चिनियाँको चिनियाँ नागरिकबाटै अपहरण भएको रहेछ ।
त्यसवेलासम्म घटनामा संलग्न चारैजना फरार भइसकेका थिए । घटनाको सम्बनन्धमा प्रहरीमा सर्कुरल भयो । खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं जुट्यो । नभन्दै घटनामा संलग्न दुई चिनियाँ नागरिकसहित चार अभियुक्त ठमेलबाट पक्राउ परे ।
परिसर प्रमुख एसएसपी अशोक सिंहले घटना सम्बन्धमा भने,‘अपहरण भएको सूचनापछि नै हामी सक्रिय थियौं । उनीहरूलाई हामीले ट्रयाकिङ गर्दै थियो । यस क्रममा उनीहरू काठमाडौं आइपुगेको सूचना पायौँ । ठमेलमा रहेको खुलेपछि अपरेसन चल्यो । यही क्रममा चारजना पक्राउ परे ।’