रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ भने नाैजना घाइते भएका छन्। जिल्लाको सुनछहरी गाउँपालिका– १, गामखोलामा सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग.१ज ६६६६ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी सुनछहरी– ४, सिउरीको कक्षा पाँचमा पढ्ने ११ वर्षीय छात्र सुनिल विक र १२ वर्षीयन कक्षा सातमा पढ्ने छात्रा दीपा पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड सकेर घर फर्किरहेको उक्त जिप राति १० बजे अनियन्त्रित भई दुर्घटना परेको थियो।
जिपमा सिउरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दुई शिक्षिकासहित ११ जना सवार थिए। घाइते सबैलाई तत्काल उद्धार गरी सुलीचौर प्राथमिक स्वास्थ्य चौकीमा लगिए पनि दुईजनाको मृत्यु भएको छ भने अन्य नाैजनालाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ।
दुर्घटना परी घाइते हुनेहरूमा हिमाल विक (१५ वर्ष), अमृता पुन (१२ वर्ष), जमुना विक (१४ वर्ष), अस्मिता विक (२४ वर्ष), पवित्रा पुन (१५ वर्ष), शनि विक (१६ वर्ष), विपना घर्तीमगर (१२ वर्ष), किसन घर्तीमगर (१५ वर्ष) र हस्तिरा विक (२४ वर्ष) रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
खोला तार्ने क्रममा जिप अनियन्त्रित भई गहिरो तलाउमा पल्टिएको थियो। अत्यधिक चिसो पानीमा जिप डुबेपछि पानीमा डुबानका कारण पनि बालबालिकालाई झन् असर परेको प्रहरीको भनाइ छ। जिपचालक लुङ्ग्री गाउँपालिका– ७, हार्जङनिवासी २५ वर्षीय मनसुर घर्ती प्रहरी नियन्त्रणमा छन्।
सुनछहरी गाउँपालिकाले आइतबार गाउँपालिकाभरका सम्पूर्ण शिक्षण संस्थामा शोक बिदा दिएको छ।