१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण २२ बिहीबार १२:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मास्क नलगाउने सन्दर्भमा महिलाभन्दा पुरुष अटेरी

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण २२ बिहीबार १२:२१:००

कर्णाली प्रदेशमा मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी रहेको एक तथ्यांकले देखाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको एक तथ्यांकमा मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी भएको देखाएको छ । 

२२ असारमा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिवाना गर्न निर्देशन दिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले गरेको कारबाहीमा मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी देखिएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता राजेशनाथ बाँस्तोलाका अनुसार मास्क नलगाई हिँड्ने सात हजार ६० जनामध्ये महिलाभन्दा पुरुषको संख्या बढी रहेको जानकारी दिए । 

मास्क नलगाउनेमा पाँच हजार तीन सय ७७ जना पुरुष रहेको र एक हजार ६ सय ८३ महिला रहेको प्रवक्ता बाँस्तोलाले बताए । 

‘महिलाहरू बढी संवेदनशील हुने भएका कारणले पनि हुन सक्छ मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी देखिए,’ उनले भने, ‘यस विषयमा पुरुषमा अटेरीपना भएको यो तथ्यांकले देखाएको छ ।’

एक लाख ८३ हजार राजस्व संकलन
कर्णाली प्रदेशमा मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा करिब एक लाख ८३ हजार ६ सय राजस्व संकलन भएको छ । 

कर्णालीका केही जिल्ला प्रशासन कार्यालयले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्न निर्देशन दिएका थिए । 

कर्णाली प्रदेशका सुर्खेत, रुकुम पश्चिम, सल्यान, कालिकोट र जाजरकोट जिल्लामा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न जिल्ला प्रशासन कार्यालय प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गर्न निर्देशन दिएअनुसार नै कारबाही गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

२२ असारदेखि एक महिनाको अवधिमा एक हजार तीन सय ३६ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति एक सयका दरले एक लाख ६३ हजार ६ सय राजस्व संकलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता बाँस्तोलाले बताए । 

मास्क नलगाई हिँड्ने सात हजार ६० जना भेटिएमध्ये तीमध्ये चार हजार नौ सय ८२ जनालाई सम्झाइबुझाई छाडिएको, दुई सय ४२ जनालाई मास्क वितरण गरिएको र एक हजार तीन सय ३६ जनालाई जरिवाना तिराएर छाडिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बाँस्तोलाले जानकारी दिए ।