रसुवाको भोटेकोशी नदीमा बाढीपछि विभिन्न जिल्लामा संकलन गरिएका एक सय दुई शव हाल पोखरामा छन् । बाढीमा परी विभिन्न स्थानबाट बगाएर ज्यान गुमाएकामध्ये नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ गरी एक सय दुईजनाको शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए । ती शवमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ९२ र अन्य शवहरू मणिपाल शिक्षण अस्पतालमा राखिएको छ ।
विभिन्न जिल्लाबाट पोखरा ल्याइएका शवमध्ये सोमबार साँझसम्म ८७ जनाको पोस्टमार्टम भइसकेको र १५ शवको पोस्टमार्टम गर्न बाँकी छ । पोखरा ल्याइएका ती शवहरू परीक्षणपछि आफन्तले पहिचान गरेको खण्डमा पोस्टमार्टम गरी परिवारलाई बुझाउने कार्य सुरु गरिएकोमा धेरै शवको पहिचान हुन नसकेपछि सबैको पोस्टमार्टम सुरु गरिएको हो ।
पोखरामा रहेका एक सय दुई शवमध्ये सोमबार साँझसम्म १६ जनाको शव आफन्तले बुझेका छन् । आफन्तले शवको पहिचान गरेपछि आवश्यक प्रक्रिया पुर्याएर प्रहरीले शव आफन्तको जिम्मा लगाएको हो । आफन्तको सास नभेटेपछि लास भए पनि भेटिन्छ कि भन्ने आशामा पोखरा आएकाहरू आफन्तको अवस्था केही पत्ता नलागेपछि निराश हुँदै फर्केका छन् । पोखरामा रहेका शव पहिचान गर्न सहज होस् भनी हेल्प डेस्क, फोटो भिडियो देखाउने, पहिचान भएका शवको जाहेरी लेखिदिने काम र आवश्यक प्रक्रिया पूरा भएपछि परिवारको जिम्मा लगाउने गरिएको छ ।
पोखरामा रहेका र पहिचान हुन नसकेका शव कुहिँदै गएपछि व्यवस्थापनको काम मंगलबारदेखि सुरु हुने भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले शवहरूको व्यवस्थापनको काम मंगलबारदेखि सुरु गर्ने निर्णय गरेको हो । शव कुहिँदै गएको र त्यसले दुर्गन्धसमेत फैलाएकाले आउने समस्यालाई मध्यनजर गर्दै मंगलबारदेखि शव गाड्ने काम सुरु गर्न लागिएको बरालले बताए । आफन्तले बुझेर बाँकी रहेका शवहरू मंगलबारदेखि पोखरा महानगरपालिका ३३, २५, १६, १५, १४ नम्बर वडास्थित घाटको नजिकको खाली र सुरक्षाको हिसाबले सहज हुने जग्गामा गाड्ने निर्णय भएको हो ।