मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २१ आइतबार
  • Thursday, 19 December, 2024
कृष्ण रिजाल काठमाडौं
२o७७ भदौ २१ आइतबार o९:oo:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुलुकमा २ लाख ३९ हजार कम्पनी दर्ता : ३० हजार खर्ब अधिकृत पुँजी, २५ सय ३४ खर्ब जारी पूँजी र २० खर्ब चुक्ता पूँजी 

अर्थतन्त्रको आकारभन्दा करिब ८ सय गुणा बढी पुँजी लगानी प्रतिबद्धता गरेका कम्पनी मुलुकमा 

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ २१ आइतबार o९:oo:oo

नेपालमा हालसम्म ३० हजार ५३ खर्ब अधिकृत पुँजी भएका कम्पनी गर्दा भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार मुलुकमा २ लाख ३८ हजार ९ सय २० कम्पनी दर्ता छन् । तिनको अधिकृत पुँजी मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ८ सय गुणा बढी छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब छ । कम्पनीको अधिकृत पुँजी भनेको उसले अधिकतम लगानी गर्ने भनेर प्रतिबद्धता गरेको पुँजी हो । 

कम्पनीले किन राख्छन् पुँजी धेरै ?

कम्पनी दर्ता हुँदा नै अधिकृत र जारी पुँजी धेरै राख्छन्, तर चुक्ता पुँजी भने थोरै हाल्छन् । यस्तो किन हुन्छ भनेर कार्यालयले समेत अध्ययन तथा विश्लेषण गरिरहेको कम्पनी रजिस्ट्रार प्रदीपराज अधिकारीले बताए । ‘अधिकृत पुँजी त एउटा सीमा हो, त्यहाँसम्म पुँजी बढ्न सक्छ भन्ने अनुमान हो, तर सेयर लगानीकर्ताले जारी पुँजीअनुसार समेत चुक्ता पुँजी नहाल्नुचाहिँ विचारणीय हो,’ उनले भने, ‘या त व्यवसाय बढेन र लगानी थप्न परेन, या चुक्ता पुँजी नै पर्याप्त भयो, त्यसैले थप्न परेन अथवा लगानीकर्ता जारी पुँजी बढी राखेर त्यसको कुनै न कुनै उपयोग गरिरहेका छन् ।’ 

तर, वरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार दाहाल भने विश्वमै चुक्ता पुँजीको तुलनामा जारी पुँजी र जारी पुँजीको तुलनामा अधिकृत पुँजी धेरै हुने बताउँछन् । पुँजी–पुँजीबीच भन्दा पनि पुँजीलाई कारोबारसँग तुलना गरेर हेर्नुपर्ने उनी बताउँछन् । ‘जारी पुँजीअनुसार चुक्ता पुँजी हालियो कि हालिएन भन्दा पनि कम्पनीले पुँजीअनुसार कारोबार गर्‍यो कि गरेन भनेर हेर्नुपर्छ,’ उनले भने, ‘थोरै पुँजी भएको कम्पनीले धेरै कारोबार गर्छ वा धेरै पुँजी भएको कम्पनीले थोरै कारोबार गर्छ भने त्यहाँ किन ओभर क्यापिटलाइजेसन भयो वा अन्डर क्यापिटलाइजेसन भयो भनेर हेर्नुपर्छ ।’

जारी पुँजीअनुसार पुँजी संकलन गर्न असफल हुँदा वा कबोल गरेअनुसार सेयरधनीले पुँजी नहाल्दा चुक्ता पुँजी कम हुन सक्ने उनको भनाइ छ । थोरै चुक्ता पुँजी भएका कम्पनीले कारोबार धेरै गर्छन् भने त्यस्ता कम्पनीलाई शंकाको दायरामा राख्न सकिने उनको भनाइ छ ।

खासगरी कम्पनी खोलेपछि बन्द गर्ने प्रक्रिया अत्यन्तै झन्झटिलो र खर्चिलो भएका कारण कम्पनीको संख्या र पुँजी धेरै देखिएको हो । धेरै खर्च लाग्ने तथा समय पनि धेरै लाग्ने भएकाले निष्क्रिय कम्पनीको संख्या बढे पनि व्यवसायीहरू खारेजीको झन्झट व्यहोर्न चाहँदैनन् । दर्ता भएका कम्पनीमध्ये अधिकतम ५० हजार कम्पनी मात्र सञ्चालन रहेको उनको अनुमान नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको छ । 

कुनै कम्पनीले २५ लाख पुँजी लगानी गरेको छ र ७५ लाख ऋण लिएको छ भने उसको अधिकृत पुँजी १ करोड देखाइदिने गरेकाले यस्तो भएको मुरारकाको भनाइ छ । कम्पनीको दायित्वअन्तर्गत पर्ने कर्जालाई पनि पुँजीमा गणना गर्नुपर्ने यस्तो अधिकृत पुँजीको व्यवस्था नै हटाइदिनुपर्ने उनको सुझाब छ । ‘राजस्व असुल गर्ने नियतले अधिकृत पुँजी धेरै राख्न लगाउने व्यवस्था गरेका कारण चुक्ता पुँजीको तुलनामा जारी र अधिकृत पुँजी बढी राख्न बाध्य हुनुपरेको हो,’ मुरारकाले बताए ।

