१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ चैत २९ शनिबार ०७:४१:००
Read Time : > 1 मिनेट
समाचार

खुला सीमाको फाइदा उठाउँदै नेपाल भित्रिने बढे, सीमामा बढाइयो सुरक्षा सतर्कता

Read Time : > 1 मिनेट
२०७६ चैत २९ शनिबार ०७:४१:००

लकडाउनका वेला चोरबाटो प्रयोग गर्दै भारतबाट नेपाल भित्रिनेहरू बढेपछि सीमामा सुरक्षा सतर्कता बढाइएको छ । प्रदेश १ को खुला सिमाना पूर्ण लकडाउन गराउन सीमामा कोरोना सीमा सुरक्षा क्याम्प बनाउन थालिएको छ । सुनसरी, झापा, मोरङ र इलाममा पर्ने खुला सीमामा पूर्ण लकडाउन गर्न सशस्त्र प्रहरीले कोरोना सीमा सुरक्षा क्याम्प र नेपाल प्रहरीले सुरक्षा चेकप्वाइन्ट स्थापना गरेका छन् ।

सशस्त्रले थप्यो एक सय ५१ कोरोना बेस

प्रदेश एकको सुनसरी इटहरीस्थित सशस्त्र प्रहरी बराह बाहिनीका डिआइजी नगेन्द्रबहादुर थापाका अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा एक सय ५१ वटा अस्थायी क्याम्प स्थापना गरिएका छन् । जसमध्ये इलाममा सात, झापामा ५८, मोरङमा ३५ र सुनसरीमा ५१ वटा छन् । त्यहाँ २४सै घन्टा फरवार्ड गस्ती गरेर खुला सिमानमा आवतजावतको निगरानी गर्ने उनले बताए । 

नेपाल प्रहरीले थप्यो तीन सय जनशक्ति

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सुमन तिम्सिनाका अनुसार सिनियर प्रहरी अधिकृतको कमान्डमा सीमामा थप प्रहरी खटाइएको छ । झापामा एक सय ३५, मोरङमा ८० र सुनसरीमा एक सय १२ प्रहरी थप परिचालन गरिएको डिएसपी तिम्सिनाले जानकारी दिए । उनीहरूले विभिन्न सेक्टरमा विभाजन गरिएको अस्थायी चेक प्वाइन्टमा बसेर खुला सिमानालाई पूर्ण लकडाउन गर्न ड्युटी गर्नेछन् ।

प्रवक्ता तिम्सिनाका अनुसार दुवै सुरक्षा फौजका अधिकारीले अनुगमनसमेत गर्नेछन् । नेपाल प्रहरीले सीमा क्षेत्रका युवालाई अभिमुखीकरण गराएर लकडाउन पालना गराउन म प्रहरीको साथी अभियान पनि सञ्चालन गरिरहेको छ । अभियानमा एक हजार युवा सामेल भइसकेका छन् । नेपाल प्रहरीले प्रदेश एकका दुई सय २४ स्थानमा रहेका क्वारेन्टाइनको पनि सुरक्षा गरिरहेको छ । 

२ नम्बर प्रदेशबाट आउन रोक
 
संघीय सरकारले गरेको निर्णयअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत रोक्न प्रदेश प्रहरी कार्यालयले राजमार्गमा समेत चेक पोस्ट राखेको छ । प्रदेश २ बाट प्रदेश एकमा आउन नदिन सुनसरीको कोसी ब्यारेज, उत्तरमा बराहक्षेत्रको चतरास्थित कोसी पुल र उदयपुरको रामपुर ठोक्सिलामा चेक प्वाइन्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिम्सिनाले सबै चेक प्वाइन्टमा २४सै घन्टा चेकजाँच हुने जानकारी दिए ।