युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ । मन्त्रालयमा बुधबार गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
साथै, काम कम्पनीभित्र (इनडोर) वा कम्पनीबाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ । यदि दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए दुवैको कार्य–समयसमेत उल्लेख गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि कामको शीर्षक मात्र उल्लेख भए पनि माग प्रमाणीकरण हुने व्यवस्था रहेकामा अब विस्तृत कार्य विवरण अनिवार्य गरिएको हो । गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा–सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ ।
मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुन सक्ने शोषण तथा ठगी न्यूनीकरण गर्न, श्रमिकको सेवा–सर्तको सुरक्षा सुनिश्चित गर्न तथा विदेश पठाउने प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।