
सिराहाको गोलबजार नगरपालिका– १३, दुर्गापुर डंग्राहा गाउँका बालकको अपहरण गरी हत्या गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले सोधपुछका लागि आफन्तसहित आठजनालाई नियन्त्रणमा लिएको छ।
स्थानीय करिब १४ वर्षीय बालक अभिषेक सिंहको अपहरण गरी हत्यामा संलग्न रहेको आशंकामा सोधपुछका लागि आठजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
‘कुकुरसहितको टोलीले गरेको प्रारम्भिक अनुसन्धान र स्थानीय बासिन्दाको सूचनाको आधारमा आठजनालाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘नियन्त्रणमा लिइएकाहरूलाई इलाका प्रहरी कार्यालय गोलबजार पुर्याएर सोधपुछ गरिनेछ।’ प्रहरीले नियन्त्रणमा लिएकाहरूको नाम भने खुलाएको छैन।
अनुसन्धानको क्रममा भेटिएका तथ्य, प्रमाण र सोधपुछ गर्दा आएको कुराहरूको आधारमा दोषी यकिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए। घटनास्थलकाे मुचुल्कासहित अन्य कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ। शव भेटिएको ठाउँदेखि करिब १० मिटर दक्षिण दिशामा नयाँ खाल्डोसमेत खनिएको पाइएकाले हत्यामा संलग्न भएकाहरुले सोही खाल्डोमा पुर्ने योजना बनाएको प्रहरीको आशंका छ।
स्थानीय सञ्जयकुमार सिंह र रेखा सिन्हाका एक्लो सन्तानको रूपमा रहेका १४ वर्षीय अभिषेककुमार सिंहको शव मंगलबार बिहान घरनजिकैको अर्जुन आधारभूत विद्यालय जाने बाटोमा भेटिएको थियो। शव भेटिएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साह र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुरसहित आएको टोली घटनास्थल पुगेको थियो।
पाँच करोड फिरौती माग
गोलबजार– १३ का वडाध्यक्ष नन्दकुमार महतोका अनुसार बालक आइतबार साँझदेखि हराइरहेका थिए। त्यसको भोलिपल्ट खोजतलासका लागि आफूकहाँ सहयोग माग्न आएका वेला बालकले बोक्ने मोबाइलको इमोबाट आमाको मोबाइलमा अभिषेकलाई अपहरण गरी आफूहरूले कब्जामा राखेको भन्दै हिन्दी भाषाको म्यासेजमा फिरौतीबापतको पाँच करोड रकम सेप्टेम्बर २५ (९ असोज)भित्र बुझाउन तथा प्रहरी र पत्रकारलाई खबर गरे जे पनि हुन सक्छ भन्दै धम्क्याइएको उनले बताए।
बालकका बाबु सञ्जयको करिब १० वर्षअघि विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको गाउँलेहरू बताउँछन्। गाउँलेहरूका अनुसार ६ कक्षासम्म पढेका बालकले बाबुको निधन भएपछि हजुरबुबाको संरक्षणमा खेतीपाती र चालक राखेर ट्रयाक्टर चलाउने काममा सघाउँदै आएका थिए।