१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ कार्तिक १६ आइतबार १०:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उत्तरी नाकाबाट पहिलोपटक रासायनिक मल आयात हुँदै

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ कार्तिक १६ आइतबार १०:३६:००

उत्तरी छिमेकी चीनबाट पहिलोपटक नेपालमा रासायनिक मल आयात हुने निश्चित भएको छ । उत्तरी नाका तातोपानी र रसुवागढी भएर मल आयात गर्न व्यापारीले कृषि मन्त्रालयमा गरेको प्रयास सफल भएको हो । 

चीनबाट लामो समयदेखि लजिस्टिक आयात गरिरहेका सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले दिएको जानकारीअनुसार कृषिमन्त्री घनश्याम भुसालसँग छलफल गरेर मल आयात गर्न लागिएको हो । आयातका लागि मन्त्रालयले छिट्टै सूचना जारी गर्दै छ । 

आउँदो मंगलबार कृषि मन्त्रालयले चीनबाट आयात गर्ने गरी ५ हजार टन डिएपी मलसम्बन्धी टेन्डर आह्वान गर्दै छ । त्यसैगरी, आउँदो शुक्रबार साल्ट ट्रेडिङले ४ हजार टन युरिया मल आयातसम्बन्धी टेन्डरको सूचना प्रकाशित गर्ने भएको छ ।

‘हाललाई परीक्षणका लागि चिनियाँ रासायनिक मल तातोपानी नाका भएर आयात गरिँदै छ,’ चिनियाँ बजारमा रासायनिक मल सस्तो रहेको बताउँदै व्यापारी शेर्पाले भने, ‘तर, भाषा–संस्कृतिको फरकपना र लामो सडक भएर आउने भएकाले केही अप्ठ्यारा पक्कै छन् ।’ नेपालमा वार्षिक ५ लाख टन रासायनिक मल खपत हुन्छ । जुन दक्षिणी छिमेकी मुलुक भारतबाट आयात गरिन्छ । 

चीनसँग व्यापार गर्न त्यहाँको कम्युनिस्ट सरकारसँग घनिष्ठ सम्बन्ध हुन आवश्यक छ । नेपाल–भारतबीचको व्यापार प्राइभेट सेक्टरले मिलेर गर्ने भएकाले सहज छ । तर, चीनसँग ठूलो स्केलमा आयात–निर्यातका लागि सरकारसँगै मिलेर काम गर्नुपर्ने भएकाले केही कठिनाइ भएको शेर्पाले बताए ।

‘तर, जब चीन सरकारसँग मिलेर काम गरिन्छ, धेरै सहज र व्यापारमा फाइदा हुन्छ,’ आफ्नो अनुभव बताउँदै शेर्पाले भने । यो वर्ष ९ हजार टन रासायनिक मल नेपाल भित्र्याएपछि त्यसैका आधारमा यसको परिमाण बढाउँदै लाने उद्देश्य रहेको उनले बताए ।