Skip This
नहर चुहिएर हजाराैँ बिघा जमिन सिमसारमा परिणत, अढाई दशकदेखि उर्वर भूमि बाँझै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
कञ्चनपुरको झिलमिला बस्तीको सिमसारमा परिणत भएको जमिन
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २६ बुधबार १o:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नहर चुहिएर हजाराैँ बिघा जमिन सिमसारमा परिणत, अढाई दशकदेखि उर्वर भूमि बाँझै

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o७:oo

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं १ देखि ५ सम्मका करिब तीन हजार बिघा उर्वर जमिन दशकाैँ देखि बाँझै रहेको छ । ०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण भएसँगै नहरबाट पानी चुहिएका कारण उर्वर जमिन बगर र सिमसारमा परिणत भएको हो ।

देशका तीनवटै सरकारको प्राथमिकता कृषि भए पनि कुनै पनि सरकारबाट सिमसारमा परिणत भएको जमिनको पुनः उपयोग गर्ने विषयमा पहल भएको छैन । बेलडाँडीको पूर्वमा झर्ना खोला र पश्चिममा चौधर नदीसहितका खोलानालाका कारण पनि जमिन दलदलमा परिणत हुँदै आएको छ । बेलडाँडी–५, झिलमिलाका स्थानीय महेश थापाले नहर निर्माण भएदेखि नहरको पानी चुहिएर खेतमा जाने भएकाले उर्वर भूमि सिमसारमा परिणत भएको बताए । ‘मेरो एक बिघा जमिन छ,’ उनले भने, ‘खेतीयोग्य नभएपछि गुजारा चलाउन बिदेसिएको छु ।’ 

०५५ सालअघि उर्वर भूमिमा धान, मसुरलगायतका अन्नबाली लगाउने गरे पनि खेत सिमसारमा परिणत भएपछि बिदेसिएको उनले बताए । बेलडाँडी–४, बैवाहकी स्थानीय मीना रोकायाले भएको खेत सिमसारमा परिणत भएपछि घाँस काट्नबाहेक अन्य कुनै कामका लागि नभएको बताइन् । ‘पहिले हाम्रै खेतमा राम्रो उत्पादन हुन्थ्यो, ‘उनले भनिन्, ‘अहिले खेत दलदलमा परिणत भएको छ, छेउछाउबाहेक अन्यमा खेती नै हुँदैन ।’ 

बेलडाँडी–३, खैरीघाटका नरेन्द्र सिंहले सिमसार व्यवस्थापन नहुँदा किसानलाई निकै समस्या खेप्नुपरेको बताए । ‘जमिन भएर के गर्ने, ‘उनले भने, ‘भएको खेत पनि बाँझै राख्नुपर्ने बाध्यता छ, दलदल खेतमा खेती गर्न सकिँदैन ।’ बेलडाँडी– २, चवन्नी खल्लाका स्थानीय रमेश रानाले खेत सिमसारमा परिणत भएपछि अन्न किनेरै गुजारा चलाइरहेको बताए । ‘विगतमा मेरो परिवार आफ्नै खेतमा उत्पादन भएको अन्नबालीले घरमा खान पुग्थ्यो, ‘उनले भने, ‘अहिले खेत बाँझै भएकाले किनेर खान्छौँ ।’ स्थानीय गोपाल ठगुन्नाले १ नम्बर वडामै एक हजारभन्दा बढी बिघा जमिन बाँझै रहेको बताए । ‘बेलडाँडीको आधाजति जमिन दलदलमा परिणत भएको छ, ‘उनले भने, ‘मेसिनबाट पानीको निकास हुँदैन, मानवीय श्रमशक्ति लगाएरै भए पनि पानीको निकास गर्नुपर्छ ।’ 

बेलडाँडीको दक्षिणमा रहेका किसानले त्यहीबराबर रहेको खेतमा नगदे बाली लगाएर वार्षिक लाखौँ आम्दानी गरे पनि बेलडाँडीका किसानले बाँझो जमिन हेरेरै चित्त बुझाइरहेका छन । स्थानीय, प्रदेश र संघीय चुनावमा उठ्ने दलका नेता–कार्यकर्ताले चुनाव जित्नकै लागि उक्त एजेन्डा अघि सारे पनि चुनाव जितेपछि वास्ता नै नराख्दा उर्वरा जमिन जलाशयमा परिणत भएको छ । बेलडाँडीका स्थानीय दिनेश ठगुराठीले कृषि क्रान्तिका नाममा कृषिमा क्रान्ति गर्छौँ भन्ने प्रदेश र संघीय सरकारले चासो नदिएको बताए । ‘जहाँ कमिसन पाइन्छ, त्यहीँ योजना हाल्छन्, ‘उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यस्ता जमिनको चिन्ता छैन, आफन्तलाई अनुदान पोस्नेदेखि कृषिमा नाममा नक्कली काम गर्नेलाई बजेट दिन्छन्, कर्मचारीलाई पनि यस्तै कहाँ बढी कमिसन, त्यहीँको योजना कार्यान्वयन गर्छन् ।’ 

झन्डै २५ वर्षदेखि बेलडाँडी पूरै वडाको हजारौँ बिघा जमिन सिमसारमा परिणत भएसँगै स्थानीय बिदेसिन बाध्य भएका हुन् । बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर विष्टले वडा नं १ देखि ५ को पूरै उर्वर भूमि सिमसारमा परिणत भएको जमिन पुनरुत्पादन गरिने बताए । ‘हामी निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकबाट सिमसार व्यवस्थापनका लागि डिपिआर तयार पारेर खेतीयोग्य जमिन बनाउँछौँ ।’ किसानको जमिनलाई खेतीयोग्यमा परिणत गर्न गुरुयोजना नै बनाएर अघि बढ्ने बताए । 

ad
ad