१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
 देवेन्द्र अर्याल
२०७६ माघ १९ आइतबार १०:५८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

संकटमा सिमसार क्षेत्र

Read Time : > 4 मिनेट
 देवेन्द्र अर्याल
२०७६ माघ १९ आइतबार १०:५८:००

पुर्खाले जानी–नजानी संरक्षण गर्दै आएको भए पनि अत्यधिक प्रयोग र दोहनका कारण अहिले सिमसार क्षेत्र संकटमा छ

प्रत्येक वर्ष २ फेब्रुअरीलाई विश्व सिमसार दिवसका रूपमा संसारभर मनाइन्छ । नेपालमा पनि केही वर्षदेखि विश्व सिमसार दिवसलाई विशेष कार्यक्रम गरी धुमधामले मनाइँदै आइएको छ । पानी नसुक्ने दलदले वा छिपछिपे जमिनलाई सिमसार भनिन्छ । खासगरी ताल, तलैया, नदीकिनार, दह, दलदले जमिन, सिम, जरुवा, नुनिलो तथा क्षारयुक्त पानी रहने ६ मिटरभन्दा कम गहिराइका भू–भाग नै सिमसार हुन् । 

जैविक विविधताले भरिपूर्ण सिमसारलाई जलचरको प्रमुख वासस्थानका रूपमा लिइन्छ । शुद्ध जलसहितको पारिस्थितिक प्रणाली सञ्चालनका लागि मात्र नभएर संस्कृति, परम्परा, पर्यटन, अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा सिमसार क्षेत्रको महत्व रहेको छ ।

यद्यपि विश्वका हरेक क्षेत्रबाट असीमित रूपमा सिमसार क्षेत्र घटिरहेका छन् । विभिन्न अनुसन्धानअनुसार २०औँ शताब्दीमा मात्र ७४ देखि ७५ प्रतिशत सिमसार क्षेत्र मासिएका छन् । विगत ५० वर्षमा मात्र ६५ प्रतिशत र सन् १९८० देखि २००० सम्ममा २८ प्रतिशत सिमसार क्षेत्रमा ह्रास आएको छ । यस अर्थमा प्रत्येक वर्ष १.२ प्रतिशतले सिमसार क्षेत्र घटिरहेकोे छ । विश्वभर सिमसार क्षेत्र संकुचित मात्र भइरहेका छैनन्, तिनको गुणस्तर पनि गिर्दो छ । यसको प्रत्यक्ष असर सिमसारआश्रित जीव, वनस्पति एवं सिंगो पर्यावरणीय चक्रमा परिरहेको छ । 

‘मिलेनियम इकोसिस्टम एसेसमेन्ट’अनुसार अस्ट्रेलिया, न्युजिल्यान्ड, युरोप र उत्तर अमेरिकामा २०औँ शताब्दीमा मात्र ५० प्रतिशत सिमसार क्षेत्र घटेको थियो । विश्वभरका विभिन्न ठाउँमा ३० देखि ९० प्रतिशत घटेको देखिन्छ । एनसी डेभिडसनले एक सय ८९ सिमसार क्षेत्रको अध्ययन गरेका थिए । जसले एसियामा सबैभन्दा द्रूतगतिमा सिमसार क्षेत्र नासिएको निचोड निकालेका छन् । त्यसो त समुद्रतटीय क्षेत्रका भन्दा बाहिरका भू–परिवेष्ठित सिमसार बढी द्रूत गतिमा घटिरहेका छन् ।

सबैभन्दा विकराल स्थिति एल्लो रिभर डेल्टामा देखिन्छ । डेल्टाको ४ हजार किलोमिटर लामो तटीय क्षेत्रको अध्ययन गर्दा पछिल्लो ५० वर्षमा ६५ प्रतिशत सिमसार नासिएको देखिन्छ । डाहल र स्टेटम्यानको रिपोर्टमा अमेरिकी तटीय क्षेत्रका सिमसार प्रतिवर्ष ३२ हजार तीन सय ७५ हेक्टरका दरले सुकिरहेका छन् । मेडिटेरियनदेखि मेक्सिकन, इन्डियनदेखि क्यारेबियनलगायत संसारका हरेक कुनाका सिमसार दिन–प्रतिदिन खुम्चिरहेका छन् । २१औँ शताब्दिमा पनि यो सिलसिला जारी छ । समग्रमा सिमसार विनाश वन विनाशभन्दा तीन गुणा बढी भइरहेको छ । 

सिमसार नासिने शैली ठ्याक्कै यस्तै हुन्छ भन्न सकिन्न । फरक–फरक ठाउँ र समयअनुसार फरक–फरक कारण र स्वरूपमा सिमसार नष्ट भइरहेका छन् । पहिला मुख्यतः कृषिक्षेत्र विस्तारका कारण सिमसार मासिने गर्थे । पछि आएर जनसंख्या वृद्धि, सहरीकरण र भौतिक विकास, जलवायु परिवर्तनजस्ता विविध कारणले सिमसार लोप भइरहेका छन् ।

