१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर १२ मंगलबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२२ वर्षपछि खेतमा धान फलेपछि मन्त्रीलाई न्वागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १२:५४:oo

प्युठान सरुमारानी गाउँपालिकाको बिरेबगर कुलो २२ वर्षअघि गनाहा खोलाले बगायो। त्यसपछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन। २२ वर्षसम्म बाँझो रहेको खेतमा लुम्बिनी प्रदेश सरकारले कुलो निर्माण गरेपछि धान उत्पादन सुरु भएको छ।

यो वर्षदेखि धान उत्पादन सुरु भएपछि किसान खुसी भएका छन्। ‘२२ वर्षदेखि हामीले धान उत्पादन गर्न पाएका थिएनौँ,’ स्थानीय चिन्त लोहारले भने, ‘अहिले कुलो निर्माण भएपछि पहिलो धान उत्पादन गरेका छौँ।’  

लुम्बिनी प्रदेश सरकारको ४५ लाख लगानीमा त्यहाँ सिँचाइ कुलो निर्माण भएको हो। सिँचाइ कुलो बनेपछि किसानले उत्पादन गरेको पहिलो धानको न्वागी लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई खुवाएका छन्। ‘हामीले पहिलोपटक धान उत्पादन भएपछि मन्त्रीलाई नै न्वागी खुवाएका छौँ,’ स्थानीय सन्तोषकुमार विकले भने, ‘हामीले उत्पादन थालेपछि कृषिमा आत्मनिर्भर हुने प्रयास गर्दै छौँ।’

यस क्षेत्रमा करिब डेढ सय घरधुरी सोही कुलोमा निर्भर थिए। बिरेबगर, उपल्लो बुढीगरा खेत, गनाहा तल्लो फाँटका स्थानीयहरू सो कुलोबाट लाभान्वित भएका स्थानीय नेत्र खनालले बताए। सिँचाइ भएपछि यस वर्ष यहाँका प्रत्येक किसानले ५० मुरीजति धान उत्पादन गरेका छन्। अहिले हिउँदे खेती पनि गरिरहेका छन्। 

यस वर्ष पनि सोही कुलोलाई १० लाख रुपैयाँ बजेट परेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। ‘किसानलाई प्रोत्साहन गर्ने नै हाम्रो नीति हो,’ उनले भने, ‘सोहीअनुसार प्रदेश सरकारले कुलो निर्माण गरेपछि यहाँका जनताले सहज रुपमा रोपाइँ गर्नुभयो र धान उत्पादन गर्नुभयो।’