जारी पुँजीको तुलनामा चुक्ता पुँजी कम हुनुमा भने कम्पनीको वृत्ति र कारोबारको आकारअनुसार फरक हुने गरेको उनको भनाइ छ । कम्पनीको सञ्चालन र व्यवस्थापनमा थप लगानी आवश्यक नपरेको अवस्थामा प्रतिबद्धता गरेअनुसारको जारी पुँजी नपुर्‍याएको हुन सक्ने उनले बताए । अन्य क्षेत्रभन्दा हाइड्रोमा जति चुक्ता पुँजी छ, त्योभन्दा धेरै गुणा बढी अधिकृत पुँजी रहेको र यो विषयमा अनुसन्धान गर्नु जरुरी रहेको उनको भनाइ छ ।

नेपालमा अहिलेसम्म दर्ता भएका कम्पनीको जारी पुँजी २५ सय ३४ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । जारी र अधिकृत पुँजी अर्थतन्त्रको आकारभन्दा कैयौँ गुणा ठूलो देखिए पनि चुक्ता पुँजी भने तुलनात्मक रूपमा निकै थोरै देखिएको छ । कार्यालयका अनुसार दर्ता भएका सबै कम्पनीको कुल चुक्ता पुँजी २० खर्ब ३२ अर्ब रुपैयाँ छ । 

अधिकृत पुँजी भनेको कम्पनीले पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा हो । त्यस्तै, जारी पुँजी भनेको कम्पनीमा सेयरधनीले लगानी गर्न प्रतिबद्धता गरेको जम्मा पुँजी हो । कम्पनीको चुक्ता पुँजी भनेको सेयरधनीले चुक्ता गरिसकेको वा जम्मा गरिसकेको पुँजी हो । कम्पनी अत्यधिक भए पनि करिब १ लाख कम्पनीले समयमै विवरण नबुझाउने गरेको बाँकी मात्रै अद्यावधिक रहेको कार्यालयका रजिस्ट्रार प्रदीपराज अधिकारीले बताए । 

पछिल्ला वर्षहरूमा कम्पनी दर्ता हुनेक्रम भने घटेको देखिन्छ । आर्थिक वर्ष ०७६-७७ मा कुल १८ हजार ६ सय २८ वटा कम्पनी दर्ता भएका छन् । यो अघिल्लो आव ०७५-७६ को तुलनामा २६.९ प्रतिशतले घटी हो । आव ०७५-७६ मा २५ हजार ४ सय ९२ वटा कम्पनी दर्ता भएका थिए । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमहरूका कारण कम्पनी दर्ता घटेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । आव ०७४-७५ मा २२ हजार २ सय ५० वटा कम्पनी दर्ता भएका थिए । 

नेपालमा कम्पनी ऐन १९९३ आएदेखि औपचारिक रूपमा कम्पनी दर्ता हुन सुरु भएको देखिन्छ । त्यसपछि कम्पनी ऐन २०२१, कम्पनी ऐन २०५३, कम्पनी अध्यादेश २०६२ हुँदै कम्पनी ऐन २०६३ ले नियमन तथा सहजीकरण गर्दै आएको छ । कानुनअनुसार कम्पनीले हरेक वर्ष तोकिएका विवरणहरू कार्यालयमा पेस गर्नुपर्ने हुन्छ । 

कुन कम्पनी कति ?

अहिले कम्पनी रजिस्ट्रारको कार्यालयले स्वचालित रूपमा तथ्यांक अद्यावधिक (अपडेट) हुने व्यवस्था गरेको छ । हरेक दिन कम्पनीको दर्ता, खारेजी, पुँजी वृद्धिलगायत तथ्यांक अद्यावधिक हुने रजिस्ट्रार अधिकारीले बताए । दर्ता भएका कुल कम्पनीमध्ये २ लाख ३३ हजार २ सय १४ वटा प्रालि र १ हजार ६ सय ८ वटा पब्लिक कम्पनी रहेका छन् ।

त्यस्तै, नाफा वितरण नगर्ने कम्पनी २ हजार ९ सय ४७ वटा र विदेशी कम्पनी ३ सय २० वटा रहेको  तथ्यांक छ । प्रालि कम्पनीका कुल सेयर सदस्य संख्या ६ लाख ३६ हजार ७ सय ८१ जना रहेका छन् । त्यस्तै, नाफा वितरण नगर्ने कम्पनीका सेयर सदस्य भने १९ हजार ४ सय ९४ जना रहेका छन् । 

सबैभन्दा बढी कम्पनी काठमाडौंमा

दर्ता भएकामध्ये सबैभन्दा धेरै कम्पनी काठमाडौंकै रहेको रजिस्ट्रार अधिकारीले जानकारी दिए । ‘देशभर दर्ता भएका भन्दा काठमाडौं ठेगाना बनाएर दर्ता गरेका कम्पनी धेरै छन्, त्यसैले प्रादेशिक हिसाबले पनि बागमती प्रदेशमा धेरै कम्पनी देखिन्छन्,’ उनले भने, ‘त्यसपछि मुख्य सहरहरू वीरगन्ज, भैरहवा, पोखरा, विराटनगरलगायत ठेगाना भएका कम्पनी धेरै देखिन्छन् ।’

प्रदेशअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात् १ लाख ७१ हजार ४ सय कम्पनी दर्ता भएको देखिएको छ । त्यस्तै, सबैभन्दा कम कम्पनी भने कर्णाली प्रदेशमा ४ हजार ४ सयवटा दर्ता भएको कार्यालयको तथ्यांक छ ।