सिमसार विनाशको यो तीव्रतालाई मध्यनजर गर्दै सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भेला भएका वातावरण तथा संरक्षणकर्मीको साझा अवधारणासहित एउटा महासन्धिको परिकल्पना गरिएको थियो । त्यो नै पछि गएर रामसार महासन्धि भयो । जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका विश्वभरिका सिमसारलाई रामसार सूचीमा सूचीकृत गरिन्छ ।

हालसम्म विश्वमा नेपालसहित एक सय ७० राष्ट्रले सिमसार संरक्षणका लागि रामसार सन्धिमा हस्ताक्षर गरिसकेका छन् । विश्वका एक हजार ६ सय ७६ सिमसार रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालका घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल क्षेत्र, कोशी टप्पु आरक्ष, से फोक्सुन्डो ताल, गोक्यो ताल, माईपोखरी, रारा ताल, पोखराका विभिन्न ताल विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार क्षेत्र हुन् । सो सिमसार क्षेत्रले ६० हजार ५ सय ६१ हेक्टर जमिन ओगटेको छ ।

अहिलेसम्म विश्वभरका ६ सय ७६ सिमसार रामसार सूचीमा सूचीकृत छन् । यद्यपि सबैभन्दा डरलाग्दो यो छ कि रामसारमा सूचीकृत हुँदैमा सिमसार सुरक्षित हुन्छन् भन्ने छैन । मेडिटेरियन क्षेत्रका १९९०मै रामसारमा सूचीकृत ३५ सिमसार र २००५ सम्म पनि सूचीकृत नगरिएका अरू एक सय ३२ सिमसारबीच तुलनात्मक अध्ययन गरिएको थियो । २०१४मा ‘मेडिटरियन वेट्ल्यान्ड अब्जरभेसनरी’ले गरेको अनुसन्धानअनुसार, सूचीकृत/असूचीकृत दुवै सिमसार समान स्तरमा ह्रास भइरहेका थिए । 

नेपालका सन्दर्भमा कुल क्षेत्रफलको ६ प्रतिशत भू–भाग सिमसारले ढाकेको छ । ठ्याक्कै कुन अनुपातमा नेपालका सिमसार सुक्दै छन् भनेर भन्न नसके पनि यहाँका सिमसारले विश्वकै सिमसारको जस्तो संकट सामना गरिरहेका छन् । राष्ट्रिय सिमसार नीति २०६९ तर्जुमा भए पनि यसमा  भएको नीतिगत अस्पष्टता र व्यवस्थापनमा देखिएको कमजोरी, दक्ष जनशक्ति अभाव, अपर्याप्त वित्तीय क्षमता, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतमाथिको दोहन आदिका कारण सिमसार क्षेत्रको अस्तित्व संकटमा परेको हो । 

सन् २०२० को विश्व सिमसार दिवसको नारा नै ‘सिमसार र जैविक विविधता’ रहेको छ । सन् २०१९को नारा सिमसार र जलवायु परिवर्तन रहेको थियो । त्यस्तै, सन् २०२१को विश्व सिमसार दिवसको नारा सिमसार र पानी हुनेछ । सिमसार जैविक विविधतामा ज्यादै धनी हुने भएका कारण विश्वव्यापी रूपमा मानिस र पृथ्वीका लागि यसको ठूलो महत्व रहेको छ । यही महत्वलाई बुझेर जनचेतना फैलाउन तथा प्रकृतिप्रति जिम्मेवार बनाउन प्रत्येक वर्ष सिमसार दिवस मनाउन थालिएको हो । सिमसार विभिन्न प्रकारका बिरुवा र जनावरका आश्रयस्थल हुन् । सिमसार घट्नु वा लोप हुँदै जानु भनेको जैविक विविधतामा ह्रास आउनु हो । त्यसैले यसको विनाश र अतिक्रमण रोक्न आवश्यक छ । जथाभावी रूपमा विकास भएको सहरीकरण, भौतिक निर्माण, जलप्रदूषण, मिचाहा प्रजातिका वनस्पतिको अतिक्रमणले कतिपय सिमसार क्षेत्रको अस्तित्व लोप हुने क्रममा पुगेको देखिन्छ  ।

तीव्र रूपमा बढिरहेको खाद्यान्न समस्या पूर्ति, खानेपानी तथा सिँचाइ व्यवस्थापन, जडीबुटीको प्रयोग, आवत–जावत, मत्स्यपालनलगायत कार्यमा सिमसार क्षेत्रमा मानिसको निर्भरता बढेको छ । 

