राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको नयाँ मूल्य निधारण गरेको छ । बोर्डले १ मंसिर ०७७ देखि लागू हुने गरी उत्पादनमा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर नयाँ मूल्य समायोजन गरेको हो ।
बोर्ड पोखराका क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार बोर्डले प्रत्येक वर्ष मंसिर १ गतेदेखि लागू हुनेगरी कफीको नयाँ मूल्य निधारण गर्ने गरेको छ ।
सार्वजनिक गरेको मूल्यअनुसार फ्रेस चेरी प्रतिकेजी ए ग्रेडको ९० रुपैयाँ र बी ग्रेडको ८५ रुपैयाँ कायम गरिएको छ । ए ग्रेडको कफीमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि गरिएको हो । जुन प्रांगारिक पद्धतिबाट उत्पादन गरिएको, ठिक्क पाकेको पानीमा राख्दा डुब्ने र केलाएर राखिएको हुनुपर्ने पुरीले जानकारी दिए ।
चिसो प्रशाेधन विधिअन्तर्गत तयार गरिएको ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट कफी ग्रेड एको चार सय ५० (गत वर्षभन्दा प्रतिकेजीमा २५ रुपैयाँ बढेको), ग्रेड बी को तीन सय ९७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै चिसो प्रशाेधन विधिबाट १२ देखि २४ घन्टाभित्र प्रशाेधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राई चेरी ग्रेड एको एक सय ४८, ग्रेड बीको ९५ रुपैयाँ प्रतिकेजी मूल्य कायम गरिएको छ ।
बोर्डले न्यूनतम मूल्य कायम गरे पनि कृषकले भने स्थान विशेषअनुसार ताजा फलको प्रतिकेजी एक सयभन्दा बढी र पार्चमेन्टको प्रतिकेजी पाँच सयभन्दा बढी मूल्य पाउँदै आएका पुरीले जानकारी दिए ।
५० प्रतिशतले कमी आउने
यस वर्ष कफीको उत्पादन एवं खेती गरिएको क्षेत्रमा ५० प्रतिशत कमी आउने बताइएको छ ।
विगतका वर्षहरूमा कफीको उत्पादन र खेती गरिएको स्थान बढे पनि गत वर्ष जलवायु प्रतिकूलताका कारण, कफीमा गबारो, सिन्दुरे रोगलगायत अन्य कारणबाट बिरुवा मरेकाले बगानको क्षेत्रफल कटौतीसँगै यस वर्ष उत्पादन एवं खेती गरिएको क्षेत्रफलमा ५० प्रतिशतसम्म गिरावट आउने सक्ने बोर्डले प्रक्षेपण गरेको छ ।
केही पालिकाबाट तथ्यांकहरू पूर्ण रूपमा आइनसकेकाले क्षतिको यकिन हुन नसकेकोसमेत पुरीले जानकारी दिए ।
हाल नेपालका ४३ जिल्लामा कफी खेती विस्तार भएको छ । नेपालजस्तो उच्च भौगोलिक क्षेत्र रहेको स्थानमा खेती गर्दा कफीको गुणस्तर राम्रो हुने, कफीको स्वाद, बास्ना तथा सन्तुलित गुण हुने हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्चसँगै मूल्य पनि अन्य देशको भन्दा उच्च रहेको छ ।
देसँगै अन्तर्राष्ट्रिय बजारमा गरी १४ हजार मेटिक टन कफीको माग हुँदै आएको पुरीले जानकारी दिए ।
खासगरी नेपालमा साना कफी कृषक र सहकारी व्यवस्थापनबाट अर्गानिक पद्धति अपनाई छहारीभित्र कफी खेती गरिने हुनाले विश्व बजारमा विशिष्ट कफीको रूपमा नेपाली कफी परिचित हुँदै आएको उनको भनाए छ ।
आयात बढ्यो निर्यात घट्यो
हाल सहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिका कारण आन्तरिक बजारमा खपत बढेसँगै उत्पादन नबढदा विगत केही वर्ष कफीको आयात बढेको र निर्यात घटेको पुरीले जानकारी दिए ।
भन्सार विभागको आर्थिक वर्ष ०६७/७७ को तथ्यांकअनुसार ११ करोड ८८ लाखबराबरको दुई सय ६६ मेट्रिकक टन कफी आयात हुँदा पाँच करोड ७७ लाख रुपैयाँबराबरको ४६.८९ मेट्रिक टन निर्यात भएको छ ।
नेपाली बजारमा कफीको मागमा उच्च वृद्धि हुँदा उत्पादन बढ्न नसकेपछि कफीको आयात बढेको र निर्यात घटेको पुरीले बताए । नेपालबाट दक्षिण कोरिया, जर्मन, अमेरिका, क्यानडालगायतका देशमा बढी निर्यात हुने गरेको छ ।