सुनसरीमा भएको हिंसात्मक घटना र त्यसपछि कोशी तथा मधेश प्रदेशमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा शुक्रबार बिहान बसेको बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठकले प्रदेशको समग्र सुरक्षा अवस्था, सम्भावित जोखिम र अपनाउनुपर्ने रणनीतिबारे समीक्षा गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुनसरीको घटनापछि विभिन्न स्थानमा देखिएको तनाव अन्य प्रदेशमा समेत फैलिन सक्ने सम्भावना रहेकाले कुनै पनि प्रकारका हिंसात्मक गतिविधि हुन नदिन सुरक्षा संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिए ।
उनले सामाजिक सदभाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको भावना कायम राख्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सुरक्षा निकायबिच आपसी समन्वय, सूचना आदान–प्रदान र सरोकारवाला निकायसँग सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।
मुख्यमन्त्री बानियाँले आफू बागमती प्रदेश सरकारको प्रमुख मात्र नभई कांग्रेस बागमती प्रदेश सभापतिसमेत भएकाले प्रदेशमा सामाजिक सदभाव कायम राख्न विभिन्न राजनीतिक दलका प्रदेश नेतृत्व तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिसँग निरन्तर संवादमा रहेको जानकारी दिए। उनले सामाजिक सदभाव खलबल्याउने कुनै पनि गतिविधिलाई समयमै नियन्त्रण गर्न राजनीतिक, प्रशासनिक र सुरक्षा संयन्त्रबिचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा बागमती प्रदेशका सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको वर्तमान सुरक्षा अवस्थाबारे जानकारी गराउँदै सम्भावित चुनौती र त्यसको सामना गर्न अपनाइएका रणनीतिबारे प्रस्तुति दिएका थिए। उनीहरूले प्रदेशभर सुरक्षा निगरानी बढाइएको, संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था कडा बनाइएको तथा आवश्यकताअनुसार सुरक्षा परिचालनलाई थप प्रभावकारी बनाइएको जानकारी गराएका थिए ।
बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री शिवराज अधिकारी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेशसचिव कृष्णबहादुर शाही, नेपाली सेनाको मध्यपृतना बागमती प्रदेशका प्रमुख, नेपाल प्रहरीका डिआइजी कार्यालय हेटौँडाका प्रमुख, सशस्त्र प्रहरी बल बागमती प्रदेशका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश प्रमुखको सहभागिता रहेको थियो ।
सुनसरी घटनापछि मुलुकका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सदभावलाई असर पार्ने गतिविधिको जोखिम बढेको भन्दै बागमती प्रदेश सरकारले सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै सम्भावित अप्रिय घटना रोक्न पूर्वतयारी र समन्वयलाई प्राथमिकतामा राखेको जनाएको छ ।