
गत २३ र २४ मा भएको जेन–जी नेतृत्वको आन्दोलनका लोत्से मलस्थित ‘फर यू’ फेन्सीमा ८० लाखबराबरको क्षति भएको छ । २८ वर्षीय कृष्ण चापागाईंले चार वर्ष मात्रै गोंगबुस्थित लोत्से मलमा उक्त फेन्सी खोलेका थिए । २४ भदौमा प्रदर्शनकारीले लोत्से मलमा पनि तोडफोड र आगजनी गरेका छन् । त्यस क्रममा चापागार्ईंको पसल पनि जलेर खरानी भएको छ । धनगढीबाट व्यवसाय गर्न भन्दै काठमाडौं आएका चापागाईंले अब व्यवसाय पुनरुत्थान गर्न पनि चुनौती हुने बताए ।
तोडफोड भएपछि चापागाईं र उनका केही साथी मिलेर पसलबाट सामान झिक्न थालेका थिए । तर, कालो धुवाँको मुस्लोसहित फैलिएको आगोले धेरै सामान जोगाउन नसकेको उनले बताए । ‘पसलमा करिब ९५ लाख रुपैयाँबराबरको सामान थियो,’ उनले भने, ‘झन्डै १० देखि १५ लाखजतिको मात्र सामान निकाल्यौँ । ८० लाखको सामान जलेर खरानी भयो । अब व्यवसाय कसरी पुनरुत्थान गर्ने भनेर चिन्ता छ ।’
दसैँ नजिकिएसँगै व्यापार उच्च हुने उनको अपेक्षा थियो । तर, आन्दोलनको आक्रमणले व्यवसाय डुबेको उनले बताए । उमेरले उनी आफैँ पनि जेन–जी हुन् । तर, जेन–जी आन्दोलनले नै उनको व्यवसाय खरानी भएको छ ।