१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १८ बिहीबार
  • Wednesday, 03 July, 2024
पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको दोलखाको विगु गुम्बा ।
२o७७ भदौ १८ बिहीबार २१:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार

भारतको एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बा पुनर्निर्माण भएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १८ बिहीबार २१:o९:oo

०७२ को भूकम्पले क्षतिग्रस्त भएका दोलखाका ४६ वटा गुम्बा पुनर्निर्माण गर्ने जिम्मा पाएको भारतीय एक्जिम बैंकले बजेट उपलब्ध नगराएपछि गुम्बा पुनर्निर्माण अनिश्चित बनेको छ । दोलखाका ८६ मध्ये ४६ वटा गुम्बा पुनर्निर्माणमा सहमति जनाए पनि बजेट नछुट्याएपछि गुम्बा पुनर्निर्माण कसले गर्ने भन्ने अन्योल पनि बढेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको दोलखास्थित अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले एक्जिम बैंकले बजेट नपठाएपछि गुम्बा पुनर्निर्माण अघि बढ्न नसकेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख अश्विन पोखरेलले जिल्लाभरका ८६ गुम्बामध्ये एक्जिम बैंकले पुनर्निर्माण गर्ने भनेकाबाहेक प्राधिकरणले काम थालिसकेको छ । प्राधिकरणले पुनर्निर्माण थालेको १० गुम्बामध्ये आठवटा सम्पन्न भइसकेका छन् । दुईवटा भने निर्माणाधीन छन् । उनका अनुसार केही गुम्बा पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ । पुरातत्वले भिक्षु उत्पादन गर्ने नेपालकै पहिलो विगु गुम्बा र विशेष महत्वको चरिघ्याङ गुम्बाको निर्माण व्यवसायीमार्फत गरिरहेको छ । पुरातत्वले एक सय वर्षभन्दा पुरानो र दुई हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका गुम्बाको मात्र पुनर्निर्माण गर्छ । 

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले एक्जिम बैंकको सहयोगमा दोलखाका ४६ वटा गुम्बा पुनर्निर्माण गर्न १९ करोड ८५ लाख ४५ हजार बजेट दिने विवरण पठाएको थियो । बजेट प्राप्त नभएपछि प्राधिकरणले स्रोतान्तर गरी बजेट व्यवस्था गर्ने विषयमा पटकपटक अनुरोध गरिए पनि ती गुम्बा पुनर्निर्माणबारे निष्कर्ष निस्किएको छैन । एक्जिम बैंक र पुरातत्व विभागबाहेक प्राधिकरण आफैँले पुनर्निर्माण गर्ने भनिएका झन्डै डेढ दर्जन गुम्बाको पनि काम सुरु हुन सकेको छैन । 

कटेरोमा मूर्ति राखेर पूजाआजा 
भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि गुम्बा पुनर्निर्माण हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । बिगुमा रहेको मगर गुम्बा भवन अभाव भएपछि कटेरोमा मूर्ति राखेर पूजा गरिरहेको स्थानीय निमटासी शेर्पा बताउँछन् । पुनर्निर्माण हुन नसकेका गुम्बाहरूमा नियमित पूजाआजा गर्नसमेत गाह्रो भएको बौद्धधर्मालम्बीको दुखेसो छ । बिगुका निमटासी शेर्पाले अव्यवस्थित कटेरोमा मूर्ति राखेर नियमित पूजा गरिरहेको भए पनि थुप्रै चुनौती रहेको बताए । उनका अनुसार गुम्बामा हुने महत्वपूर्ण मूर्तिहरू विशेष महत्वका साथै बहुमूल्य हुने र त्यसको संरक्षणमा पनि समस्या भएको छ । 

एक वर्षमा ६ गुम्बाको पुनर्निर्माण गर्ने 
पुनर्निर्माण प्राधिकरणको दोलखास्थित अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयका निमित्त प्रमुख अश्विन पोखरेलले चालू आर्थिक वर्ष ६ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको बताए । उनका अनुसार प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ६ वटा गुम्बा पुनर्निर्माणका लागि दुई करोड ८२ लाख बजेट पठाएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण हुने ती गुम्बा पुनर्निर्माणका लागि कम्तीमा २० देखि ५० प्रतिशतसम्म लागत सहभागिता जनाउनुपर्ने प्रावधान रहेको निमित्त प्रमुख पोखरेलले बताए । पुनर्निर्माण हुने ती गुम्बामा डिम्बर ओर्गेन गुम्बा बिगु–१, लप्चे गुम्बा भीमेश्वर नगरपालिका– ८, ङग्युर पाङलेमा मनि गुम्बा जिरी–१, फटुक गुम्बा बिगु–४, फुचे छ्योलिङ गुम्बा भीमेश्वर गरपालिका–१ र जितगंगा छ्योर्तेङ गुम्बा शैलुङ– १ रहेको प्राधिकरणले जनाएको छ । 

 

ad
ad
ad
ad