१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मण्डला थिएटरमा ‘पल्पसा क्याफे’ नाटक हेर्न पुगेका दर्शक । तस्बिर सौजन्य : मण्डला थिएटर 
पवन बराइली काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

काठमाडौंका नाटकघर  भरिभराउ

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३२:oo

मण्डला थिएटरमा ‘पल्पसा क्याफे’, कौसी थिएटरमा ‘उलार’, पुरानो घरमा ‘खत’, शिल्पी थिएटरमा ‘एस्फिक्सिया’

- बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन भइरहेको छ । सुरज सुवेदीले नाट्यकरण गरेको ‘पल्पसा क्याफे’ विमल सुवेदीले निर्देशन गरेका हुन् । नाटक तत्कालीन माओवादी ‘युद्ध’को सेरोफेरोको कथामा केन्द्रित छ । यो नाटक २५ वैशाखसम्म मञ्चन हुनेछ । 

- टेकुस्थित कौसी थिएटरमा नयनराज पाण्डेको उपन्यास ‘उलार’मा आधारित नाटक मञ्चन भइरहेको छ । चे शंकरको परिकल्पना तथा निर्देशनमा रूपान्तरित ‘उलार’ले नेपाली समाजको भुइँमान्छेले गर्नुपरेको संघर्षको कथालाई प्रतिनिधित्व गर्छ । ६ वैशाखदेखि सुरु भएको नाटक १८ वैशाखसम्म चल्नेछ ।

- सिनामंगलस्थित पुरानो घरमा २५ चैतदेखि ‘खत’ मञ्चन भइरहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो नाटक १६ वैशाखसम्म चल्नेछ । नाटकका निर्देशक भारतीका अनुसार यो नाटक तत्कालीन १० वर्षे ‘जनयुद्ध’मा देशले भोगेको त्रासदी र निकासमा केन्द्रित छ । नाटकमा २० जना कलाकारको अभिनय छ । 

- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा पनि शुक्रबारदेखि नृत्य नाटक ‘एस्फिक्सिया’ मञ्चन भइरहेको छ । बेल्जियमका मेरियन ल्याम्बर्ट र ट्याटियाना रोसिग्ननद्वारा निर्देशित यो नाटक जलवायु परिवर्तन र प्रदूषणबारे जनचेतनासम्बन्धी छ ।

- शिल्पीले पनि ३ वैशाखदेखि मुक्त रंगमञ्चअन्तर्गत ‘अलिकति उज्यालो’ नाटक काठमाडौँबाहिरका जिल्लामा देखाइरहेको छ । घिमिरे युवराजको लेखन तथा निर्देशनमा बनेको नाटकमा स्थानीय जनप्रतिनिधिका उज्यालो र अँध्यारो पक्ष केलाइएको छ । 

दुई वर्षपछि गुल्जार नाटकघर

दुई वर्ष ठप्प रहेका काठमाडौँका नाटकघर पुनः गुल्जार बनेका छन् । यो गतिविधिले राजधानी सहरलाई भित्रभित्रै नाटकमय बनाएको देखाउँछ । नाटकघरमा यसरी बाक्लै नाटक मात्रै मञ्चन भएका छैनन्, दर्शकको उपस्थिति पनि उत्साहजनक छ ।

थिएटरमा दर्शकको उपस्थितिले नेपाली नाट्य रंगकर्ममा बहार आएको नाट्यकर्मीहरूको अनुभव छ । सबै थिएटरमा नाटक मञ्चन भइरहँदा नाट्यकर्मी उत्साहित छन् । नाट्यकर्मी विजय बराल अहिले नेपाली रंगमञ्चमा पुनर्जागरण आएको बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीका कारण दुई वर्ष रंगमञ्च सुस्तायो । तर, नाटकघरहरूले नाटक मञ्चन गर्न थालेपछि दर्शक चाखपूर्वक हेर्न आउनुभएको छ । यसलाई पुनर्जागरण नै भन्नुपर्छ ।’ 

मण्डला थिएटरले गत महिना मञ्चन गरेको नाटक ‘मितज्यू’ दर्शककै मागका कारण एक साता बढाउनुपरेको उनले बताए । उनी भन्छन्, ‘सिनेमाको गितिविधि बढ्दा नाट्यकर्म शिथिल बनेको थियो । मण्डला नयाँ ठाउँमा सरेपछि दर्शक उपस्थिति कस्तो होला भन्ने चिन्ता थियो । तर, नयाँ ठाउँमा पनि दर्शक आउनुभयो । अहिले ‘पल्पसा क्याफे’ हेर्ने दर्शक भरिभराउ छन् ।’

पुरानो नाटकघरमा भने दर्शक पाउन मुस्किल भएको बताउँछन्, नाट्यकर्मी सुलक्षण भारती । ‘हामी अहिले रंगमञ्चमा दर्शक फर्काउन प्रयास गरिहेका छौँ । अपेक्षा गरेअनुसार दर्शक पाएका छैनौँ । तर, दर्शक रिझाउन प्रयास गरिरहेका छौँ,’ उनले भने । 

नाट्यकर्मी केदार श्रेष्ठ कोरोना महामारीपछि नेपाली रंगमञ्च पुरानो लयमा फर्किने प्रयास गरिरहेको बताउँछन् । उनका अनुसार नेपाली रंगमञ्चमा नयाँ दर्शक थपिए पनि पुराना दर्शक छुटिरहेका छन् । ‘महामारीपछि नाटकमा दर्शक फर्किएका छन्, नयाँ दर्शक थपिए पनि पुराना दर्शक छुटेका छन् । दर्शक थपिएकै भन्न मिल्दैन,’ उनले भने । 

महामारीअघि पनि नेपाली रंगमञ्च महामारीमै रहेको उनको अनुभव छ । अभाव झेल्दै आए पनि गर्व गर्नलायक काम भइरहेको श्रेष्ठको भनाइ छ । ‘महामारीअगाडि पनि रंगमञ्चमा महामारी नै थियो । नेपाली रंगकर्मी कसरी बाँचिरहेका छन्, नाटकघरहरू कसरी बाँचिरहेका छन् भनेर खोज्ने हो भने काहालीलाग्दो अवस्था छ,’ श्रेष्ठ भन्छन्, ‘नेपाली रंगमञ्च पुरानै लयमा त फर्किंदै छ । तर, हामी रंगकर्मी अझै ढुक्क हुने स्थिति छैन ।’ रंगकर्मी केदार श्रेष्ठको भनाइमा रंगकर्मी आशान्त शर्मा पनि सहमत छन् । नेपाली रंगमञ्च पुरानो लयमा फर्किन निकै समय लाग्ने उनी बताउँछन् ।

 

ad
ad