१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ११ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर ११ बिहीबार o६:३८:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योग वाणिज्य महासंघको निर्वाचन : यस्तो छ एसोसिएट समूहका दुई उपाध्यक्ष उम्मेदवारको दाबी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर ११ बिहीबार o६:३८:oo

सिंगो निजी क्षेत्रको गरिमा बढाउनेछु  

सौरभ ज्योति 
उपाध्यक्ष उम्मेदवार, एसोसिएट समूह

मैले महासंघमा एक दशकभन्दा लामो समय काम गरिसकेको छु । प्रोडक्टिभिटी एन्ड क्वालिटी समिति, कर तथा राजस्व समिति, बैंक फाइनान्स र इन्स्योरेन्स समितिको संयोजक भई सफलतापूर्वक काम गरेर प्रमाणित गरिसकेको व्यक्ति हुँ । एफएनसिसिआई नेसनल एक्सिलेन्स अवार्डका लागि दुईपटक काम गर्ने मौका पाएँ । मैले सबै समितिहरूमा रहँदा आफूले पाएको जिम्मेवारीलाई न्याय हुने गरी काम गरेको छु । 

मैले नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा), नेपाल युवा उद्यमी मञ्च, सार्क युथ फोरमलगायत संघ–संस्थाहरूको अध्यक्ष पदमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छु । आफूले नेतृत्व लिएका संघ–संस्था र समितिहरूमा सफलतापूर्वक काम गरेको हुनाले महासंघको उपाध्यक्षका लागि योग्य उम्मेदवार हुँ । मैले एसोसिएट उपाध्यक्ष निर्वाचित भएपछि सम्पूर्ण इफोर्ट लगाएर काम गर्नेछु, किनकि उपाध्यक्ष हुँदा डेलिभरी दिन सकिएन भने अध्यक्ष हुन सकिँदैन ।

महासंघको अध्यक्षसम्म भएर सम्पूर्ण निजी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु । मैले महासंघका विभिन्न समितिहरूमा रहेर काम गर्दा सरकारसँग नजिक भएर काम गर्ने मौका पाएको छु । त्यसैले उद्यमी–व्यवसायीका समस्याहरू समाधान गर्नका लागि सरकारसँग लबिङ गर्न सक्ने आँट छ । मैले महासंघमा काम गरेर प्रमाणित गरिसकेको हुनाले उद्यमी–व्यवसायी साथीहरूको साथ पाउने पक्का छ । सिंगो निजी क्षेत्रको गरिमा बढाउने उद्देश्य लिएर अगाडि बढेको छु । देशभरका सम्पूर्ण उद्यमी–व्यवसायीलाई एकबद्ध बनाएर अगाडि बढ्ने मेरो लक्ष्य हो ।

महासंघको शुद्धीकरण, सुदृढीकरणसँगै व्यवसाय र व्यवसायीको पुनरुत्थान मेरो उम्मेदवारीको ध्येय हो । युवा नेतृत्वमार्फत समावेशी विकास र साझेदारीयुक्त समृद्धिद्वारा देशको सुनौलो भविष्य निर्माण गर्ने काममा अगाडि बढ्नेछु । हाम्रो मुख्य उद्देश्य भनेकै महासंघलाई पूर्णतः राजनीतिमुक्त बनाई व्यवसायीको हकहित एवं उद्योग–व्यवसायको विकासका लागि नितान्त व्यावसायिक संस्थाका रूपमा अगाडि बढाउने, १० वर्षको आर्थिक विकास कार्यक्रमको अवधारणालाई अगाडि बढाउने, सम्पूर्ण केन्द्रीय सदस्यहरूको उद्देश्यअनुरूप परिचालनबाट परिणाममूलक कार्य गर्ने, सम्पूर्ण उद्योग–व्यवसाय र व्यवसायीलाई एकताबद्ध गरी महासंघलाई अझ सबल, अझ सक्षम बनाउने हो । 

मैले प्रत्येक तीन महिनामा एसोसिएटका साथीहरूसँग भेटघाट र छलफल गरी सल्लाह–सुझाब लिनुका साथै सदस्यहरूको समस्या समाधान गर्न पहल गर्नेछु । महासंघमार्फत देशको आर्थिक नीति निर्माणमा अग्रगामी भूमिका खेल्ने प्रण गर्दछु । अन्य संघ–संस्थासँग सहकार्य गरी उद्योग–व्यवसायको हितमा साझा नीति अगाडि बढाउनेछौँ । हाम्रा एसोसिएट सदस्यका उम्मेदवारहरू विभिन्न क्षेत्र र व्यवसाय बुझेका अनुभवी व्यवसायी हुनुहुन्छ । 

महासंघमा एसोसिएट उपाध्यक्ष भएपछि श्रम तथा रोजगार परिषद्को नेतृत्व सम्हाल्नुपर्ने हुन्छ । हामीले श्रम ऐनमा रोजगारदाताको हकहित कायम गराउन पहल गर्ने, श्रम ऐनलाई सुधार गरी कार्यान्वयन गराउने, श्रमिकको उपादेयता बढाई कार्यस्थलमा हुने राजनीति न्यूनीकरण गर्ने, सन्तुलित श्रम ऐन र सौहार्दपूर्ण सम्बन्ध कायम गर्ने, ट्रेड युनियन र सरकारसँग सौहार्दपूर्ण सम्बन्ध काय गरी उद्देश्यप्राप्तिका लागि वातावरण बनाउने काम गर्नेछौँ । औद्योगिक, व्यावसायिक ऐनको परिमार्जन गराई आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित गर्न पहलकदमी गर्ने हाम्रो उद्देश्य छ ।

