१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण १ बिहीबार १२:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आऊ समाऊ आर्तहरूका चराइरहेका हात : अंग्रेजी बोल्दै सडकमा भौँतारिने ‘भण्डारी बाजे’को फेरियो रूप (तस्बिरसहित)

Read Time : > 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १२:५३:००

उनी थोत्रा, झुत्रा मैला लुगा लगाएर एउटा कुम्लो काँधमा बोकेर दश वर्षदेखि विराटनगरका सडकमा फतफताउँदै हिँड्थे । 

अंग्रेजी पत्रिका मागेरै भए पनि आफ्नो साथमा राख्थे र फर्रर पढ्थे । कसैले दियो भने खान्थे नत्र आफ्नै पारामा दिनरात बिताउँथे । 

कसैदेखि डराउँदैनथे, तर कसैलाई हानि पनि पुऱ्याउँदैन थे । कसैकसैले भने उनको अंग्रेजी सुन्न जिस्क्याउँदै उनलाई रिस उठाएर दुःख दिने गरेका थिए । 

यसरी दुःख दिनेहरू उनलाई भन्थे, ‘भण्डारी यू आर मेन्टल डन्टकम हियर ।’ 

झन्डै ६ फिट अग्ला छुस्स दाह्री भएका तिखो स्वरले अंग्रेजीमा बर्बराउँदै हिँड्ने मैलो ल्याङफ्यागे ‘भण्डारी बाजे’ आजभाेलि विराटनगरका सडकमा भेटिँदैनन् । 

सधैँ बिहान अंग्रेजी पत्रिका माग्न पुग्ने पुस्तक पसलेहरू पनि भण्डारी बाजे नदेखेकोमा चिन्तित बनेका छन् । उनीहरूको चिन्ता छ,  ‘कतै भण्डारी बाजे कोरोनाले परलोक त गएनन् ?’

त्यसो होइन, भण्डारी बाजे परलोक गएका छैनन् ।  बरु उनी त आजकल चिटिक्क परेर विराटनगर– १० तिनटोलियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका छन्  । 

त्यसैले आजभाेलि उनी विराटनगर महानगरको कञ्चनबारीदेखि महेन्द्रचौकसम्मको सडकमा भौँतारिरहेको अवस्थामा नभेटिएका हुन् । 

‘गिभ मी न्यु डेली पेपर’ भन्दै अंग्रेजी पत्रिका माग्न पुस्तक पसलमा पुग्न छाडेका हुन् । 

आजभाेलि उनी धैलोमैलो र झुत्रेमुत्रै छैनन् । बरु  आजभाेलि त उनी सधैँ नुहाउँछन् ।  लुगा फेर्छन् । र , दाह्रीजुँघा सफा गर्न लगाएर चिटिक्क पर्छन् ।

आश्रमभित्रै आएका पत्रिका पढ्छन् र टिभीमा अंग्रेजी समाचार हेर्छन् । त्यति मात्र हाेइन, आश्रमको समय–तालिकाअनुसार समयमा चिया, खाजा, खाना र औषधि खान्छन् ।

झन्डै ६० वर्षे उमेरका भण्डारी बाजे आजभाेलि सडकमा जस्तो फतफताउँदैन, बरु आश्रममा आफूजस्तै बिरामी साथीहरूसँग भलाकुसारी गरेर मुस्कुराउन थालेका छन् । 

बरु मन छटपटायो भने मनमनै बर्बराउँदै अझै आश्रमभित्रै ओहोरदोहोर गर्ने गर्छन् । 

पढेलेखेका शिक्षितजस्तो लाग्ने फर्रर अंग्रेजी बोल्न सक्ने, तर कडाखाले मानसिक रोगी भण्डारी बाजे कहाँबाट विराटनगर आइपुगे अहिलेसम्म खुलिसकेको छैन । 

उनको वास्तविक नाम र आफन्तको ठेगाना त्यो पनि पत्तो लागिसकेको छैन । 

मान्छेहरूले किन उनलाई भण्डारी बाजे भनेर बोलाउन थाले त्यो पनि कसैलाई पत्तो छैन ।  किनभने अझै भण्डारी बाजेलाई आफ्नोबारे केही याद छैन । 

मानव सेवा आश्रमका अभियन्ता नवराज केसी चाँडै उनलाई आफ्नो वास्तविकता याद आउने विश्वास गर्छन् । 

भन्छन्, ‘आफन्त र ठेगाना पत्ता लागेपछि आश्रमले समन्वय गरेर समाजमा पुनर्स्थापना गराउनेछौँ, कसैले नलागेमा जीवनभर आश्रमकै संरक्षणमा हामी बाजेलाई राख्नेछौँ ।’      

सडकमानवमुक्त बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको विराटनगर शाखाले  प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरूको सहकार्यमा सडकमा भौँतारिने कडाखाले मनोरोगीहरूको धमाधम उद्धार गरिरहेको छ । 

सोही अभियानकै क्रममा विराटनगरबाट मनोरोगी भण्डारी बाजेलाई पनि उद्धार गरिएको हो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरे, आश्रमका अध्यक्ष रामजी अधिकारी आफैँ गएर प्रहरीको सहयोगमा भण्डारी बाजेको सडकबाट उद्धार गरेका थिए । सम्झाएर ल्याउन नमानेपछि प्रहरीको सहयोग लिनुपरेको थियो ।