१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
राज सरगम काठमाडाैं
२०७७ बैशाख ७ आइतबार १०:५७:००
Read Time : > 1 मिनेट
साहित्य

लकडाउनमा पनि व्यस्त  किताब सम्पादक

Read Time : > 1 मिनेट
राज सरगम, काठमाडाैं
२०७७ बैशाख ७ आइतबार १०:५७:००

मुलुक लकडाउनमा परेको २६ दिन बित्यो । घरकै सीमित घेरामा रहनुपर्दा धेरैलाई सकस भएको छ । यो एकान्तवास कतिपयका लागि अवसर पनि बनेको छ । त्यसरी नै लकडाउनलाई अवसरमा बदल्न सकेका छन्, किताब सम्पादकहरूले ।

पाण्डुलिपि सम्पादन र भाषागत शुद्धाशुद्धि मिलाउँदै उनीहरूको दिनचर्या बितिरहेको छ । पुस्तक सम्पादकहरूमध्ये एक हुन्, अजित बराल । पोखरास्थित घरमै बसेर उनी केही पाण्डुलिपि सम्पादनमा व्यस्त छन् । पछिल्लो समय काठमाडौंबाट पोखरा जाँदा उनले पेनड्राइभमा लिएर गएका थिए, ती पाण्डुलिपि । लकडाउनको समय बिताउने गतिलो माध्यम बनेका छन्, ती अहिले । दिनको आधा समय उनी सम्पादनलाई दिन्छन् । 

एक नियात्रा दोस्रो चरणमा हेरिरहेका छन् । फात्सुङको अंग्रेजी संस्मरण पनि सम्पादन गरिरहेका छन् । र, नयनराज पाण्डेको कथासंग्रह हेर्ने तरखरमा छन् । भाषा सम्पादक शरतचन्द्र वस्ती भने सम्पादनको कामलाई छुट्टीकै समय कुर्दैनन् । भन्छन्, ‘यतिवेला शून्य भएर बसौँजस्तो लागेको छ ।’ प्राध्यापक अभि सुवेदी भने किताब सम्पादनका लागि समय पाएको बताउँछन् । बिपी कोइरालासँग जोडिएको ००७ देखि ०१४ सालसम्मको राजनीतिक घटनाक्रमलाई अंग्रेजी भाषाको संस्मरणात्मक पुस्तक सम्पादन गरिरहेका छन्, उनी अहिले । त्यस पुस्तकको भूमिका पनि लेखिरहेका छन् ।

लेखक कृष्ण धरावासीले इन्द्रबहादुर राईका सिर्जनाहरूको संग्रह ‘इन्द्र आख्यान’ सम्पादन गरिरहेका छन् । यस्तै, ‘बैरागी काइँलाको साहित्यमा योगदान’ नामक किताब पनि सम्पादन गरिरहेका छन् । अर्का पुस्तक सम्पादक राजेन्द्र तारकिणी पनि एक आख्यान सम्पादन गरिरहेका छन् । पुस्तक सम्पादकहरू दीपक नेपाल र पारसप्रकाश नेपाल पनि यतिखेर व्यस्त नै छन् । दीपकले यसबीचमा तीनवटा गैरआख्यान र दुईवटा आख्यानका किताब हेर्न भ्याएका छन् । पारसले पनि एउटा कथासंग्रह र पुरानो उपन्यासको पुनः सम्पादन गर्न भ्याएका छन् ।