मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १६ मंगलबार
  • Thursday, 19 December, 2024
१. ६ वर्षअघि सरकारले गौरीगन्ज– ६ स्थित देवीगन्जमा बनाइदिएको चर्पी । हाल बिग्रिएर प्रयोग नै गर्न नहुने अवस्थामा पुगेको छ । २. गौरीगन्ज–६ स्थित देवीगन्जको सुकुमबासी सन्थाल बस्ती । जुन बस्तीले राज्यको खुला दिसामुक्त क्षेत्रलाई गिज्याइरहेको छ ।
२o७७ मङ्सिर १६ मंगलबार १o:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खुला दिसामुक्त क्षेत्र नारामै सीमित : गाउँमै छैन चर्पी, खोला र खेतकै भर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १६ मंगलबार १o:o६:oo

झापा गौरीगन्ज– ६ को देवीगन्जस्थित सन्थाल बस्तीमा ६ वर्षअघि २२ घरका लागि एउटा शौचालय निर्माण भएको थियो । तत्कालीन समयमा राज्यको तर्फबाट निर्माण भएको शौचालय बिग्रिएको दुई वर्ष भयो । अहिले सन्थाल बस्तीका सुकुमबासी खुला ठाउँमै दिसा–पिसाब गर्छन् । उक्त चर्पीवरिपरि झार पलाएको छ । प्रयोग गर्न छाडेको वर्षौँ भएको छ ।

गत वर्ष देशलाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश बन्यो नेपाल । तर, आवश्यक तयारीविनै खुला दिसामुक्त घोषणा गरिँदा देवीगन्जजस्ता धेरै बस्ती शौचालयविहीन छन् । 

झापाका दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा शौचालय छैन । दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरले शौचालय बनाउन नसक्दा खोला र खुला स्थानमा दिसा–पिसाब गर्न बाध्य छन् । ‘यहाँ २२ घरमा चर्पी छैन । हामी खोलामा दिसा–पिसाब गर्छौँ । अर्काको जग्गामा दिँदैन के गर्ने ? घर पनि सुकुमबासी बस्तीमा छ । बिहान कमाएर बेलुका खान पनि पुग्दैन । कसरी चर्पी बनाउने ? सानो चर्पी बनाउन पनि पाँच हजार लाग्छ, हामीले कहाँबाट ल्याउने ?’ देवीगन्जका राम सोरेनले भने, ‘हामीले धेरैपटक चर्पी माग्यौँ । लेखेर पनि पठायौँ । तर, अहिलेसम्म भएन । भोट माग्न पो आउँछन् । काम गर्ने वेलामा आउँदैनन् ।’ 

शौचालय बनाउन न जग्गा, न पैसा
गरिबीका कारण नै शौचालय बनाउन नसकिएको देवीगन्जकी सुकुमबासी सरोजमणि मिस्त्रीले बताइन् । ‘सरकारले २२ घरका लागि यो चर्पी बनाएको थियो । अहिले बिग्रेको छ । अलिक सक्नेले आफैँ बनाएका छन् । हामीले त कसरी सक्ने ? खाना पुग्दैन, कसरी चर्पी बनाउने ?’ उनले भनिन्, ‘बाटोको जग्गामा घर छ । चर्पी बनाउने गरी जग्गा पनि छैन हामीसँग ।’

खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने समयमा बनाउन नसक्नेलाई गाउँपालिकाले नै बनाइदिएको गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । देवीगन्जमा शौचालय बनाउने पर्याप्त जग्गा नभएकाले छुटेको उनले बताए । ‘त्यो सुकुमबासी बस्ती सडकछेउमा छ । चर्पी बनाउने जग्गा पनि छैन,’ उनले भने, ‘यो बस्तीलाई नै व्यवस्थित ठाउँमा स्थानान्तरण गर्ने तयारीमा छौँ ।’

दक्षिणी क्षेत्रमा शौचालय भए पनि अधिकांश जनताले प्रयोग नै नगर्ने अध्यक्ष श्रेष्ठले बताए । ‘यहाँका जनतामा शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतना छैन । चर्पी घरमा हुन्छ, तर उनीहरू खोला तथा खेतमै जान्छन्,’ उनी भन्छन्, ‘शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतना नै छैन । चेतनाको विकास गर्न विभिन्न कार्यक्रम पनि गर्दै आएका छौँ ।’ 

सरकारी तथ्यांक भन्छ– सबै घरमा शौचालय छ
सरकारी तथ्यांकअनुसार झापामा शतप्रतिशत शौचालय छ । तर, दक्षिणी क्षेत्रका खोला र खेत भने खुला दिसामुक्त क्षेत्रलाई गिज्याउने गरी दुर्गन्धित छ । ‘शतप्रतिशत शौचालय नबनी त कसरी खुला दिसामुक्त क्षेत्र घोषणा भयो होला र ? तर, प्रयोगचाहिँ ९०–९५ प्रतिशतले मात्र गर्छन्,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्रकुमार केसरी भन्छन्, ‘यो जनचेतनाकै कमीले हो । जनचेतना जगाउने कार्यक्रम हामीसँग छैन । स्थानीय तहकै जिम्मेवारी हो ।’