दुवै देशका सीमावर्ती जनतालाई सीमारेखा देखाउँदै प्रमाणीकरण गर्नुपर्छ, यस्तो परिपाटी अपनाए कचिंगल आइपर्दैन
नेपाल–चीन सीमा हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा–६ लिमीको लाप्चा ललुङजोङ इलाकामा चीनले सीमा मिची ११ वटा भवन बनाएको छ भन्ने कुरा स्थानीय तहबाट सञ्चार माध्यममा आएपछि यसको चर्चा–परिचर्चा अहिलेसम्म चलिरहेको छ । हुम्लाका प्रजिअ नेतृत्वको टोली त्यस क्षेत्रको सीमा निरीक्षण र वार्ता गर्न गएको थियो । खास वार्ता भएन, तर चिनियाँ अधिकारीले भवन बनाएको भूमि चीनकै भएको बताएका थिए । निरीक्षणको क्रममा सीमास्तम्भ नं. ११ नभेटिएको, तर दुई दिनपछि त्यो खम्बा भेटिएको कुरा उजागर गरियो।
यसैबीच परराष्ट्रमन्त्रीले ‘हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रमा निर्माण गरिएका भवनहरू चीनकै भूभागमा पर्छ । ०७३ सालमा पनि यस्तै समाचार आएकाले संयुक्त टोलीले स्थलगत भ्रमण गरी पठाएको प्रतिवेदनअनुसार ती भवनहरू चीनले सीमाबाट आफ्नोपट्टि एक किलोमिटरभित्र निर्माण गरेको हो’ भन्ने कुरा बताए । यसैवेला चिनियाँ दूतावासका प्रवक्ताले ‘चीनले भवन बनाएको क्षेत्र आफ्नै भूभाग प्रमाणित भएको उल्लेख गर्दै नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ’ भन्ने कुरा बताए । अर्कोतर्फ, सरकारको प्रतिपक्षी दल हुम्लाका सांसद रंगमती शाहीले एपी यात्रा विशेष संवादमा नाम्खा–६ लोलुङको भूमि चीनले मिचेको ठोकुवा गरिन् । यसै सम्बन्धमा एकजना हुम्लावासीसमेतले सर्वाेच्च अदालतमा ‘चीनले ११ वटा भवन बनाएको नेपाली भूमि फिर्ता गर्न कूटनीतिक तहबाट दुई राष्ट्रबीच वार्ता गरी नापनक्सा गर्न अन्तरिम आदेश जारी गरिपाऊँ’ भनी दर्ता गराएको रिट निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरिएको छ ।
नेता जीवनबहादुर शाही नेतृत्व टोलीको अध्ययन प्रतिवेदनका आधारमा विपक्षी दलले उत्तरी छिमेकी चीनले हुम्ला सीमा क्षेत्रमा दुई किलोमिटर नेपाली भूमि मिचेको ठहर गर्दै असोज २८ मा विज्ञप्ति प्रकाशित गर्यो । हालसालै निर्मित भवनहरू चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा चीनकै भूमितर्फ चीनको अलीअन्तर्गत नयाँ गाउँमा पर्ने कुरा बुराङ काउन्टी विदेश सम्बन्ध कार्यालयका निर्देशक बाकीले बताएका छन् (ग्लोबल टाइम्स, ०७७ कात्तिक १) । यिनै सन्दर्भमा सीमास्तम्भ नं. ११ पाइएन/पाइयो, स्तम्भ नं. १२ नयाँ ठाउँमा बनाइएको छ/पुरानै स्थानमा छ, सीमा मिचियो/मिचिएको छैन, जमिन पहिले हाम्रो थियो/अहिले होइन भन्नेजस्ता चर्चा–परिचर्चाले चीनले बनाएका भवन वास्तवमा कतातिर पर्छ भनी सामान्य नागरिक मात्र होइन, प्रबुद्ध व्यक्ति पनि अभैm द्विविधामा छन् । यस सम्बन्धमा सीमा सन्धि, प्रतिवेदन, प्रोटोकल, नक्सा, कोअर्डिनेटले के भन्छ भन्ने कुरा तलका प्रकरणमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।
