मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २९ शनिबार ०९:२९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाँच वर्षपछि नेपाल बंगलादेशसँग हार्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २९ शनिबार ०९:२९:००

एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फर्किएको नेपाली राष्ट्रिय पुरुष टोली बंगलादेशसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बंगलादेशको ढाका स्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल आयोजक टोलीसँग २–० ले हार बेहोरेको हो । नेपाल बंगलादेशसँग पाँच वर्षपछि निराश बन्यो ।

सन् २०१५ मा सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशले नेपाललाई १–० ले हराएको थियो । सन् २०१८ मा नेपालले बंगलादेशमै सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले २–० को जित निकालेको थियो । २ मंसिरमा दोस्रो खेल हुनेछ । बंगलादेशलाई मैत्रीपूर्ण सिरिज ट्रफी उचाल्न बराबरी नै काफी छ । नेपाललाई सिरिज बराबरी गर्न जित नै चाहिन्छ । 

बल पोसेसन राम्रो, तर गोल भएन
नेपालले यो पाँच वर्षभित्र बंगलादेशमाथि दबदबा राखेको देखिन्छ । यसक्रममा नेपालले बंगलादेशलाई तीन खेलमा पाखा लगाएको थियो । एक खेल बराबरीको सामना नेपालले गरेको छ । शुक्रबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नुअघि नेपालले तीन साताको तयारी गरेको थियो । बंगलादेशकै प्रस्तावमा नेपाल दुई मैत्रीपूर्ण खेल खेल्न ढाका गएको हो । नेपालविरुद्ध प्रतिस्पर्धा गर्न बंगलादेशको एक महिना तयारी थियो । प्रतिस्पर्धामा नेपाली खेलाडीको फिटनेस समस्या देखियो । 

यद्यपि बल पोसेसनमा नेपालको राम्रो पकड भए पनि लामो समयपछि मैदानमा छिरेका खेलाडीले सहज गोल अवसर चुकाउँदा नेपाली टोली पाँच वर्षपछि बंगलादेशसँग हारको सामना गर्‍यो । यता बंगलादेशले दुई वर्षअघि भोगेको हारको बदला लिन सफल भयो । नेपाल र बंगलादेश कतार विश्वकपअन्तर्गत एसियन छनोटको तयारीमा छन् । 

दशरथ रंशगालामा एक साता नेपाली टोलीले प्रशिक्षण गर्दा मुख्य चार खेलाडी संक्रमित भएका थिए । त्यसपछि प्रशिक्षक बालगोपाल महर्जनले आठ नयाँ युवा खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरे । बंगलादेशविरुद्ध खेल्नुअघि टोलीमा रहेका एक खेलाडी कोभिड–१९ संक्रमित भएका छन् । 

तीन खेलाडीको डेब्यु
नेपालका अन्तरिम मुख्य प्रशिक्षक महर्जनले तीन नयाँ खेलाडीलाई डेब्यु गराए । युवा डिफेन्डर विकास खवास पहिलो सेटमै प्रतिस्पर्धा गरेका थिए । यसैगरी मिडफिल्डर एरिक विष्ट तथा दर्शन गुरुङले पनि डेब्यु अवसर जुराए । पहिलो हाफमै प्रशिक्षक महर्जनले विक्रम लामाको स्थानमा एरिकलाई मैदानभित्र छिराएका थिए । यसैगरी खेलको ६८औँ मिनेटमा दर्शनले रवि पासवानलाई विस्थापित गरी अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे । गत फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिगमा दर्शन उत्कृष्ट युवा खेलाडी बनेका थिए । विकास र दर्शन एनआरटीमा आबद्ध छन् । 

दुवै हाफमा गोल
आयोजक बंगलादेशले दुवै हाफमा गोल गर्न सफल भयो । थोरै दर्शकमाझ भएको प्रतिस्पर्धाको पहिलो हाफको दशौँ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । घरेलु टोलीलाई मोहमद नाविवले १–० को अग्रता दिलाएका थिए । खेलको ८०औँ मिनेटमा महबुब रहमानले बंगलादेशलाई २–० को जित दिलाए । रहमानले विजयी गोल गर्दा नेपालका एक नम्बर गोलरक्षक किरण चेम्जोङलाई विट गर्दै गोल गरेका थिए । 

नेपाली टोलीले बंगलादेशविरुद्ध बराबरी गोल
फर्काउने निकै प्रयास गरेको थियो । तर, बंगलादेशको बलियो डिफेन्स लाइन नेपाली खेलाडीले कुनै पनि समयमा तोड्न सकेनन् । नेपालका युवा खेलाडी रवि पासवान र अन्जन विष्टले सहज गोलको अवसर पहिलो हाफमा चुकाएका थिए । दोसो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्ज प्रिन्स कार्की मैदानभित्र छिरेका थिए । दोस्रो हाफमा नेपालले गतिलो मुभ बनाउन सकेन ।