मसँग अनुभवसँगै एजेन्डा पनि छ 

 

रामचन्द्र संघई 
उपाध्यक्ष उम्मेदवार, एसोसिएट समूह

नेपाल उद्योग वाणिज्य महासंघमा १५–१६ वर्षदेखि कार्यकारिणी सदस्यका रूपमा काम गर्दै आएको छु । यो अवधिमा महासंघलाई नजिकबाट चिन्ने मौका पाएको छु । साढे तीन दशकदेखि उद्योग–व्यवसायमा संलग्न छु । हाम्रो कृषिमूलक, सेवामूलक, उत्पादनमूलक उद्योग सञ्चालनमा छन् ।

हामी निर्यातमा पनि संलग्न छौँ । सबैजसो उद्योग–व्यवसाय क्षेत्रका समस्या र समाधानका विषयमा जानकार छु । मेरो व्यावसायिक अनुभव र महासंघको साढे एक दशकको अनुभवलाई सदुपयोग गर्न एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । 

मसँग अनुभवसँगै एजेन्डा पनि छन् । खासगरी श्रम सम्बन्ध सुमधुर बनाउने, देशमा रोजगारी सिर्जना गराउने, कर्पोरेट क्षेत्रको समस्या समाधान गर्ने, लगानीको वातावरण बनाउन सरकारसँग लबिङ गर्ने मेरा मुख्य एजेन्डा हुन् । 

हाम्रो समूहले विभिन्न क्षेत्रका १५–१६ हजारजनालाई रोजगारी दिएको छ । श्रमिक र रोजगारदाताको सम्बन्ध तथा ट्रेड युनियनसँग कसरी सम्बन्ध बनाउने भन्ने कुरा मलाई थाहा छ । असल श्रम सम्बन्ध स्थापना भए मात्रै देशमा उद्योग–व्यवसाय र रोजगारी बढ्छ । 

कोरोना महामारीका कारण उद्योग–व्यवसाय धेरै प्रभावित भए । अझै पनि कतिपय उद्योग–व्यवसायले ३०–४० प्रतिशत मात्रै क्षमता उपयोग गर्न सकेका छन् । होटेल, एयरलाइन्सलगायत पर्यटन उद्योग अलि बढी समस्यामा छन् । यसको रिकोभरीका लागि काम गर्ने पनि मेरो एजेन्डा छ ।

घरेलु, साना तथा मझौला उद्यम–व्यवसायको पुनस्र्थापना तथा विस्तारमा पनि हामीले जोड दिनुपर्छ । विभिन्न व्यवसायमा संलग्न रहेका कारण मलाई सबैखाले व्यवसायको समस्या र समाधानको विषयमा जानकारी छ । यस्तो अनुभवलाई उपयोग गर्दै सरकारसँग समन्वय गरेर लगानीको उपयुक्त वातावरण बनाउन पहल गर्नेछु । 

हाम्रो देशको अर्थतन्त्र आयातमा आधारित छ । यसलाई निर्यातमुखी बनाउन आवश्यक छ, यसतर्फ पनि मेरो पहल हुनेछ । अहिले नै पनि मैले ३–४ वटा वस्तु विभिन्न मुलुकमा निर्यात गर्दै आएको छु । धागो उत्पादन गरेर टर्कीमा निर्यात गरेर म महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिइपी)बाट सम्मानित भएँ । दाल निर्यात गरेर पनि सिइपीबाट सम्मान प्राप्त गरेँ । चिया पनि निर्यात गरिरहेका छौँ । जसरी व्यावसायिक क्षेत्रमा सफल भएर सिइपी प्राप्त गरेको छु, त्यो ऊर्जा, मिहिनेत र इमानदारिता महासंघमा लगाउने मेरो अठोट छ । 

चुनाव आइसकेको छ । मेरो अनुभव र एजेन्डा नै मेरो जितको आधार हो । अनुभव र एजेन्डासँगै हाम्रो टिम पनि मेरो जितको आधार हो । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको नेतृत्वमा हामी चुनावमा होमिएका छौँ । चन्द्र ढकाललाई नचिन्ने कोही छैन, उहाँको नेटवर्क देशैभर छ, उहाँ सफल र इमानदार हुनुहुन्छ । यसर्थ, उहाँको नेतृत्वमा हाम्रो जित सुनिश्चित छ । हाम्रो एसोसिएटका सबै सदस्य उम्मेदवार अनुभवी र सफल हुनुहुन्छ । हाम्रो टिम राम्रो छ । समग्रमा हाम्रो टिमसँग अनुभव छ, स्पष्ट एजेन्डा छ, व्यवसायमा पनि सफल छौँ, यसले गर्दा हामी चुनावमा जित्नेछौँ भन्नेमा ढुक्क छौँ ।