Skip This
मन्त्रीमा थप पाँचजना सिफारिस
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ६ सोमबार
  • Tuesday, 23 September, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ असोज ६ सोमबार o६:५o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्रीमा थप पाँचजना सिफारिस

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ६ सोमबार o६:५o:oo

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो चरणमा पाँच मन्त्री छनोट गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । भ्रष्टाचारविरुद्ध २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबाट २७ भदौमा प्रधानमन्त्री बनेकी कार्कीले ३० भदौमा तीन मन्त्री नियुक्त गरेकी थिइन् । 

अर्थमा रामेश्वर खनाल, गृह र कानुनमा ओमप्रकाश अर्याल तथा ऊर्जा, भौतिक, यातायात र सहरी विकासमा कुलमान घिसिङ नियुक्त भएकामा आइतबार पूर्वन्यायाधीश अनिल सिन्हा, अतिरिक्त स्वास्थ्यसचिव संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल र समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियारको नाम नयाँ मन्त्रीका लागि सिफारिस गरिएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सर्वाेच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई उद्योग र भूमिमन्त्री, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव मिश्रालाई उक्त पदबाट राजीनामा गराएर स्वास्थ्यमन्त्री र वैज्ञानिक पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस गरिएको छ । त्यस्तै, पत्रकार खरेल सञ्चारमन्त्री र दलित समुदायको सामाजिक न्यायका लागि लड्दै आएका परियार कृषिमन्त्रीमा सिफारिस भएका छन् । यद्यपि मिश्राको नाममा विभिन्न प्रश्न उठेपछि सबैको नियुक्ति ‘होल्ड’ गरिएको छ । राष्ट्रपति कार्यालयले पाँचैजनाको नाम आइसकेको र राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेर शपथ गराउने जनाएको छ । 

११ सदस्यीय सानो र छरितो मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी प्रधानमन्त्री कार्कीले गत आइतबारै सात मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरे पनि केही नाममा प्रश्न उठेपछि पाँचजनाको नाम मात्रै सिफारिस गरेको निकट स्रोतले बतायो । प्रधानमन्त्री कार्कीले जेन–जी समूहबाट बब्लु गुप्ता र पिछडिएको क्षेत्रबाट मोहना अन्सारीलाई मन्त्री बनाउने तयारी गरेकी थिइन् । परराष्ट्रमन्त्रीमा अन्सारीको नाम चर्चामा थियो । तर, सहमति नजुटेपछि अहिलेलाई रक्षा र परराष्ट्रमन्त्री प्रधानमन्त्री कार्कीले आफैँसँग राख्ने मनस्थिति बनाएकी छिन् । वन मन्त्रालयमा मधेशबाट एकजना नियुक्त गर्न सक्ने स्रोत बताउँछ । 

यस्तो छ प्रस्तावित मन्त्रीको पृष्ठभूमि 
 महावीर पुन (शिक्षा मन्त्रालय)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस महावीर पुन वैज्ञानिक हुन् । साधारण जीवनशैली र नवीन सोच उनको परिचय हो । प्रसिद्ध म्यागासेसे पुरस्कार प्राप्त आविष्कारक पुनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाताभित्र राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेका छन् । केन्द्रमार्फत नेपाली युवालाई आविष्कारमा केन्द्रित गर्ने उद्देश्यले उनले आर्थिक सहयोग जुटाइरहेका छन् । अहिले किताब बेच्दै हिँडिरहेका छन् । केन्द्रमार्फत नयाँ अनुसन्धानको काम गरिरहेका छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनले वायरलेस प्रविधिद्वारा ०५७/५८  तिरै गृहजिल्ला म्याग्दीका ग्रामीण गाउँमा तारविनाको इन्टरनेट सेवा पु¥याएका थिए । 