सीमा सन्धि : सन् १९६१ को सीमा सन्धिको हुम्ला सेक्टरका सम्बन्धमा ‘उत्तर–पूर्वतर्पm पहाडकोे धारबाट गुज्रिँदै सीमा टाकुलेतक जान्छ, त्यसपछि कुमालपचे पानबोछे र मानेपामांगोबाट गुज्री कोेंगर्जेतक पहाडी शृंखला भई जान्छ, अनि कान्डुम्बु (६५५० मिटर) को उचाइबाट गुज्री नालकंकरतक उत्तरतर्फ जान्छ । त्यहाँबाट सीमारेखा मानसरोवरमा बग्ने सहायक नदी तथा हुम्ला कर्णाली नदीका सहायक नदीहरूको पानीढलो हुँदै नालकंकर भञ्ज्याङबाट गुज्री लाप्चे भञ्ज्याङतक साधारणतः उत्तर–पूर्वतर्फ जान्छ’ भन्ने उल्लेख गरिएको छ ।
सीमा प्रतिवेदन : ‘नेपाल–चीन सीमा कमिटीको प्रतिवेदन २०२१’ मा लेखिएअनुसार त्यस समय चिनियाँ पक्षको भनाइ ‘यी इलाकाका जनताले चीनको तिब्बत क्षेत्रलाई पनि तिरो तिरिआएको हुनाले यी इलाकामाथि चीनको पनि वस्तुतः अधिकार रहेको छ’ भन्ने रहेको थियो । नेपाली पक्षको भनाइचाहिँ– ‘लिमी इलाकाका नेपाली जनताले चीनको तिब्बत क्षेत्रमा तिरो तिरिआएको छ भन्ने चिनियाँ पक्षको जुन भनाइ थियो, त्यो तिरो नभई भाडा एवं खर्चरी मात्र भएको हुनाले केवल यसबाट मात्र ती इलाकामा चीनको वस्तुतः अधिकार रहेको छ भनी मान्न सकिँदैन’ (पाना ३) । ‘लिमी विषयमा विवादग्रस्त इलाकाका रूपमा वार्ता चलाउन चिनियाँ पक्षले कुनै अवस्थामा मञ्जुर नगर्ने र सरकारको आयोगको रिपोर्टअनुसार पनि चिनियाँ पक्षकै वस्तुतः अधिकार कायम रहेको देखिएको हुनाले यी सबै तथ्य तत्कालीन प्रधानमन्त्रीसमक्ष मन्त्रिमण्डलको बैठकमा मौखिक पेस गरियो र यसबारे कुरा नचलाउने मञ्जुर गरी केवल ती ठाउँमा संयुक्त सर्भेक्षण गर्ने निर्णय गरियो’ (पाना २७) । ‘पानीढलो, भञ्ज्याङ, आदि भौगोलिक आकृतिका सिद्धान्तका आधारमा गगनचुम्बी हिमालयका शृंखला भई गुज्रेको सिमाना नै दुवै पक्षद्वारा मानिएको परम्परागत प्रचलित सीमारेखा थियो’ (पाना २४) ।
सीमा प्रोटोकल : सन् १९७९ को सीमा प्रोटोकलमा हुम्ला क्षेत्रबारे यस्तो विवरण रहेको छ– ‘सीमारेखा टाकुले सीमास्तम्भ नं. ११ (५२०२ मिटर)बाट नेपाली सरहदको कर्णाली नदीका सहायक नदीहरू, ग्या र च्याकपोलुङ खोला एकातिर र अर्कोतर्फ चिनियाँ सरहदतर्फको माब्जा नदी, रोङगर खोला अनि डालिङ खोलाका सहायक खोलाबीचको पानीढलोबाट सिमाना पहिले कुमालाप्चे पहाडको टुप्पो (५३०१ मि) बाट साधारणतया उत्तर–पूर्वतर्फ बढ्दै काङबोछे टुप्पो (५५९५), मानेपेमांगो पहाडको टुप्पो (५८३६), काङगार्जे टुप्पो (५९१४) अनि त्यहाँबाट सामान्यतया उत्तरतर्फ कान्डुम्बुको टुप्पो (६२१९ मि) पुग्दै त्यसपछि ६४२२, ६३९५, ६१४२, ६०१०, ५८१२, ५९२४, ५७५९, ५४५४ मिटरको उचाइमा पुग्छ । त्यहाँबाट सीमा सामान्यतया उत्तरतर्फ बढ्दै ललुङको टुप्पो (५३०९ मि) पुगी त्यहाँबाट दक्षिण–पूर्वतर्फ ५१६५ मिटरमा रहेको लोलुङ भञ्ज्याङ पुग्छ । त्यहाँदेखि सीमारेखा थोरै उत्तरतिर र त्यसपछि पूर्व–दक्षिण लाग्दै पन्नमु पहाड टुप्पो (५२३९) हुँदै लाप्चे भञ्ज्याङ (५२०२ मिटर) मा पुग्छ । यस भञ्ज्याङमा सीमास्तम्भ नं. १२ स्थापना गरिएको छ । यस सेक्सनको सीमारेखाको लम्बाइ ७७ किलोमिटर रहेको छ । सीमारेखा पानीढलो हुँदै डाँडोको टुप्पो छुँदै अगाडि बढेको छ ।’
कागजात, नक्सा तथा अपनाइएको पानीढलो सिद्धान्तअनुसार ५८ वर्षअघि नै सीमा समस्या समाधान भएको देखिन्छ । यद्यपि, अहिले स्थानीय तहमा सीमा मामिलाको कुरो उठेकाले दुवै देशका परराष्ट्र, गृह, रक्षा, भूमि व्यस्थापन मन्त्रालय सम्मिलित संयुक्त टोली हुम्लाको लिमी नाम्खा स्थलगत क्षेत्रमै जानुपर्छ ।
सीमानक्सा : लाइब्रेरी अफ कंग्रेस अमेरिकाबाट यस पंक्तिकारले उपलब्ध गरेको सन् १९७९ को यसैसाथ संलग्न नेपाल–चीन सीमानक्साको व्याख्या गर्दा यस्तो विवरण रहेको पाइन्छ– हुम्लाको टाकुले डाँडो (५२०२ मिटर) मासीमास्तम्भ नं. ११ रहेको छ । त्यहाँबाट सीमारेखा थोरै उत्तर–पूर्व हुँदै पानीढलो भएर कुमालाप्चे (५३०१), काङबोछे (५५९५), मानेपेमांगो (५८३६), काँगर्जे (५९१४), कान्डुम्बु (६२१९) अनि नालकंकर शृंखला हुँदै अझ उत्तरको ६३९५ मिटरको थुम्कोमा पुगेको छ । मानेपेमांगोको पश्चिमबाट चीनको भूमिमा च्वपो खोला उद्गम भएर दक्षिणतर्पm बगेको देखिन्छ । थुम्कोबाट सीमा थोरै पश्चिम लागेर फेरि उत्तर–पूर्व बढ्दै ६०६२ मिटरको उचाइमा पुग्छ । यसको पश्चिमतर्फ चिनियाँ भूमिबाट थाइयाङ खोल्सा दक्षिण–पश्चिमतर्पm बगेको छ । यसपछि सीमारेखा उत्तरतिर लाग्दै नाङकास्या पानीढलो भएर ५९१३ मि. को थुम्कोमा पुगेको छ । यसको दक्षिणतर्फ नेपाली भूमिमा ग्योखोला उद्गम भएर पूर्व बगेको छ ।
थुम्कोबाट सीमारेखा थोरै पूर्व भएर दक्षिण–पूर्वतिर लागेको छ र नेपालमा पर्ने छ्योलम क्योक ताल नजिकको ५४५४ मि. को डाँडोबाट रेखा उत्तरतर्फ बढ्दै लालुङ थुम्को (५३०९) बाट अलिकति पूर्व लागेर ५१६५ र ५१४२ मिटरको डाँडोको बीच लोलुङ भञ्ज्याङ (४९५३ मि) पुगेको देखिन्छ । यसपछि सीमारेखा सिधै उत्तरको पन्नमु डाँडो (५२४० मि) बाट लाप्चे टुप्पा (५२६२ मि) हुँदै चन्डी हिमाल शृंखलातर्फ गुज्रेको छ । मुख्यतः पन्नमु डाँडो र लाप्चे टुप्पाको करिब बीचमा रहेको लाप्चे भञ्ज्याङ (५०१८ मि) मा सीमास्तम्भ नं. १२ गाडिएको देखिन्छ । यो खम्बादेखि केही उत्तर चीनको सरहदमा लापचस्या, काचेल्ह, मानिचुङल, लुङवाङतिङजस्ता बस्ती रहेका छन् । नेपाली भूमिमा मार्जुङलय तथा ग्योखर्कजस्ता बस्ती छन् । बस्तीको दक्षिणबाट ग्योखोला र च्याकपोलुङ खोला पूर्व–दक्षिणतर्फ बगेको छ । लोलुङ भञ्ज्याङ र लाप्चे भञ्ज्याङबाट चीनको ताक्लाकोटतर्फ जाने गोरेटो/घोडेटो बाटो रहेको देखिन्छ ।
