१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नदी, सिमसार र चुरे दोहनले आगन्तुक चराकाे संख्या घट्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३५:oo

वाइल्ड  लाइफ ट्रस्टका निर्देशक पर्यावरण अभियानी देवनारायण मण्डल आफ्ना सहकर्मीसँग महाभारत पर्वत उदगमस्थल कमला नदीमा पुगे।

उनीहरू चरा गणना गर्न त्यहाँ पुगेका थिए। राजमार्गभन्दा पश्चिम र पूर्वमा गरिएको सो गणनामा मण्डलको टोलीले ३८ प्रजातिका पानीचरा भेटेकाे हाे। सोमध्ये आठ प्रजाति साइबेरियालगायतका अन्य मुलुकबाट हजारौँ किलोमिटरको दूरी तय गरेर आएका थिए। बाँकी ३० प्रजातिका चरा नेपालकै थिए।

गत वर्ष स्थानीय र बाहिरी मुलुकबाट आएका २७ प्रजातिका चरा सो टोलीले भेटेकाे थियाे। तर, चराको प्रजाति बढे पनि संख्या घटेको भन्दै मण्डलले चिन्ता व्यक्त गरे। उनले यस वर्ष भेटेका चराको संख्या औँलामा गन्न सकिएको बताए।

हरेक वर्ष एसियाका सम्पूर्ण देशमा चरा संरक्षणमा रुचि राख्ने संरक्षणकर्मीले जनवरी महिनाको दोस्राे र तेस्राे हप्ता आगन्तुक पानीचरा गणना गर्ने गर्छन्। यसपटक जनवरी ६ तारिकदेखि २१ तारिकसम्म देशभरि नै गणना गरिएको थियो।

नेपालबाट चराविद् डा. हेमसागर बरालले अगुवाइ गरेका हुन्। मधेश प्रदेशको धनुषा र सिराहा जिल्ला मिथिला वाइल्ड लाइफ ट्रस्टले निरन्तर गणना गर्दै आएको छ। पछिल्ला वर्षमा चरा प्रसस्त हुने गरे पनि नदी तथा चुरेमा मानवीय हस्तक्षेप बढ्न थालेपछि संख्या घट्दै गएको पर्यावरण अभियानकर्ता मण्डलले बताए। 

नदी दोहन, अनियन्त्रित उत्खनन, ध्वनि प्रदूषण र चराको पानी पिउने र चरण क्षेत्रमा र वासस्थानमा बढेको हस्तक्षेपप्रति उनले चिन्ता व्यक्त गरे। उनले गणनाकै क्रममा सयौँ ट्याक्टरले नदीमा ताण्डव मच्चाइरहेको र त्यसले चरा डराएर भागिरहेको देखेको सुनाए। 

उनले भने, ‘पर्यावरण मानवका लागि मात्र नभई यसै पृथ्वीमा भएका सम्पूर्ण प्राण भएका जीवका लागि हो। मानवले आफ्नो मात्र स्वार्थ पूरा गर्न खोज्दा प्रकृतिको स्वरूप बिग्रँदै गएको छ। प्रकृतिमा मानव जतिकै अधिकार अन्य जीवित प्राणीको समेत छ। उनीहरूको वासस्थान खोसिनुहुँदैन। उनीहरूको चरण क्षेत्र खोसिनुहुँदैन। तर, मानवले सीमित स्वार्थपूर्तिका लागि पर्यावरणसँग खेलवाड गर्दै गएको छ।’

कमला नदीकै शाखा रहेको महोत्तरीको रातु नदीमा समेत अनियन्त्रित उत्खननले चरा तल्लो क्षेत्रमा झर्दै गएको र केही वर्षमै नेपालबाट आगन्तुक चरा हराउने अवस्था सिर्जना भइरहेको मण्डलको भनाइ छ। 

उनका अनुसार पहिले रातु र कमलालगायतका महाभारत पर्वत र चुरेबाट आउने नदीमा निरन्तर पानी बगिरहने भए पनि चुरे र नदी दोहनले पानीको बहावले निरन्तरता पाउन सकेको छैन। माथिल्लो क्षेत्रमा जंगल फँडानी, नदी उत्खनन र मानवबस्तीको विकासले पर्यावरण असन्तुलत हुँदै गएको र वन्य जन्तु तथा चराले आफ्नो वासस्थानसँगै आहारासमेत गुमाउँदै गएको छ। यसको नियन्त्रण अति आवश्यक रहेको मण्डल बताउँछन्। 

विगत ६ वर्षदेखि कमला बचाउ अभियानमा लागेका विक्रम यादवसमेत स्थानीय तहले नदी दोहन गरिरहेको अवस्था पचाउन सक्ने खालकाे नभएको बताउँछन्। उनका अनुसार कमलामा पहिले माछा प्रसस्त भएको र माछाकै कारण समेत कमला चिनिने अवस्था थियो। पछिल्लो समय कमलामा माछा नै पाउन छोडेको छ। 

उनले चराको मार्गमा मानवले बिजुलीका ठूला–ठूला पोल राख्नाले अवरोध सिर्जना गरिरहेको बताए। चराचुरुंगीको मुख्य वासस्थान रहेको कमला नदी अहिले उजाड भइरहेकोप्रति उनको चिन्ता व्यक्त गरे। 

 


 

ad
ad