१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्जिनियर नै लागुऔषध कारोबारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:o२:oo

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो।

लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका– १० का ४३ वर्षीय ध्रुव लिम्बूलाई अवैध लागुऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजपामसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी सिभिल इन्जिनियर हुन्। काठमाडौंको कालोपुल बस्ने उनी मोबाइल मर्मतको काम गर्दै आएका थिए। 

उनले भारतको कर्नाटक कलेजबाट इन्जिनियरिङ पास गरेका थिए। उनले केही वर्ष जावलाखेलस्थित  निजी कम्पनीमा जागिरसमेत खाएका थिए। लागुऔषधको दुर्व्यसनमा फसेपछि उनी कारोबारमा संलग्न भएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए।

खनालले भने, ‘उनीसँग आबद्ध चेनको मेम्बर नै हामीले पक्राउ गरेका छौँ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। थप तथ्य खुल्दै जालान्।’ प्रहरीका अनुसार लिम्बूले पर्सा विन्ध्यबासिनीका ४० वर्षीय जमुना साह तेलीबाट लागुऔषध खरिद गर्दै आएका थिए। जमुनाले मोटरसाइकलको पेट्रोल हाल्ने ट्यांकीमा फल्स बटन बनाई भारतको रक्सौलबाट उक्त लागुऔषध नेपाल भित्र्याउँथे । प्रहरीका अनुसार एकपटक काठमाडौंमा लागुऔषध पुर्‍याइदिएबापत उनले ५० हजार रुपैयाँ लिन्थे।

जमुनाबाट खरिद गरेको लागुऔषध भने लिम्बूले ललितपुर महानगरपालिका– १८ सैंबुका ३८ वर्षीय नवीन श्रेष्ठलाई दिन्थे। नवीनले बजारमा लगेर उक्त लागुऔषध बिक्री गर्थे। प्रहरीले उनलाई गत बिहीबार झम्सिखेलबाट पक्राउ गरेको थियो। उनकै बयानका आधारमा  इन्जिनियर  ध्रुव र जमुना कारोबारमा संलग्न रहेका खुलेको थियो। पक्राउ परेकामध्ये नवीन आठ वर्षीय बालक धीरज अधिकारीको अपहरणपछि हत्यामा संलग्न भएको अभियोगमा आठ वर्ष चार महिना जेल सजाय भुक्तानपछि छुटेका अभियुक्त हुन्। धीरजको १७ असोज ०६४ मा अपहरणपछि हत्या भएको थियो। उनको शव बागमती नदीमा टुक्राटुक्रा पारी बोरामा पोको पारिएको अवस्थामा फेला परेको थियो।

ad
ad