डा. संगीता कौशल मिश्रा (स्वास्थ्य मन्त्रालय)
डा. मिश्राले मन्त्री बन्ने निश्चित गरेपछि आइतबार मात्रै स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । उनी चिकित्सकका साथै नेतृत्व व्यवस्थापनमा पनि अब्बल मानिन्छिन् । कोभिड महामारीको समयमा उनी कोशी अस्पतालको नेतृत्वमा थिइन् । त्यतिवेलाको कार्यप्रति नागरिकमा उनको भूमिकाको प्रशंसा हुने गरेको छ । कोशी अस्पतालको सफल नेतृत्वपछि उनी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक बनेकी थिइन् । पछिल्लो समय उनी स्वास्थ्यसचिवको दौडमा थिइन् । मन्त्रालयका विभिन्न शाखा र महाशाखा सम्हाल्दै मधेशबाट पहिलो स्वास्थ्यसचिवको दौडमा रहे पनि डा. विकास देवकोटा स्वास्थ्यसचिव बनेका थिए । 

मदनप्रसाद परियार (कृषि मन्त्रालय)
दलित समुदायको हकहित, सामाजिक न्याय, समतामूलक समाज निर्माणका लागि क्रियाशील समता फाउन्डेसनका अध्यक्ष डा. मदनप्रसाद परियार सामाजिक अभियन्ता हुन् । संविधानसभाबाट संविधान बनाउँदा परियार राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका संयोजक थिए । उनले दलित अधिकार, सामाजिक न्याय, जलवायु न्यायका लागि आवाज उठाउँदै आएका छन् । यद्यपि, समता फाउन्डेसनमा उनको नेतृत्वमाथि प्रश्न उठेर मुद्दा अदालतसम्म पुगेको छ ।  

अनिलकुमार सिन्हा (उद्योग र भूमि मन्त्रालय)
सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हा उद्योग र वणिज्यसम्बन्धी मामिलाका जानकार मानिन्छन् । १७ साउन ०७३ मा सर्वोच्चको न्यायाधीश भएका सिन्हाले १४ कात्तिक ०८० मा अवकाश पाएका थिए । सिन्हाले नेपाल ल क्याम्पसबाट कानुन पढेर वकालत पेसा सुरु गरेका थिए । वरिष्ठ अधिवक्ता हुँदै सर्वोच्चको न्यायाधीश बनेका थिए । वकालत पेसामा रहँदा उनले कर र कर्पोरेट क्षेत्रको विज्ञता हासिल गरेका थिए । न्यायाधीश भएर पनि उनले उद्योग र वाणिज्यसम्बन्धी मुद्दा हेरेका थिए । संवैधानिक प्रश्न निरूपणमा पनि उनको योगदान छ । प्रतिनिधिसभा विघटन मुद्दामा सिन्हाले संवैधानिक इजलासमा बसेर महत्वपूर्ण भूमिका निभाएका थिए । यसका अलावा अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी मुद्दा, ललितानिवास जग्गा प्रकरण, कर फस्र्योट आयोगसम्बन्धी मुद्दा पनि उनले हेरेका सुशासनसम्बन्धी मुद्दा हुन् ।

जगदीश खरेल (सञ्चार मन्त्रालय)
खरेल इमेज टेलिभिजनका समाचार प्रमुख हुन् । इमेज टेलिभिजनमा हटसिट कार्यक्रममा लिने अन्तर्वार्ता शैलीका कारण चर्चित छन् । दोलखाका खरेल दुई दशकभन्दा अगाडिदेखि पत्रकारितामा सक्रिय छन् । उनले आफू मन्त्री बन्न लागेको पुष्टि गरेका छन् । सोमबार शपथका लागि खबर आएको जानकारी गराएका छन् । 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल
सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयको विशिष्ट श्रेणी पदमा सरुवा गरेर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (एमडी)मा मनोज सिलवाललाई नियुक्त गरेको छ । 

वरीयता मिचेर गुप्तचर प्रमुखमा टेकेन्द्र कार्की नियुक्त
गुप्तचरको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । वरीयतामा अर्का एआइजी ओम जोशी सिनियर हुन् । उनी कार्कीभन्दा एक महिना एक दिनअघि एआइजीमा बढुवा भएका थिए । तर, सरकारले दोस्रो वरीयतामा रहेका कार्कीलाई चयन गरेको हो ।