१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ चैत ४ मंगलबार ०९:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोनाबारे कूटनीतिक समुदायलाई ब्रिफिङ

Read Time : > 1 मिनेट
२०७६ चैत ४ मंगलबार ०९:३७:००

परराष्ट्र मन्त्रालयले नेपालस्थित कूटनीतिक निकाय, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधिलाई कोरोना भाइरसको रोकथामका लागि सरकारले गरिरहेको पहलबारे ब्रिफिङ गरेको छ । संसारभर कोरोना भाइरसको महामारी फैलिएका वेला सरकारले पहिलोपटक कूटनीतिक निकायलाई ब्रिफिङ गरेको हो । 

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रसचिव शंकरदास वैरागीले कोरोनाको महामारी फैलिन नदिन पूर्वसावधानी तथा नियन्त्रणका लागि आवश्यक उपाय अपनाएको भन्दै सरकारले स्वदेशी एवं विदेशी नागरिकलाई समान व्यवहार गर्ने बताएका छन् । ‘परराष्ट्रसचिव वैरागीले काठमाडौंमा रहेका कूटनीतिक समुदायलाई कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण तथा रोकथामका लागि नेपालले चालेका कदमबारे ब्रिफिङ गरेका छन्,’ परराष्ट्र मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागका प्रतिनिधि पनि उपस्थित थिए ।

कूटनीतिक स्रोतका अनुसार ब्रिफिङमा सहभागी कूटनीतिज्ञले कोरोनाको चेकजाँच काठमाडौंको कुन अस्पतालमा उपचार गर्ने ? अन्तर्राष्ट्रिय उडान रोक्ने विषयमा कस्तो नीति छ भनेर सोधेका थिए । परराष्ट्रसचिवसहितका अधिकारीले अन्तर्राष्ट्रिय उडान रोक्ने नीति नरहेको, तर भाइरस रोकथामका लागि सुरक्षाजन्य उपाय अपनाइएको जवाफ दिएका छन् । 

परराष्ट्रसचिव वैरागीले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा गठन भएको उच्चस्तरीय समन्वय समितिले प्रदेश सरकारलगायत सबै सरकारी संयन्त्रलाई नीतिगत निर्देशन र सुझाब दिइरहेको, विभिन्न मन्त्रालयका एक्सन टिम गठन भएर काम गरिरहेको तथा प्रधानमन्त्रीको नेतृत्वमा केन्द्र सरकारका र मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकारका काम–कारबाहीको समन्वय भइरहेको बताएका थिए । 

सरकारले अत्यावश्यक भएमा मात्रै नेपाल भ्रमण गर्न विदेशी नागरिकलाई आग्रह गरेको पनि सरकारी अधिकारीले कूटनीतिज्ञलाई बताएका थिए । ‘उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार अध्यागमन विभागले अस्थायी रूपमा अनअराइभल भिसा बन्द गरेको छ भने स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकको प्रवेश बन्द गरेको छ । नेपाली नागरिकलाई पनि विदेशमा यात्रा नगर्न, ठूला कार्यक्रम आयोजना नगर्न भनेका छौँ,’ परराष्ट्रसचिव वैरागीले कूटनीतिज्ञलाई भनेका थिए, ‘एक सातासम्म कोरोना भाइरस नलागेको स्वास्थ्य प्रमाणपत्रका आधारमा मात्रै भिसा प्रक्रिया अघि बढाउने नीति अपनाइएको छ ।’ नेपाल–भारत सीमा क्षेत्रका चेकजाँच केन्द्रमा स्वास्थ्य जाँचको व्यवस्था भएको र यसबारे नेपाल र भारतका अधिकारी आपसी सम्पर्कमा रहेर काम गरिरहेको पनि सचिव वैरागीले जानकारी दिएका छन् । 

अध्यागमन विभागका अधिकारीले कूटनीतिक र औपचारिक पासपोर्ट भएकाहरूलाई कारोना भाइरस नभएको स्वास्थ्य सर्टिफिकेट नचाहिने, तर अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा उनीहरूको जाँच हुने जानकारी दिएका थिए । ‘उनीहरूलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिनेछ,’ उनको भनाइ थियो । 

सरकारले कोरोना भाइरसकै कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको, हिमाल आरोहण बन्द गरेको, सगरमाथा संवाद स्थगित गरेको पनि परराष्ट्रसचिव वैरागीको भनाइ थियो । उनले राष्ट्रिय दिवसलगायत कुनै पनि कार्यक्रम नगरिदिन दूतावासहरूलाई आग्रहसमेत गरेका छन् । उनले कूटनीतिक समुदायलाई आश्वस्त पार्दै उनीहरूसहित विकास साझेदार निकाय, राष्ट्रसंघीय निकाय एवं परिवारका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने वचन दिएका छन् ।