प्रतिटन दुई सयसम्म महँगो भएको भन्दै व्यवसायीले प्रयोग नै गरेनन् आइसिपी
भारतको सीमावर्ती बथनाहा रेलवे स्टेसनदेखि विराटनगरको आइसिपीस्थित रेलवे स्टेसनसम्म आउने गरी १० महिनाअघि उद्घाटन गरिएको कार्गो रेल अझै सञ्चालनमा आउन सकेको छैन । नेपालतर्फको रेलवे स्टेसनले प्रतिटन दुई सय रुपैयाँसम्म बढी शुल्क लिएको भन्दै व्यवसायीले भारतीय रेलवे स्टेसन नै प्रयोग गर्दा अन्तरदेशीय कार्गो रेल सञ्चालनमा आउन नसकेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ जेठ ०८० मा संयुक्त रूपमा कार्गो रेल उद्घाटन गरेका थिए । तर, नेपालका सरकारी निकायले महँगो शुल्क असुल गर्दा विराटनगरको आइसिपी यार्डसम्म कार्गो रेल सञ्चालन हुन नसकेको एक अध्ययनले देखाएको हो । उद्योग संगठन मोरङले गरेको अध्ययनले भारतीय रेलवे स्टेसनको तुलनामा नेपालको रेलवे स्टेसन प्रयोग गर्दा प्रतिटन ६४ देखि दुई सय रुपैयाँसम्म महँगो पर्ने पाइएको छ । विराटनगरको आइसिपीमा रहेको रेलवे स्टेसनको प्रयोग लागत महँगो भएपछि विराटनगरका उद्योगी–व्यवसायीले जोगबनी र बथनाहा रेलवे स्टेसनबाटै कार्गो ल्याइरहेको अध्ययनले आँैल्याएको हो ।
कार्गाे रेल उद्घाटनका दिन आरती स्ट्रिप्सले औद्योगिक कच्चा पदार्थ एचआर सिट नेपालतर्फको रेलवे स्टेसनसम्म ल्याएको थियो । त्यसपछि उक्त रेलवे स्टेसनमा कुनै पनि कार्गो रेल आउन नसकेको अध्ययनमा उल्लेख छ । विराटनगरमा मुख्यतः कार्गो रेल ल्याउनेमा फलाममा आधारित उद्योग नै पर्छन् । तर, फलाममा आधारित सबै उद्योगले कार्गो रेलका लागि भारतीय रेलवे स्टेसन नै अपनाइरहेका छन् । पशुपति आइरन, स्वस्तिक रोलिङ मिल्स, हुलास वायर, प्रिमियर स्टिल, प्रिमियर वायर, पायनियर वायरलगायत फलामे उद्योगले आयात गर्ने एचआर सिट, स्पन्ज आइरन र एमएस वायर रडजस्ता औद्योगिक कच्चा पदार्थ ती उद्योगले भारतीय रेलवे स्टेसनबाटै ल्याइरहेका छन् ।
लोड–अनलोडदेखि पार्किङ शुल्कसमेत महँगो
संगठनले नेपाल र भारततर्फका रेलवे स्टेसन प्रयोग गरेर स्पन्ज आइरन, एमएस वायर रड र एचआर सिटको आयात गर्दा कार्गो ह्यान्डलिङ र ढुवानीमा कति खर्च लाग्छ भनेर तुलनात्मक अध्ययन गरेको थियो । अध्ययनले नेपालतर्फबाट मालवस्तु आयात गर्दा भारतीय रेलवे स्टेसनका तुलनामा प्रतिटन ६४ देखि दुई सय रुपैयाँसम्म महँगो पर्ने देखाएको हो ।
‘भारतीय रेलवे स्टेसनबाट स्पन्ज आइरन ल्याउँदा कार्गोको लोडिङ–अनलोडिङ चार्ज र २५ किलोमिटरसम्मको ढुवानीदर प्रतिटन ६ सय ६४ रुपैयाँ छ । त्यस्तै, पार्किङ शुल्क ३२ रुपैयाँ तोकिएको छ । यसरी एक टन स्पन्ज आइरन भारतीय रेलवे स्टेसन ल्याएर कारखानासम्म पुर्याउँदा ६ सय ९६ रुपैयाँको खर्च छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘यही स्पन्ज आइरन विराटनगरको आइसिपीस्थित रेलवे यार्डबाट ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ चार्ज चार सय र २५ किलोमिटरसम्मको ढुवानीखर्च प्रतिटन तीन सय ६० रुपैयाँ गरी सात सय ६० रुपैयाँ तिर्नुपर्छ ।’ यसरी भारतीय रेलवे स्टेसनबाट स्पन्ज आइरन ल्याउँदा प्रतिटन ६ सय ९६ र नेपालतर्फको रेलवे स्टेसन यार्डबाट ल्याउँदा सात सय ६० रुपैयाँको दररेट हुँदा प्रतिटन ६४ को फरक देखिन्छ । भारतीयबाट ल्याउँदा नेपालतर्फका तुलनामा प्रतिटन ६४ रुपैयाँ सस्तो पर्छ । एक र्याकमा कम्तीमा २५ सय टन स्पन्ज आइरन आउँछ । २५ सय टनको हिसाब गर्दा एक लाख ६० हजार रुपैयाँ सस्तो पर्ने देखिन्छ ।
