Skip This
देउवा र खड्कानिवासमा जलेको पैसा र क्षतिको विवरण संकलन गरेर ल्याइयो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ६ सोमबार
  • Tuesday, 23 September, 2025
तस्बिर : बुढानीलकण्ठस्थित देउवानिवास
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ६ सोमबार १७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा र खड्कानिवासमा जलेको पैसा र क्षतिको विवरण संकलन गरेर ल्याइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ६ सोमबार १७:१३:oo

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता दीपक खड्काको घरबाट जलेका पैसा र सम्पत्तिको विवरण संकलन गरेर ल्याएको छ।

विभागले आइतबार ती नेताको घरमा गएर आगजनी र तोडफोडबाट भएको क्षति र जलेका नोटको विवरण संकलन गरेर ल्याएको हो। जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा देउवा र खड्काको घरमा आन्दोलनकारीहरू प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए। आन्दोलनकारीहरूले देउवादम्पतीलाई त घाइते नै बनाए। उनीहरूको उपचार जारी छ।

आन्दोलनकारीहरूले दुवै नेताको घरमा ठुलो क्षति पुर्‍याएका छन्। दुवैको घरमा ठुलो रकम बरामद भएको तथा त्यसलाई उडाएको र जलाएको भिडियोसमेत सार्वजनिक भएका थिए। नेताका घरमा खाल्डो खनेर तथा बोरामा पैसा राखिएकोजस्ता हल्लाहरू सामाजिक सञ्जालहरूमा व्यापक भएका थिए।

नेताका घर भन्दै सम्पत्ति भेटिएको, पैसा जलाएको र उडाएका दृश्य सामग्रीहरू फैलिएपछि आइतबार विभागको टोली त्यसतर्फ गएको थियो। प्रहरीसहित विभागको तीन सदस्यीय टोलीले घरमा सम्पत्ति र क्षतिको विवरण संकलन गरेर ल्याएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको कार्यक्षेत्र भए पनि पछिल्लो समय अधिकार कटौती गरिएपछि विभागले नयाँ अनुसन्धान गर्न सक्दैन। तर, यस घटनामा भने विभागले टोली नै खटाएर विवरण संकलन गरेर ल्याएको छ। यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

‘टोलीले निवासमा जलेका नोटहरू र क्षति भएको सम्पत्तिको विवरणसहित मुचुल्का उठाएर ल्याएको छ,’ विभाग स्रोतले भन्यो। कति नोट जले र सम्पत्तिको क्षति कति भएको छ भन्नेबारे भने थप हेर्नुपर्ने विभाग स्रोत बताउँछ। पछि कुनै निकायलाई आवश्यक परेका बखत ती विवरण दिने स्रोतले बतायो।

सम्पत्ति शुद्धीकरण मामिलामा नयाँ अनुसन्धान नगर्ने अवस्थामा किन यस्तो विषयमा चासो देखायो भन्ने प्रश्नमा विभाग स्रोत भन्छ, ‘आगजनी र तोडफोडबाट केही सम्पत्तिमा क्षति पुगेको छ। तर, यसैलाई देखाएर भोलि बढी वा कम क्षति दाबी गर्ने सम्भावना हुन्छ। क्षतिको यथार्थ अवस्था ल्याएको अवस्थामा भविष्यमा अनुसन्धान हुन सक्ने अवस्था आए यसले काम गर्छ,’ विभाग स्रोतले भन्यो।