
स्वास्थ्य सामग्री खरिदको ठेक्कामा अनियमितता गरेको उजुरीमा डा. संगीता कौशल मिश्रामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ । यही कारण सिफारिस भएको उनको मन्त्री पद जोखिममा परेको छ। मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव हुन् । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य सामग्री खरिद विवादित बनेको थियो। त्यसैको उजुरीमाथि अख्तियारले छानबिन अघि बढाएको थियो ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने गरी अरू चारजनासमेतको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । स्वास्थ्यमन्त्री बन्ने निश्चित भएपछि त्यसको पूर्वसन्ध्याहमा मिश्राले अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । आफू एक नम्बरमा रहेकामा वरिष्ठताक्रम मिचेर सरकारले दोस्रो नम्बरका अर्का अतिरिक्त सचिवलाई सचिव बढुवा गरेपछि मिश्रा रुष्ट थिइन् । उनी ६ महिना हाजिर नै नगरी बसेकी थिइन् ।
मन्त्रीका लागि निश्चित गरेपछि मिश्राले आइतबार अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । राजीनामा मन्त्रिपरिषद्ले आइतबार नै स्वीकृत गरेपछि प्रधानमन्त्री कार्कीले मन्त्रीमा मिश्रालाई सिफारिस गरेकी थिइन्। तर, मन्त्रीमा सिफारिस भएसँगै मिश्राको आलोचना सुरु भएको थियो । उनीविरुद्ध खासगरी ठेक्कामा अनियमितता गरेको आरोप छ । यसैमा केन्द्रित भएर सञ्चारमाध्यमहरूमा समाचारहरू प्रकाशित भएका छन् ।
यसैबिच उनीउपरको उजुरीबारे बुझ्न खोज्दा अख्तियार स्रोतले छानबिन चलिरहेको बतायो । ‘उहाँउपर स्वास्थ्य सामग्री खरिदको उजुरी छ,’ अख्तियार स्रोतले भन्यो, ‘छानबिन अन्तिम चरणमा छ ।’ सार्वजनिक सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारले पनि मिश्राउपर छानबिन चलिरहेको र नियुक्ति नदिन सरकारलाई सुझाएको स्रोत बताउँछ ।