
चाडबाडको समयमा विभिन्न यातायातका साधनहरूले मनलाग्दी भाडा यात्रुसँग लिने र समस्या परेका यात्रुहरूको सहजताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठपर्वको समयमा चाडबाड मनाउन बाहिरी जिल्लावाट आफ्नो जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने यात्रुहरूलाई ध्यानमा राखी प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । प्रहरीले जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोक, भलुवाजोरको सेलेघाट र खिम्तीको खिम्तीबेँसीमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवासचन्द्र मण्डलले जानकारी दिए ।
यातायातका साधनमा यात्रा गर्दा सरकारले तोकेको भाडादरभन्दा बढी यात्रुहरूसँग यातायातका चालक र सहचालकले रकम मागेमा तत्काल प्रहरी सहायता कक्षमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । त्यस्तै, सहायता कक्षबाट यात्रुहरूको भिड व्यवस्थापना गर्ने, जथाभावी भाडा बढी लिएको खण्डमा त्यस्ता सवारीसाधनलाई आवश्यक कारबाही गर्ने, बिरामी परेका यात्रुहरूलाई स्वास्थ्य उपचार गर्ने कार्य प्रहरीले गर्ने प्रमुख मण्डलले बताए ।
प्रहरीले चाडपर्वको मौका छोपी अनावश्यक भिडभाड, यात्रु ठगी, ओभरलोडिङ र सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार रोक्न कडाइका साथ निगरानी गर्नेछ । त्यस्तै, सहायता कक्षमार्फत यात्रुहरूलाई गन्तव्यअनुसार सवारीसाधन खोज्न, सुरक्षित यात्रा गर्न र समस्या परे तत्काल सहयोग पुग्ने अपेक्षा नागरिकहरूले लिएको मन्थली देवकोटा चोक टोलसुधार समितिका अध्यक्ष सुरेश उदासले जानकारी दिए ।