त्यसो त आइयुसिएनको २००४ को ‘अ रिभ्यु अफ द स्टाटस एन्ड थ्रेट्स टु वाटरल्यान्ड्स इन नेपाल’अनुसार नेपालको सिमसार क्षेत्रमा औषधिजन्य २१, कन्दमूल प्रजातिका १७ अन्य प्रकारका गरी बहुउपयोगी ६६ प्रजातिका वनस्पति पाइने उल्लेख गरेको छ । त्यस्तै, थारू, मुसहर, राजीजस्ता १३ आदिवासीको परम्परागत जीवन मुख्यतः सिमसारमा आश्रित हुने पनि यो अनुसन्धानले देखाएको छ । जसको कुल जनसंख्या प्रतिशत १०.८ हुन आउँछ । यसअर्थमा नेपालको सिमसार वन्यजन्तु र पर्यावरणका लागि मात्र होइन, मानवका लागि पनि प्रत्यक्ष रूपमा बहुउपयोगी छ । 

नेपालमा चितवनकोे बीसहजारी ताल र कोशी टप्पु क्षेत्रलगायत सिमसारमा रुसको साइबेरियादेखि चरा बसाइँ सर्दै चल्ला कोरल्न आउँछन् । सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ले २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजाति सिमसारमा आश्रित रहेको देखाउँछ । यही नोभेम्बरमा राजस्थानको साम्भर तालमा १० दिनको अन्तरालमा १८ हजार चरा मरे । मर्ने चरा मुख्यतः मौसमी बसाइँसराइका लागि आएका पोल्भर, सोभेलर र मालार्ड जातिका थिए । यसबाट पनि सिमसारको गुणस्तर र जलाशयआसपास बस्ने चराको अस्तित्वबारे बुझ्न सकिन्छ । 

सिमसारको जैविक मात्र होइन, धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिले पनि महत्व रहेको छ । नेपालको सन्दर्भमा सिमसार क्षेत्रको विशेष महत्व छ । हिमाल, पहाड र तराईका विभिन्न जातजातिले मनाउने अधिकांश चाडपर्व दह, ताल, पोखरी, नदी किनारसँग सम्बन्धित छन् । पुर्खाले जानी/नजानी संरक्षण गर्दै आएको भए पनि अत्यधिक प्रयोग र दोहनका कारण अहिले सिमसार क्षेत्र संकटमा छ । 

सिमसार क्षेत्र संरक्षण केन्द्रीय सरकारको मातहतमा रहेको छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले सिमसार क्षेत्रको संरक्षण स्थानीय तहको हुने भनेर उल्लेख गरे पनि स्पष्ट नीति र योजना नभएका कारण सिमसार संरक्षणमा चुनौती बढेको छ । त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले स्पष्ट नीति योजना तर्जुमा गरेर सिमसार क्षेत्रको संरक्षणमा स्पष्ट खाका तयार गर्नु आवश्यक छ । संस्था, नीति, सहभागिता, सूचना, प्रविधि र वित्तलाई आधार मानेर सिमसार क्षेत्रको संरक्षण र सुशासनमा जोड दिन सकिन्छ ।  

सिमसार क्षेत्रमा विभिन्न प्रजातिका अन्तर्राष्ट्रिय दृष्टिले महत्वपूर्ण मानिएका जीवजन्तु र वनस्पतिको संरक्षण हुने हुँदा यी क्षेत्रको विशेष रूपमा पहिचान गरी संरक्षणमा चासो दिनुपर्छ । अति संवेदनशील संकटापन्न जीवजन्तु र वनस्पति संरक्षणमा सिमसारको महत्व रहेको छ । त्यसैले त्यस्ता जीवजन्तु र वनस्पति संरक्षण र पारिस्थितिक प्रणालीको सुसञ्चालनका लागि सिमसारको संरक्षण गर्नु अत्यावश्यक ठहरिन्छ । विभिन्न प्रकारका जीव विचरण गर्ने तथा वास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुन पुग्छ र वातावरण संरक्षणमा पनि टेवा पुग्छ । 

पारिस्थितिक प्रणाली वा पर्यावरणीय सन्तुलनमा पनि सिमसारको महत्वपूर्ण स्थान छ । त्यसो त विश्वमा बढ्दै गएको पानीको संकट कम गर्न पनि सिमसार क्षेत्रलाई संरक्षित गर्नुपर्छ । सिमसार क्षेत्रले सुक्खा क्षेत्रले भन्दा अधिक कार्बन संग्रह गर्ने गर्छ । तसर्थ, जलवायु परिवर्तन न्यूनीकरणमा पनि सिमसारको ठूलो भूमिका रहन्छ ।