चितवनमा बस, बलेरो र अटो ठोक्किँदा १४ जना घाइते

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ आपटारी चोकनजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चितवन प्रहरीका अनुसार शनिबार दिउँसो आपटारी चोकबाट करिब २ सय मिटरअगाडि ग १ ख ९९२५ नम्बरको बसले लु १ च ८५५२ नम्बरको बलेरोलाई ठक्कर दिएको थियो। सोही क्रममा पछाडिबाट आउँदै गरेको बा.प्र.०३–००१ ह २५४८ नम्बरको अटो पनि बलेरोमा ठोक्किएपछि दुर्घटना भएको थियो।

दुर्घटनामा बस र अटोमा रहेका १४ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको भरतपुर सरकारी अस्पताल, केहीको नयाँ मेडिकल कलेज तथा केहीको नेसनल सिटी अस्पतालमा उपचार भइरहेको छ।

भरतपुर सरकारी अस्पतालमा उपचाररत घाइतेहरूमा खैरहनी नगरपालिका–२ की ३२ वर्षीया सृजना सापकोटा, भरतपुर–२४ की २४ वर्षीया तारा तामाङ, भरतपुर–१८ की ५५ वर्षीया बुद्धिमाया तामाङ, भरतपुर–२० की ६२ वर्षीया लालमाया लामा, भरतपुर–१ का ४० वर्षीय अटोचालक होमबहादुर मगर, भरतपुर–१९ की ४३ वर्षीया टकमाया तामाङ तथा गोरखा अजिरकोट गाउँपालिका–३ की १६ वर्षीया दीपा तामाङ रहेका छन्।

यस्तै, नयाँ मेडिकल कलेजमा गोरखा अजिरकोट गाउँपालिका–२ की ३६ वर्षीया ज्ञानु तामाङ, सोही स्थानकी ३६ वर्षीया भीममाया तामाङ, ५ वर्षीय सिमन तामाङ र १३ वर्षीय सक्षम श्रेष्ठको उपचार भइरहेको छ।

नेसनल सिटी अस्पतालमा गोरखा नगरपालिका–१३ की ३३ वर्षीया दिलमाया दराई, ४० वर्षीया पुणिमा दराई, २२ वर्षीया अनिता दराई र ४१ वर्षीया शोभा दराई उपचाररत रहेका छन् । प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार