Skip This
हेटौँडा उपमहानगरमा ३२ करोडभन्दा बढीको क्षति, सेवा प्रवाह प्रभावित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
२o८२ असोज ७ मंगलबार १२:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरमा ३२ करोडभन्दा बढीको क्षति, सेवा प्रवाह प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १२:३२:oo

गत भदाै २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा हेटौँडा उपमहानगरपालिकाको भौतिक सम्पत्तिमा ठुलो क्षति पुगेको छ । उपमहानगरपालिकाले सवारीसाधनदेखि भवन र महत्त्वपूर्ण अभिलेखसम्म गुमाउँदा सेवा प्रवाहमा समेत असर परेको छ। उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उपमहानगरपालिकामा करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँबराबरको क्षति भएको तथ्यांक  निकालेको छ ।

समितिका संयोजक तिमल्सिनाका अनुसार उपमहानगरपालिकाको हेटौँडा– २ स्थित मुख्य भवनसहित १, ३, ४, १०, ११, १५ र १९ नम्बर वडा कार्यालयहरूमा क्षति पुगेको छ । उनका अनुसार ११, १५ र १९ नम्बर वडा कार्यालय भवनमै आगजनी र तोडफोड भएको छ भने अन्य वडाहरूमा तोडफोडसहित सामान बाहिर निकालेर जलाइएको छ । यस्तै हेटौँडा– ११ स्थित प्रादेशिक कृषि थोक बजारमा समेत ठुलो क्षति पुगेको छ । प्राविधिक मूल्यांकनअनुसार उपमहानगरको भवनमा मात्रै १६ करोड ३७ लाख ८८ हजार रुपैयाँबराबरको क्षति भएको संयोजक तिमल्सिनाको भनाइ छ ।

यस्तै, उनका अनुसार १८ वटा विभिन्न प्रकारका चारपांग्रे सवारीसाधनमध्ये नाैवटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने १७ वटा मोटरसाइकल, तीनवटा स्कुटर, एउटा अटो जलेट नष्ट भएका छन् । उपमहानगरपालिकाका सवारीसाधनहरू पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब ६ करोड ७३ लाख ४० हजार रुपैयाँबराबरको क्षति भएको छ । 

विभिन्न वडा कार्यालय र सेवा केन्द्रसमेत प्रभावित भई थप आर्थिक भार परेको मूल्यांकन समितिका संयोजक तिमल्सिनाले बताए । ‘आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उपमहानगरपालिकामा ३२ करोडभन्दा बढीको क्षति भएको देखिन्छ,’ उनले भने, ‘उपमहानगरपालिकाको मुख्य भवन, केही वडा कार्यालयहरू, सवारीसाधन र महत्त्वपूर्ण कागजात र अभिलेखमा क्षति भएको छ ।’ 

यस्तै, क्षति मुल्यांकन समितिका संयोजक तिमल्सिनाले जिन्सी शाखा र राजस्व शाखा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा महत्त्वपूर्ण अभिलेख नष्ट भएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकामा हाल राजस्व संकलन कार्य पूर्ण रूपमा ठप्प छ भने स्वास्थ्य महाशाखा, सामाजिक विकास शाखा र पूर्वाधार शाखाबाट अत्यावश्यक सेवा भने निरन्तर प्रदान भइरहेको छ ।

उपमहानगरका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले आन्दोलनले हेटौँडा उपमहानगरको लामो इतिहास मासिएको दाबी गरे । उनका अनुसार स्थापना कालदेखिका महत्त्वपूर्ण दस्ताबेज जलेर नष्ट भएका छन् । नगरपालिकाका योजना शाखामा रहेका विभिन्न २५ कम्पनीका भुक्तानीसम्बन्धी फाइलसमेत जलेर नष्ट उनले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकामा भएको आजगनी र तोडफोडले आमसर्वसाधारणदेखि विभिन्न पेसा–व्यवसायीहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।