लकडाउनबीच बन्दै छ नाटकघर
पूर्वी पहाड र तराईको संगम धरानमा रंगमञ्चको इतिहास झन्डै आठ दशक पुरानो छ । जानकारहरूका अनुसार वि.सं. १९९७ देखि नै यहाँ नाटक मञ्चन हुन थालेको हो । यहाँ नाटकको आधुनिक शैली भने ३८ वर्षअगाडि भित्रिएको हो ।
रंगकर्मको यति लामो इतिहास भएर पनि हालसम्म धरानमा नाटकघर निर्माण हुन सकेको थिएन । सभागृह र सामुदायिक भवनका हलमा नाटक मञ्चन हुँदै आएका छन् । ती सबै हल नाटकमैत्री छैनन् । त्यसैले सांसद जयकुमार राईको पहलमा धरान-८ सभागृहछेउमा आधुनिक नाटकघर निर्माण थालिएको छ ।
सांसद विकास कोषको ४० लाख रुपैयाँ उनले नाटकघरका लागि विनियोजन गरेका छन् । ‘यो नाटकघर धरानको गहना बन्ने आशा छ,’ उनले भने । लकडाउनबीच नाटकघर निर्माण थालिएको छ ।
दुई कठ्ठामा परम्परागत शैलीको दुईतले नाटकघर बन्नेछ । भित्री भागलाई भने आधुनिक रूप दिइने निर्माण समितिले जनाएको छ । अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटकघर निर्माण उपभोक्ता समिति गठन गरिएको छ । स्थानीय नरेश मगरले भवन बनाउने ठेक्का पाएका छन् ।
निर्माण समितिका अनुसार नाटकघरमा प्रकाश र ध्वनिको अत्याधुनिक प्रविधि जडान गरिनेछ । भवन र प्रविधि जडानसम्मका लागि करिब पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले बताइन् ।
अग्रज नाट्यकर्मी अशेष मल्लले ०३९ सालमा सडक नाटकमार्फत यहाँको रंगमञ्चमा आधुनिकताको बीजारोपण गरेका हुन् । सडक र कचहरी नाटकको केन्द्र नै मानिन्छ, धरानलाई ।
‘अनाम नाट्य जमात’, ‘आरम्भ’, ‘पराग’लगायतका नाट्य समूहले यहाँको रंगकर्मको साख जोगाउँदै आएका छन् । पछिल्लो समय आरम्भ नाट्य जमात र रंगभूमि एकेडेमी धरानको रंगमञ्चमा बढी सक्रिय छन् । कवि–पत्रकार राजेश विद्रोहीको ‘जिन्दगी : एक इन्द्रधनुषी सपना’को मञ्चन सभागृहमा भएको थियो । यस्तै, लिम्बू संस्कृतिलाई नाट्य रूप दिइएको ‘इंघङ’ पनि सभागृहमै मञ्चन गरिएको थियो ।