त्यस्तै, जिआई वायर, गेभियन बक्सलगायत सामग्रीको मुख्य कच्चा पदार्थ एमएस वायर रड भारतीय यार्डबाट ल्याउँदा नेपालतर्फको यार्डका तुलनामा प्रतिमेट्रिकटन एक सय ६८ रुपैयाँ सस्तो पर्ने देखिन्छ । एक रेलवे र्याकमा कम्तीमा २६ सय टन एमएस वायर रड आउँछ । भारतीय यार्डबाट ल्याउँदा प्रतिटन एक सय ६८ का हिसाबले एक र्याक एमएस वायर रडमा चार लाख ३६ हजार आठ सय रुपैयाँ सस्तो पर्छ । त्यसैले नेपालतर्फको यार्डबाट आयात हुन नसकेको अध्ययनमा उल्लेख छ ।
फलामे सामग्रीको अर्को कच्चा पदार्थ एचआर सिट एनसिवाईबाट ल्याउँदा त अझ महँगो पर्ने देखिएको अध्ययनले औँल्याएको छ । एचआर सिटबाट सिआर सिट बनाइन्छ । सिआर सिट स्क्वायर पाइप, एंगल, च्यानल आदि उत्पादनको मुख्य कच्चा पदार्थ हो । यही एचआर सिट भारतीय रेलवे यार्डबाट ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङसहित २५ किमिसम्मको ढुवानी चार सय १६ र पार्किङ चार्ज ३२ गरेर चार सय ४८ रुपैयाँको खर्च छ ।
जबकि, नेपालतर्फको यार्डबाट ल्याउँदा लोडिङ–अनलोडिङको चार सय र २५ किमिसम्मको ढुवानीको दुई सय २० गरी प्रतिटन ६ सय २० रुपैयाँ निर्धारण गरिएको छ । यसरी नेपालतर्फको यार्डबाट एचआर सिट ल्याउँदा प्रतिटन एक सय ७२ रुपैयाँ महँगो पर्छ । एक र्याकमा २५ सयदेखि तीन हजार टनसम्म एचआर सिट आउँछ । भारतीय यार्डबाट न्यूनतम २५ सय टन ल्याउँदा नेपालतर्फको यार्डको तुलनामा चार लाख ३० हजार रुपैयाँ सस्तो पर्छ ।
नेपालतर्फको रेलवे यार्डमा कार्गो रेल ल्याएर मालवस्तुको ह्यान्डलिङ र ढुवानी गर्ने कार्यको शुल्क तथा दररेट नेपाल इन्टरमोडल यातायात विकास कम्पनीले निर्धारण गरेको हो । सरकारले यही समितिलाई आइसिपीको व्यवस्थापकीय पक्षको जिम्मा दिएको छ । इन्टरमोडलले निजी क्षेत्रको ट्रान्स नेपाल फ्रेट सर्भिसेज नामको कम्पनीलाई कार्गो व्यवस्थापनका लागि ठेक्का लगाएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इन्टरमोडलले शुल्क निर्धारण गरेपछि नेपालतर्फ कार्गो रेल नआई भारततर्फकै यार्डमा आएको बताए । इन्टरमोडल कार्गो ह्यान्डलिङ र ढुवानीको शुल्क निर्धारण गरेर हालसम्म चुपचाप बसिरहेको उनले औँल्याए । ‘शुल्क निर्धारण भएको नौ महिना बितिसकेको छ, अहिलेसम्म एनसिवाईमा कार्गो रेल आएको छैन,’ उनले भने, ‘कार्गो रेल किन आएन, समस्या कहाँ छ र कहाँ सुधार गर्नुपर्छ ? भनेर अहिलेसम्म इन्टरमोडलले खोजी गरेको अनुभव हामीले गरेका छैनौँ ।’ इन्टरमोडलले असारमा निर्धारित शुल्कलाई तत्काल पुनरावलोकन गरेर व्यवसायमैत्री बनाउँदै संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
आयातमा विराटनगर भन्सारको ११ प्रतिशत हिस्सा छ । चालू आवको आठ महिनामा १० खर्ब ३० अर्बको आयात हुँदा त्यहाँबाट मात्रै एक खर्ब १२ अर्बको आयात भएको देखिन्छ । निर्याततर्फ भने यस भन्सारको हिस्सा १९.४६ प्रतिशत छ । फागुनसम्म एक खर्ब ६१ करोड रुपैयाँको निर्यात हुदाँ त्यहाँबाट मात्रै १९ अर्ब ५८ करोडको निर्यात भएको छ ।