मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस सिओल
२०७९ माघ ११ बुधबार १६:०६:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

श्वासप्रश्वासका बिरामी बढेपछि प्योङयाङमा ‘लकडाउन’

Read Time : > 1 मिनेट
रासस, सिओल
२०७९ माघ ११ बुधबार १६:०६:००

श्वासप्रश्वासका बिरामी बढेपछि प्योङयाङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ । गत अगस्टमा कोरोनामाथि विजय प्राप्त गरेको उत्तर कोरियाले बुधबारदेखि लागू हुने गरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो । 

प्योङयाङका बासिन्दालाई आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारले जारी गरेको सूचनालाई उद्धृत गर्दै सिओलस्थित एनके न्युजले जनाएको छ ।  राजधानीमा फैलिएको रोगलाई कोडिभ– १९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ ।

राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरवासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो । प्योङयाङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य सहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा भने स्पष्ट गरिएको छैन । राज्य नियन्त्रित सञ्चारमाध्यमले पनि यस सम्बन्धमा केही उल्लेख गरेका छैनन् ।

कोरियाली प्रायद्वीपको यो देशमा निरन्तर तापक्रम घटिरहेको छ । हाल यहाँको तापक्रम माइनस २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । उत्तर कोरियाको छिमेकी तथा प्रमुख व्यापारिक साझेदार चीनले हालै कोभिडविरुद्धको शून्य नीति परित्याग गरेको छ । केहीअघि चीनका अस्पताल बिरामीले भरिभराउ भएका थिए भने अन्त्येष्टिस्थलमा ठूलो संख्यामा शव ल्याइएका थिए । 

चीनबाट आफ्नो भूमिमा संक्रमण फैलिन नदिन प्रारम्भदेखि नै उत्तर कोरियाले  कठोर नीति अवलम्बन गरेको थियो । यद्यपि, उसले चीनसँगको व्यापारलाई अनुमति दिएको थियो । उत्तर कोरियाले गत अप्रिलमा कोरोनाको प्रकोपले देशलाई गाँजेको स्वीकार गरेको थियो । तर, तीन महिनापछि चमत्कार भएको भन्दै उसले महामारीबाट मुक्त भएको घोषणा गरेको थियो । 

कोरोनासम्बन्धी उत्तर कोरियाली तथ्यांक तथा महामारी नियन्त्रणमा आएको भनाइलाई लिएर विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठनले लामो समयदेखि प्रश्न गरिरहेका छन् । विज्ञहरूका अनुसार उत्तर कोेरियाको स्वास्थ्य सेवा प्रणाली कमजोर छ । अस्पतालहरूमा पर्याप्त उपकरण छैनन् भने  अस्पतालहरूमा सघन उपचार कक्ष पनि सीमित छन् । साथै त्यहाँ कोभिड– १९ को उपचार गर्ने औषधिको पनि अभाव छ । 

दुई करोड ५० लाख जनसंख्या भएको उत्तर कोरियामा कुनै नागरिकले कारोनाविरुद्ध खोप लगाए–नलगाएको भन्न कठिन छ । चीनबाट केही मात्रा खोप प्राप्त भएकाले केही नागरिकले खोप लगाएको अनुमान गर्न सकिन्छ ।