- ६० भन्दा बढी सम्पर्कविहीन
- युद्धबन्दी फिर्ता गर्न युक्रेनको सर्त–नेपालमा पनि जेलमा राख्नुपर्ने
- परराष्ट्रमन्त्रीलाई रुस पठाउने तयारी
युक्रेनमा बन्धक रहेका चार र रुसी सेनामा कार्यरत एक सय १२ नेपालीलाई स्वदेश फिर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । एक सय १६ नेपालीका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत आफन्तको फिर्ताका लागि सरकारसँग गुहार गरेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो मंगलबारसम्मको तथ्यांक हो ।
रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपालीको मृत्युको संख्या बढिरहेका वेला आफन्तले फिर्ताका लागि निवेदन दिएका हुन् । परिवारले दिएको निवेदनअनुसार युद्धमा परेर घाइते भएका नौ नेपाली परिवारको सम्पर्कमा छन् । उनीहरू उपचाररत छन् । र, स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् ।
‘सम्पर्कमा नभएकाले खोजी गरिपाऊँ भन्ने निवेदन परेको छ । केही दिनअघिसम्म यो संख्या ६५ थियो, अहिले संख्या बढेको हुन सक्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’
परिवारजनले रुसी सेनामा कार्यरत सन्तान सम्पर्कविहीन भएको भन्दै खोजी गरेर स्वदेश ल्याइदिन अनुरोध गरेका छन् । ‘रुसमा लामो समय सरकारी कार्यालय बिदा भएका कारण भर्खरै कार्यालयहरू खुल्न थालेका छन् । अब हामी रुस सरकारसँग थप पत्राचार गर्छौँ,’ परराष्ट्र स्रोतले भन्यो ।
युद्धका क्रममा चार नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन् । बर्दिया राजापुर– १ का विवेक खत्री, काभ्रे मण्डनदेउपुर– ६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ– २ का विकास राई र रोल्पा रुन्टीगढी– ८ का प्रतीक पुन छन् । युक्रेनले विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा रहेको जानकारी दिएको छ ।
युक्रेनमा नेपालीहरूको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले रुसमा रहेका १०० भन्दा बढी नेपालीका परिवारले आफ्नो मान्छे खोजिदिन र स्वदेश फिर्ताको प्रयास गरिदिन परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको यसअघि नै बताएका थिए ।
युद्धबन्दी फिर्ता गर्न युक्रेनको सर्त
युक्रेनी अधिकारीले उनीहरूको नियन्त्रणमा रहेका युद्धबन्दीलाई नेपालमा पनि जेलमा राख्नुपर्ने सर्त राखेका छन् । भारत र जर्मनीस्थित युक्रेनको राजदूतावासमा नेपाली कूटनीतिक अधिकारीसँगको कुराकानीमा युक्रेनी अधिकारीले यस्तो सर्त राखेका छन् । तर, नेपालले यसका सम्बन्धमा स्पष्ट जवाफ पठाएको छैन ।
सरकारले १६ साउन र १८ मंसिरमा विज्ञप्ति जारी गरी युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सबैलाई सचेत गरेको भन्दै भर्तीका लागि रुस नजान पुनः आग्रह गरेको छ ।
तर, सरकारी सूचना अटेर गर्दै एक हजारभन्दा बढी नेपाली नागरिक रुसी सेनामा भर्ती भएको अनौपचारिक जानकारी नेपाल सरकारलाई आएको छ । नेपालले रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या मागेकोमा रुसले अहिलेसम्म जवाफ दिएको छैन ।
‘अनौपचारिक रूपमा बुझ्दा रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या एक हजारभन्दा बढी छ । रुसले यति–उति भनेको छैन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘रुसका अनकन्टार ठाउँमा नेपालीहरू छन् भन्ने जानकारी छ ।’
परराष्ट्रमन्त्रीलाई रुस पठाउने तयारी
रुस–युक्रेन युद्धमा नेपाली नागरिकको सहभागिताका विषयमा प्रश्न उठेपछि र उनीहरूको अवस्थाबारे सरकारलाई नै जानकारी नआइपुगेपछि परराष्ट्रमन्त्री एनपी साउदले रुस भ्रमणका लागि तयारी थालेका छन् ।
‘रुसमा ठूलो मानवीय संकट परेको छ । नेपालीहरूको उल्लेख्य संख्या रुसी सेनामा जानु भनेको सामान्य अवस्था होइन,’ परराष्ट्र स्रोतले भन्यो, ‘परराष्ट्रमन्त्रीकै तहमा मस्को भ्रमण गरेर सरकारी अधिकारीसँग कुराकानी गर्ने र नेपाली फिर्ताका लागि प्रयास गर्ने परराष्ट्रमन्त्रीज्यूको चाहना छ । तर, कहिले जाने भन्ने टुंगो लागेको छैन ।’ रुसका लागि नेपाली राजदूत डा. मिलनराज तुलाधरले परराष्ट्रमन्त्रीको रुस भ्रमण हुन सक्ने संकेत गरे । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने भ्रमणका सम्बन्धमा आफूलाई जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।
रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवरनिवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएको बताए । दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।
१० जनाको शव उतै अन्त्येष्टि गर्ने रुसी प्रस्ताव, अस्तु भए पनि ल्याइदिन नेपालको आग्रह
युक्रेनसँगको लडाइँमा ज्यान गुमाउने रुसी सेनामा कार्यरत १० नेपालीको शव नेपाल पठाउन रुसले आनाकानी गरेको छ । युद्धमा मारिएका नेपालीको शव अन्त्येष्टि नभएको उल्लेख गर्दै रुसले सैनिक सम्मानका साथ रुसमै अन्त्येष्टि गरिदिने प्रस्ताव राखेको हो ।
नेपालले भने सकभर शव नेपाल ल्याइदिन आग्रह गरेको छ । शव सम्भव नभए अस्तु भए पनि नेपाल ल्याइदिन भनेको छ । ‘रुसको कानुनअनुसार मृतक सैनिकको शव उनीहरूको सीमा क्षेत्रभन्दा बाहिर पठाउन नमिल्ने रहेछ । बरु, सैनिक सम्मानका साथ रुसले उहीँ नै नेपालीको शव गाडिदिने प्रस्ताव आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘युद्धमा मारिएकाहरूको शव अत्यन्तै खराब अवस्थामा छ, रुसी सीमा क्षेत्रबाहिर पठाउने कानुन पनि छैन भनेर त्यहीँ अन्त्येष्टि गर्न खोजिएको छ । तर, हामीलाई त्यसरी हुँदैन, थप कुरा गर्छौँ ।’
रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनसँगको लडाइँमा स्याङ्जाका हरिप्रसाद अर्याल र पितम कार्की, धादिङका राजकुमार गिरी र कुन्दनसिंह नागल, कैलालीका भरतबहादुर शाह, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ । ‘यो त औपचारिक रूपमा रुसले नेपाललाई पठाएको तथ्यांक हो । त्यहाँ रहेका नेपालीले बनाएका ह्वाट्सएप ग्रुप हेर्दा मृत्यु भएका नेपालीको संख्या योभन्दा ठूलो छ । तर, औपचारिक रूपमा रुस सरकारले नभनुन्जेल हामीले बोल्न मिल्दैन,’ मस्कोस्थित नेपाली राजदूतावास स्रोतले भन्यो, ‘रुसका टाढाका र अनकन्टार ठाउँमा नेपालीलाई खटाइएको छ । भित्रको स्थिति राम्रो छैन भन्ने सूचना आइरहेको छ ।’