
प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटसँगै, ब्याडमिन्टन, कराँते, एथलेटिक्स, पौडी, तेक्वान्दो र बक्सिङका खेलहरू सकिएका छन् । टिम गेमअन्तर्गत फुटबल, भलिबल र पुरुष क्रिकेटको छिनोफानो हुन बाँकी रहेको छ । बिहीबारसम्मको खेल सकिँदा ६० स्वर्ण ४२ रजत, ३६ कांस्यसहित कुल एक सय ३८ पदक जितेर बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सुदूरपश्चिम प्रदेश २१ स्वर्ण, २० रजत, २८ कांस्यसहित ६९ पदक तिजेर दोस्रो स्थानमा छ । कोशी प्रदेश १४ स्वर्ण, २२ रजत, ३६ कांस्य गरी कुल ७२ पदकसहित तेस्रो र लुम्बिनीले ११ स्वर्ण, १६ रजत, २८ कांस्य जितेर चौथो स्थानमा छन् । गण्डकी पाँचौँ, कर्णाली छैटौँ र मधेश अन्तिम स्थानमा छन् ।
यसैगरी, बक्सिङ बागमती प्रदेश पदकमा सबैभन्दा अगाडि छ । बागमती प्रदेशले ९ स्वर्ण, ६ रजत, ६ कांस्यसहित २१ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले ५ स्वर्ण, ३ रजत, ६ कांस्यसहित १४ पदक प्राप्त गरेको छ । त्यस्तै, महिला फुटबल हावाहुरीका कारण अवरुद्ध हुँदा पुरुष फुटबलमा उपाधिका लागि कोशी र बागमती भिड्ने भएका छन् । भरतपुरको शारदानगर खेल मैदानमा हावाहुरीका कारण महिला फुटबलको अन्तिम सेमिफाइनल अवरुद्ध भएको हो ।