नेपाली कांग्रेसले एलपिजी ग्यास विस्थापन गर्ने स्पष्ट दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारले विद्युत् खपतमा कर थपेर स्वच्छ ऊर्जा प्रयोग गर्ने नागरिकको प्रयासलाई निरुत्साहित बनाएको भन्दै स्पष्ट दीर्घकालीन नीति लागू गर्न माग गरेको हो।
विगतका सरकारहरूले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको प्रयोगलाई क्रमशः विस्थापन गर्ने स्पष्ट नीति लिएका उल्लेख गर्दै कांग्रेसले भनेको छ, ‘तर, वर्तमान सरकारले विद्युत् खपतमा समेत विभिन्न शीर्षकमा कर थपेर ग्यासको साटो स्वच्छ ऊर्जा (विद्युत) प्रयोग गर्ने नागरिकको प्रयासलाई पूर्णतः निरुत्साहित बनाएको छ।’
सरकारले यथेष्ट छलफल र पूर्वतयारीविना हचुवाको भरमा सस्तो लोकरिझ्याइँका लागि भरी सिलिन्डर पठाउँदा अभाव सिर्जना भएको कांग्रेसको ठहर छ।
‘ठोस योजना बिना हठात् १४.२ केजीको सिलिन्डर वितरण गर्ने स्टन्टबाजी गर्दा बजारमा ग्यासको हाहाकार अझ बढेको छ। सरकारको यो अकर्मण्यता र दूरदर्शिताको अभावले गर्दा उपभोक्ताले अझै लामो समय सास्ती भोग्नु पर्ने जोखिम देखिएको छ,’ कांग्रेसले भनेको छ।