१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सञ्चारगृहमा प्रवेश गरी कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार धर्नामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:oo:oo

सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलनमा उत्रिएका छन् । पत्रकारले जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार बिहान एक घन्टा धर्ना दिएका छन् । 

समाचारको विषयलाई लिएर गत २६ भदौमा धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो । सञ्चारमाध्यममा आक्रमण गर्ने समूहको पहिचान भइसक्दासमेत प्रहरीले पक्राउ नगरेको विरोधमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकार आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि पत्रकारले आइतबार धनगढीमा र्‍याली निकाल्नुका साथै जिल्ला प्रशासनअगाडि कोणसभा गरेका थिए । २६ भदौमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा धनगढी उपमहानगरपालिका- ५ का १९ वर्षीय एक युवक मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले दिएको जानकारीका आधारमा सञ्चारगृहअन्तर्गत दिनेश खबरले प्रहरी हिरासतमा युवकले आत्महत्या गरेको समाचार प्रकाशन गरेको थियो ।

युवकको प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै एक समूहले आत्महत्या गरेको किन लेखेको भनेर समाचार कक्षमै दिनेश सञ्चारगृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्नुका साथै व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि हातपात र दुर्व्यवहार गरेको थियो । जिल्ला प्रहरी कार्यालयले युवकले शौचालयमा झुन्डिएर आत्महत्या गरेको जानकारी सञ्चारमाध्यमलाई गराएको थियो ।

पत्रकारमाथि आक्रमण गर्नेको पहिचान भइसक्दा पनि प्रहरीले पक्राउ नगरेकोले दबाबका लागि आन्दोलनमा उत्रनुपरेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले बताए । ‘समाचारलाई लिएर सञ्चारमाध्यममाथि आक्रमण गरिनु अत्यन्त गम्भीर घटना हो, तर स्थानीय प्रशासनले यसलाई सामान्य रूपमा लिएको छ,’ अध्यक्ष साउदले भने, ‘आक्रमण गर्नेको पहिचान भइसके पनि प्रहरीले पक्राउ गर्न चाहेको छैन ।’

आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गर्दै महासंघले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । सञ्चारमाध्यममाथि भएको आक्रमणलाई प्रदेश सरकारले गम्भीर रूपमा लिएको उनले बताए ।
 

ad
ad