१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत रामबहादुर थारू शुक्रबारदेखि सुरु भएको एसइई परीक्षाअन्तर्गत कुमारवर्ती मावि मध्यविन्दु–२ कोे परीक्षा केन्द्रमा सहभागी हुँदै । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३१ सोमबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसइईको पहिलो परीक्षा अंग्रेजीको, धनुषाको औरहीमा पठाइयो नेपालीको प्रश्नपत्र 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:o६:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो । तर, धनुषाको औरही गाउँपालिकामा रहेको चक्कर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भने अनिवार्य नेपाली विषयको प्रश्नपत्र पुग्यो । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनुपर्नेमा फरक प्रश्नपत्र पुग्दा चक्कर मावि परीक्षा केन्द्रमा ५० मिनेट ढिलो मात्र परीक्षा सुरु भएको थियो । 

मधेस प्रदेशका शिक्षा विकास निर्देशक चूडामणि फुँयालका अनुसार राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको प्रश्नपत्रको बन्डलमाथि कपडामा अंग्रेजी विषय लेखिए पनि त्यसभित्रका थैलीमा नेपाली विषयको प्रश्नपत्र भेटिएको हो । नेपाली विषयको प्रश्नपत्र कुनै पनि परीक्षार्थीको हातमा नपुग्दै थाहा भएपछि अंग्रेजीको प्रश्नपत्र झिकाएर परीक्षा सञ्चालन गरिएको उनले बताए । जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय धनुषाबाट अंग्रेजी विषयको प्रश्नपत्र ल्याएर परीक्षा सुरु गरिएको थियो । 

यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीले सहभागिताका लागि आवेदन भरेका थिए । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी भएका छन् । जापानमा समेत परीक्षा राम्रोसँग सञ्चालन भएको बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुकुमार श्रेष्ठले बताए ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी छन् । देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । 

सबैभन्दा कम कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष परिचालन गरिएको छ । 

ad
ad