स्तम्भको कोअर्डिनेट तथ्यांक : टाकुलेमा रहेको सीमास्तम्भ नं. ११ को कोअर्डिनेट (३० डिग्री, १० मिनेट, ३० सेकेन्ड उत्तरी अक्षांश, ८१˚ २०’ ५५’’ पूर्वी देशान्तर, उचाइ समुद्र सतहबाट ५२०२ मिटर) छ । लाप्चे भञ्ज्याङ स्तम्भ १२ को ३०˚२६’ ४२.७’’ उत्तरी अक्षांश, ८१˚३७’ ३८.१’’ पूर्वी देशान्तर, उचाइ ५०१८ मिटर रहेको छ ।
निराकरणको उपाय : उल्लिखित कागजात, नक्सा तथा अपनाइएको पानीढलो सिद्धान्तअनुसार ५८ वर्षअघि नै सीमा समस्या समाधान भएको देखिन्छ । यद्यपि, अहिले स्थानीय तहमा सीमा मामिलाको कुरो उठेकाले त्यस क्षेत्रको नक्सा डकुमेन्टसमेत लिई केन्द्रबाट दुवै देशका परराष्ट्र, गृह, रक्षा, भूमि व्यस्थापन मन्त्रालय (नापी विभाग) सम्मिलित संयुक्त टोली हुम्लाको लिमी नाम्खा गाउँपालिका स्थलगत क्षेत्रमै जानुपर्छ । त्यहाँ दुवै सीमावर्ती क्षेत्रका जिल्ला प्रशासन, स्थानीय निकायका पदाधिकारी, दुवै सीमाञ्चलका स्थानीय बासिन्दा र जिल्लास्तरका राजनीतिक नेताहरू उपस्थित गराई संयुक्त तरिकाले नक्सा र जमिन भिडाउँदै जिपिएस यन्त्रले यस्तो तथ्यांक देखायो भनी व्याख्या गर्दै बताउनुपर्छ । यस क्रममा नक्सामा अंकित टाकुले थुम्को यो हो, पानीढलो शृंखला यसरी तन्किएको छ, लोलुङ भञ्ज्याङ दुई थुम्कोका बीच घाँटी परेको होचो जमिनमा परेको छ, लाप्चे भञ्ज्याङ त्यो हो, ताक्लाकोट जाने गोरेटो अलिपरको हो भनी भिडाउँदै/देखाउँदै/बुझाउँदै व्याख्या गर्नुपर्छ । यस्तो व्याख्यापछि स्थानीयलाई प्रश्न गर्नुपर्छ– लौ भन्नुहोस्, चीनले बनाएको एघार भवन पानीढलो उत्तर देख्नुभयो कि दक्षिण या पश्चिम ! अनि त स्थानीयले नै समस्या समाधान गर्नेछन्– चीनले बनाएका भवनहरू नेपालतिर परे कि चीनतर्फ !
सीमारेखा अंकन गर्ने समय, चाहे त्यो नेपाल–चीन होस् या नेपाल–भारत, दुवैतर्पmका स्थानीय निकाय र सीमावर्ती बासिन्दालाई जानकारी नगराउनु नै दुर्भाग्यपूर्ण कुरो हो । सीमाको रक्षा गर्ने पहिलो पंक्तिमा रहेका स्थानीय जनता नै हुन् । प्राथमिक सूचना तथा जानकारी उनीहरूबाटै प्राप्त हुन्छ । तर, उनीहरूको गाउँ/नगरपालिकाको सीमाबारे उनीहरूलाई जानकारी गराइँदैन । यही छ विडम्बना ! त्यसैले अब हुम्ला क्षेत्रको समेत दुवै देशका सीमावर्ती जनतालाई ‘अन द स्पट’ सीमारेखा देखाउँदै/बुझाउँदै प्रमाणीकरण गर्नुपर्छ । यस्तो परिपाटी अपनाइए भविष्यमा सीमावर्ती क्षेत्रमा कचिंगल आइपर्दैन ।