१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ जेठ २० मंगलबार १२:०९:००
Read Time : > 1 मिनेट
समाचार

सांसदहरू भन्छन्– ‘क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम बढ्यो’

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ जेठ २० मंगलबार १२:०९:००

सांसदहरूले क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था नहुँदा कोरोनाको जोखिम बढेको बताएका छन् । 

राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद कोमल वलीले कोरोनाले ग्रस्त भएको प्रदेश ५ मा क्वारेन्टाइनको अवस्था नाजुक रहेको बताइन् । 

‘कोरोनाले ग्रस्त भएको ५ नम्बर प्रदेशमा ४१ हजार दुई सय ७७ जना क्वारेन्टाइनमा बसिरहेका छन् । तर, क्वारेन्टाइनको अवस्था नाजुक रहेको छ । दाङमा मात्र ६ हजार क्वारेन्टाइनमा बसेका छन् । त्यहाँ पनि क्वारेन्टाइनको अवस्था नाजुक रहेको छ,’ उनले भनिन्, ‘गर्मी बढ्यो, त्यसैले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जाओस् । परीक्षणका लागि आवश्यक आरडिटी, पिसिआर र भिटिएम किटकाे अभाव छ । यसको व्यवस्था गरिदिन ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

अर्की सांसद तारादेवी भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको चाप बढिरहेको भन्दै क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था नहुँदा जोखिम बढेको बताइन् । 

‘क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था नहुँदा जोखिम बढेको छ । तर, संघीय सरकारको तर्फबाट कुनै पनि पहल भएन,’ सांसद भट्टले भनिन्, ‘स्थानीय स्रोत–साधनले नभ्याएको अवस्थामा आवश्यक उपकरणसमेत जोहो गर्न कठिनाइ भएकाले त्यसबारेमा तत्काल पहल होस् ।’

सांसद इन्दु कडरियाले भारतमा बस्ने नेपालीहरू आफ्नो थातथलो फर्कने क्रममा उनीहरूको  सामान्य ज्वरो मात्र नापेर फर्किरहेको भन्दै यस्तै क्रम जारी रहे तीन महिनामा संक्रमितको संख्या तीव्र रूपमा बढ्ने बताइन् ।

‘भारतबाट आइरहेका नेपाली सामान्य ज्वरो मात्र नापेर फर्किरहेका छन् । यही क्रम जारी रहने हो भने तीन महिनाभित्र संक्रमितको संख्या हजारौँ पुग्न सक्छ,’ उनले भनिन् ।

उनले अब लकडाउन बढाउनुभन्दा जनजीवन सामान्य बनाउनतिर लाग्नसमेत सुझाब दिइन् । 

‘लकडाउन अवधिलाई लम्ब्याइरहेमा बेरोजगारी, भोकमरी, खाद्य असुरक्षा बढेर मानवीय, सामाजिक र आर्थिक संकट गहिरिने देखिन्छ । आमनागरिकमा चिन्ता र अन्योल बढेको छ,’ सांसद भट्टले भनिन्, ‘जोखिमका आधारमा विभिन्न भागमा विभाजन गरेर नयाँ रणनीति बनाएर कोभिड– १९ बाट बचाउन र जनजीवन सामान्य बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’