
चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ। निर्माण पक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो । निर्माण पक्षले उक्त इन्डक्ल्याप पार्टीमा चलचित्रको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ ।
यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माण पक्षले जानकारी दिएको छ । ‘सिनेमा अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट प्रोडक्सनमा पनि हामी मिहिनेत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।’ सिनेमालाई हिमाल न्यौपानेको निर्देशन गरेका छन्। निर्देशक न्यौपानेको यो डेब्यु निर्देशन हो ।
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ। चलचित्रले आमा र छोराबिचको भावनात्मक कथा भन्नेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन्।
बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना मगर, गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रूपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले भने, ‘केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो । अझै धेरै ‘भयंकर मान्छे’सँग काम गर्ने मौका मिल्यो । म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ । यो सिनेमामा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ। यसले दर्शकको मन छोला भन्ने विश्वास छ ।’
यस्तै, असोसियट निर्देशक राउतले जीवनको भोगाइमा र सम्बन्धको कथा, सिनेमाका ती पात्रहरूले गरेको संवाद र संघर्षहरू जुन जनैको डोरी झैँ बुन्ने प्रयास गरिएको बताए।पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सहनिर्मातामा आरके मानन्धर, रूपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् ।चलचित्रमा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहने छ। नवीन गुरुङ डिओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी रहेको छ। यो चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि अझै मिति तय भइसकेको छैन ।