मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कञ्चनपुरस्थित उत्तरी चुरेको सीमसार क्षेत्रको घाँसेमैदान
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष ७ बिहीबार १२:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तुको वासस्थान बन्दै ‘सिस्ने सिमसार’ क्षेत्र

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष ७ बिहीबार १२:००:००

कञ्चनपुरको उत्तरी चुरे क्षेत्रका डाँडाकाँडा संरक्षण अभावमा नदीले कटानी गरेर बगर बनेका थिए। चुरे क्षेत्रमा डाँडैडाँडा र फेदमा नदी खोलाले कटान गरेर वन बगरमा परिणत भएको थियो।

वनको एक स्थानबाट हेर्दा छर्लंगै अर्को स्थान देखिन्थ्यो। विगतमा बस्तीसमेत विस्थापित भएकाले वन्यजन्तुको आवागमनसमेत बिरलै हुन्थ्यो। तर, समुदाय नै संरक्षणमा जुटेपछि सिस्ने सिमसार क्षेत्र मनोरम बनेको छ। चुरेसँगै जोडिएको कृष्णपुर नगरका दर्जनौँ सामुदायिक वन सिमसार क्षेत्र भएकाले वन्यजन्तुको वासस्थान बनिरहेको छ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले ६ वर्षअघि सामुदायिक वनमा चरिचरन बन्द गरेपछि वनहरा नदीले बगर बनाएको क्षेत्र हराभरा भएको बताए। ‘यहाँका सामुदायिक वन समितिले सिस्ने क्षेत्र संरक्षणका लागि पहल गरेपछि वन संरक्षण भएको छ,’ उनले भने, ‘वनहरा नदीले बनाएको बगरसमेत पुनरुत्पादन भएको छ।’

अध्यक्ष पन्तका अनुसार जनहित महाकाली, जगदम्बा, ग्वालावारी, विशाल, ऐश्वर्या, ग्यास समौजी, जयलक्ष्मीसहितका सामुदायिक वनले जैविक विविधता संरक्षणका लागि प्रयास थालेपछि वन संरक्षण भएको र बगरसमेत वनमा परिणत भएको हो। ‘सिस्ने क्षेत्रका सबै सामुदायिक वनले पूर्ण रूपमा चरिचरन बन्द गरेका छन्,’ अध्यक्ष पन्तले भने, ‘चोरी सिकारी नियन्त्रणका लागि पनि थुप्रै प्रयास भएका छन्।’ आहाराका लागि ६० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गरिएको अध्यक्ष पन्तले बताए। बगरमा समेत खयरसहितका बिरुवा पुनः उत्पादन भएका छन्। ‘हामीले वनमारा नष्ट गरेर घाँसेमैदान व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा वन्यजन्तुका लागि आहारा, पानीको व्यवस्थापन गरेपछि ठूला तथा साना जनावरको वासस्थान बनिरहेको छ।’

दक्षिणी लालझाडीदेखि चुरेसम्म वन संरक्षणका कामकाज अघि बढेपछि हात्तीको करिडोरसमेत संरक्षण भएको उनले बताए। ‘यो हात्तीको जैविक मार्ग पनि हो,’ उनले भने, ‘वन समुदायको मातहतमा गएर संरक्षणका योजना अघि बढेसँगै वन्यजन्तुको आगमन भइरहेको छ।’ तीन वर्षअघि हात्तीले यहीँ बच्चा जन्माएको थियो। सिस्ने क्षेत्र चितुवा, बाघलगायत विभिन्न प्रजातिका वन्यजन्तुको वासस्थान बन्दै गएको उनले बताए। अध्यक्ष पन्तले वनमा आश्रित विपन्न समुदायका लागि आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालन गरेपछि दाउराका लागि चोरी तस्करी गर्नसमेत स्थानीय वनमा प्रवेश नगर्दा वन संरक्षण भएको उनले बताए।

समौजी सामुदायिक वनका अध्यक्ष हजारीसिंह भाटले तराई भूपरिधि कार्यक्रमबाट आर्थिक सहयोग पाएपछि घाँसेमैदान व्यवस्थापन, वन्यजन्तुका लागि खानेपानी प्रबन्ध गरिएको बताए। ‘हामीले वनमारा रहेको क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘सुरुवाती चरणमा १० हेक्टरमा घाँसेमैदान बनाएका थियौँ। अहिले ६० हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिएको छ।’ आहारा व्यवस्थापन गरेसँगै वन्यजन्तुको आगमन बढेको हो। उनले भने, ‘वन हराभरा भएपछि पछिल्ला वर्षहरूमा वन्यजन्तु पनि गाउँ पस्न छाडेका छन्।

कञ्चनपुरका सहायक वन संरक्षण अधिकृत दिनेशकुमार यादवले सामुदायिक वनको प्रयासबाट वन पर्यावरण संरक्षण भइरहेको बताए। उनले उपभोक्ताको आम्दानी बढ्नु र वन्यजन्तु संरक्षण हुनुका साथै मानव–वन्यजन्तुबीचको द्वन्द्वसमेत न्यूनीकरण हुने बताए। लालझाडी मोहना संरक्षित वनसहितका सामुदायिक वन, चुरे निकुञ्जमा संरक्षणका कार्यक्रम वृद्धि भएसँगै वन्यजन्तुको आवागमन भइरहेको छ।