प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।
कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीका बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीका बारेमा छलफल भएको बताए । उनले भने, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्नेबारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं । सल्लाह त्यही भएको छ ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।
‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्री नपाएर छटपटिरहेका वेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ । त्यसैले, हामी २९ गते प्रदर्शन गर्दै छौँ । प्रदर्शन गर्दैगर्दा आजको बैठकले विशेष रूपमा देशभरि रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’
प्रवक्ता शर्माले सरकार बनेपछि बढिरहेको भ्रटाचारका विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताए । उनले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तुत गरेकोसमेत बताए ।
यस्तै कांग्रेसको बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्नसमेत माग गरेको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाका विरुद्धमा प्रदर्शन भएको बताए ।
२९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए ।