१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार ०७:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लागुऔषध कारोबारीसँग  एक अर्बको सम्पत्ति 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार ०७:२९:००

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ । 

उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ । अनुसन्धान फाइल विशेष सरकारी वकिल कार्यालयमा पठाएको छ । 

देवेन्द्र तीनपटक जेल बसेर छुटेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख ०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यसवेला उनीसहित तीनजना एक सय ३६ किलो चरेससहित पक्राउ परेका थिए । 

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनको हङकङ र जापानका बैंकमा खाता रहेको त्यतिवेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । लागुऔषध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । देवेन्द्र त्यतिवेला दुई वर्ष जेल बसेर छुटेका थिए ।

०३९ मा पहिलोपटक पक्राउ परेका उनी ०४२ मा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनी ०३४ देखि चरेस कारोबारको अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भएको भेटिएको प्रहरी अधिकारीले बताए । 

देवेन्द्रको सीतापाइलामा डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटिएको स्रोत बताउँछ । कतिपय जग्गा उनले बकसमार्फत लिएको अनुसन्धानमा देखिन्छ । बयानका क्रममा उनले आफ्नो सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । सरकारी वकिल कार्यालयबाट निर्णय भएपछि उनको सम्पत्ति जफतको माग गरी मुद्दा दायर हुने विभागका एक अधिकारीले बताए । 

देवेन्द्रले सिरक व्यापारको आवरणमा चरेसको कारोबार सुरु गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । उनी भारत हुँदै क्यानडासम्म चरेस पठाउने गर्थे । अन्तर्राष्ट्रिय गिरोहसँग उनको सम्पर्क देखिए पनि प्रहरीले खोतल्न सकेको थिएन ।

क्यासिनोको एक करोड बरामद 

एक करोड नगदसहित पक्राउ परेका श्रवणकुमार चौधरीमाथि पनि सम्पत्ति शुद्धीकरणले अनुसन्धान अघि बढाएको छ । बरामद पैसा क्यासिनोको भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

चौधरी २ फागुनमा झापाको काँकडभित्तामा पक्राउ परेका हुन् । बा.१२च ९६८ नम्बरको कारमा एक करोड नगद बोकेर उनले भारत लैजान खोजेको खुलेको छ । चौधरीलाई थुनामा राखेर विभागले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा कुनै समूहले उनलाई पैसा बोकाएर कसैलाई दिन पठाएको र यसमा आपराधिक गिरोह संलग्न हुन सक्ने विभागका अधिकारी बताउँछन् ।