सोमबार बिहानैदेखि बागमती प्रदेशका राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका मार्गहरू अन्य दिनभन्दा व्यस्त देखिए । हेटौँडा हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल (सिस्नेरी) सडक र कान्ति लोकपथमा सोमबारबाट नियमितभन्दा बढी सवारीसाधन गुडेका छन् ।
धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग भासिएर पूर्ण रूपमा बन्द भएपछि काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु, इन्धन तथा अन्य सामग्री ढुवानी गर्ने र यात्रु बोकेका अधिकांश सवारीसाधन हेटौँडा हुँदै सञ्चालन भइरहेका छन् । जसकारण, मकवानपुर भएर काठमाडौं जोड्ने सबै वैकल्पिक सडकमा सवारीको अत्यधिक चाप देखिएको छ ।
राजधानीको ‘लाइफलाइन’ मानिने मुग्लिन–काठमाडौं सडक बन्द भएसँगै त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल (सिस्नेरी) सडक र कान्ति लोकपथ अहिले काठमाडौं प्रवेशका प्रमुख वैकल्पिक मार्ग बनेका छन् । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीमा आएको बहाव र त्यसबाट भएको भूक्षयका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर क्षेत्रमा सडक भासिएको छ । त्यसयता मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा बन्द भएको छ । जसले गर्दा चितवन, पोखरा, बुटवल, सर्लाही, बारा, पर्सा, रौतहटलगायत जिल्लाबाट काठमाडौं आउजाउ गर्ने अधिकांश सवारीसाधन हेटौँडा हुँदै सञ्चालन हुन थालेका छन् ।
सवारीको चाप अस्वाभाविक रूपमा बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौं आवतजावत नगर्न तथा अत्यावश्यक अवस्थाबाहेक निजी सवारीसाधन प्रयोग नगर्नसमेत सर्वसाधारणसँग आग्रह गरेको छ ।
सवारीको प्रकृतिअनुसार फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने
जिल्ला प्रशासन कार्यालयले सवारीसाधनको प्रकृतिअनुसार मार्ग छुट्याएर सञ्चालन गर्ने व्यवस्था गरेको छ । सम्पूर्ण मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न निर्देशन दिइएको छ भने १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनले हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने तथा काठमाडौंतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ । त्यस्तै, १० चक्कासम्मका सम्पूर्ण मालबाहक तथा यात्रुवाहक ठुला सवारीसाधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने र फर्किँदा कान्ति लोकपथ हुँदै फर्किने व्यवस्था मिलाइएको छ ।
प्रशासनले ट्राफिक व्यवस्थापनका लागि समयतालिकासमेत लागू गरेको छ । काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउने सवारीसाधन राति १ बजेभित्र हेटौँडा आइसक्नुपर्ने छ भने हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधन राति १ बजेपछि मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । सवारीचालकलाई आफ्नो पालोअनुसार मात्रै सवारी सञ्चालन गर्न, अनावश्यक ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्णरूपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौं जाने सम्पूर्ण सवारी हेटौँडाकेन्द्रित भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए । उनले सोमबार मात्रै हजारौँको संख्यामा सवारीसाधन हेटौँडा हुँदै काठमाडौं छिरेको बताए । ‘पृथ्वी राजमार्ग भएर काठमाडौं जाने चितवन, बुटवल र पोखराका सवारी पनि हेटौँडा हुँदै जानुपर्ने भएकाले हेटौँडा काठमाडौं जोड्ने मार्गहरूमा अत्यधिक चाप परेको छ । त्यसैले सवारीसाधनको क्षमताअनुसार मार्ग छुट्याएर सञ्चालन गराएका छौँ,’ उनले भने ।
त्रिभुवन राजपथ फेरि एकपटक राजधानीको ‘लाइफलाइन’
हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै काठमाडौं जोड्ने १२१ किलोमिटर लामो त्रिभुवन राजपथ फेरि एकपटक राजधानीको ‘लाइफलाइन’ बनेको छ । वर्षायाममा प्रमुख राजमार्ग अवरुद्ध हुँदा पटक–पटक प्रयोग हुँदै आएको यो ऐतिहासिक सडक अहिले सबैभन्दा बढी व्यस्त बनेको छ । विशेष गरी, लामो दूरीका यात्रुवाहक बस तथा अत्यावश्यक वस्तु र इन्धन बोकेका ट्यांकर यही मार्गबाट सञ्चालन भइरहेका छन् ।