१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण १८ आइतबार २१:३४:००
Read Time : > 1 मिनेट
प्रदेश

कोरोना संक्रमित बढ्दो, तर आइसोलेसन केन्द्रमा बस्ने न्यून

Read Time : > 1 मिनेट
२०७७ श्रावण १८ आइतबार २१:३४:००

बागमती प्रदेशमा कोरोना संक्रमित निरन्तर बढिरहेका छन् । बागमतीमा कोरोना संक्रमतिको संख्या एक हजार एक सय ४८ जना पुगिसकेको छ । आइतबार मात्रै पनि ३३ जना संक्रमित थपिएका छन् । तर, आइसोलेसन केन्द्रमा बस्नेहरूको संख्या भने न्यून छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यस प्रदेशमा हाल जम्मा चार सय चारजना मात्रै आइसोलेसन केन्द्रमा छन् । एक हजार तीन सय २४ बेड तयारी अवस्थामा राखिए पनि संक्रमितको अनुपातमा आइसोलेसनमा बस्नेको संख्या न्यून रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले बताए ।

बागमती प्रदेशमा ६ सय चारजना संक्रमित उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार दुई सयजना आइसोलेसनबाहिरै छन् । यसैगरी ११ हजार दुई सय २१ क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिए पनि हाल नौ सय ७५ जना मात्रै बसिरहेका छन् । होमक्वारेन्टाइनमा बस्नेको संख्या एक हजार ६ सय १९ जना रहेको मन्त्रालयले जनाएको छ ।

रसुवा र दोलखामा आइसोलेसनमा बस्नेको संख्या शून्य
सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा र दोलखामा आइसोलेसनमा बस्नेको संख्या शून्य छ । रसुवा र दोलखामा कोरोना संक्रमित नै नभएका कारण यी जिल्लाका आइसोलेसनमा बस्ने शून्य भएको मन्त्रालयले जनाएको छ । जिल्लागत तथ्यांकअनुसार काठमाडौंमा एक सय ४७, ललितपुरमा एक सय ७४, भक्तपुरमा दुई, नुवाकोटमा आठ, धादिङमा सात, चितवनमा ४७, सिन्धुलीमा दुई, मकवानपुरमा पाँच, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकमा चार–चारजना आइसोलेसनमा बसिरहेका छन् । 

काठमाडौंमा सबैभन्दा बढी संक्रमित
प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी संक्रमित छन् । पछिल्लो समय काठमाडौंमा दिनानुदिन संक्रमितको संख्या बढ्दो रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । काठमाडौंमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दो रहेको मन्त्रालयको भनाइ छ । जिल्लागत विवरणअनुसार हाल काठमाडौंमा चार सय ५१, ललितपुरमा एक सय चार, भक्तपुरमा ५८, रसुवामा ११, नुवाकोटमा ४२, धादिङमा एक सय ४१, चितवनमा एक सय २४, सिन्धुलीमा २५, मकवानपुरमा ४७, रामेछापमा ३८, दोलखामा ११, काभ्रेमा २३ र सिन्धुपाल्चोकमा ७३ जना कोरोना संक्रमित छन् ।