१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ जेठ २९ बुधबार ०८:५२:००
Read Time : > 2 मिनेट
अर्थ

उच्च जोखिमका बिमा मात्रै नेपाली पुनर्बिमा कम्पनीलाई   

पुनर्बिमाका लागि ३ अर्ब ४५ करोड बाहिरिँदा १ अर्ब ६९ करोड भित्रियो

Read Time : > 2 मिनेट
२०७६ जेठ २९ बुधबार ०८:५२:००

नेपाली बिमा कम्पनीहरूले उच्च जोखिम भएका बिमा योजनाहरू मात्रै नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्ने गरेको तथ्यांकले देखाएको छ । सरकारले बिमा कम्पनीहरूलाई आफ्नो बिमाको २० प्रतिशत पुनर्बिमा स्वदेशी पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरको छ । तर, कम्पनीहरूले उच्च जोखिम भएका अधिकांश बिमा योजनाहरू मात्रै नेपाल पुनर्बिमा कम्पनीलाई दिने गरेका छन् । उच्च जोखिम हुने बिमा योजनाहरू बिदेशी पुनर्बिमा कम्पनीले अस्वीकार गर्ने भएकाले त्यस्ता अधिकांश बिमा नेपाली पुनर्बिमा कम्पनीलाई दिने बिमा समितिले गरेको एक अध्ययनले देखाएको छ । 

अध्ययनअनुसार जीवन बिमा कम्पनीहरूले बिमा योजना (सावधिक, आजीवन र म्यादी)को मात्रै पुनर्बिमाका अधिकांश हिस्सा विदेशी पुनर्बिमामा गरेका छन् । यस्तो प्रकृतिको बिमाको जोखिम कम हुन्छ । त्यस्तै, राइडर र सामूहिक बिमाको पनि थोरै हिस्सा मात्रै स्वदेशी पुनर्बिमा कम्पनीमा गरिएको छ । तर, वैदेशिक रोजगार म्यादी जीवन बिमाको ठूलो हिस्सा नेपाली पुनर्बिमा कम्पनीमा पुनर्बिमा गरिएको छ । पछिल्लो समयमा बिमा समितिले वैदेशिक रोजगार बिमाको बिमाशुल्क घटाएको छ भने सुविधा थप गरेको छ । जोखिम अधिक र बिमाशुल्क कम भएपछि विदेशी पुनर्बिमा कम्पनीहरूले पुनर्बिमा गर्न अस्वीकार गरेका छन् ।

सोहीकारण नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्न बाध्य भएको नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । ‘जोखिम धेरै भएका बिमाको विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्न चाहँदैनन् । तर, हामी लिन्छाैं । यसको विकल्प पनि त छैन,’ उनले भने । नेपाली जीवन कम्पनीहरूले वैदेशिक रोजगार बिमाबापतको ६५ प्रतिशत पुनर्बिमा नेपाली पुनर्बिमा कम्पनीमा गराएका छन् । पाँच वर्षको अवधिमा वैदेशिक रोजगार जीवन बिमाबापत २ अर्ब २६ करोड रुपैयाँ विदेशिएको छ भने १ अर्ब २५ करोड रुपैयाँ दाबीबापत नेपाल भित्रिएको छ ।

जीवन बिमाको अधिकांश पुनर्बिमा विदेशीलाई
जीवन बिमा कम्पनीहरूले बिमा योजनाको अधिकांश जोखिम विदेशी पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गरेका छन् । पछिल्लो पाँच वर्षमा कम्पनीहरूले ९७ दशमलव ४७ प्रतिशत पुनर्बिमा विदेशी पुनर्बिमा कम्पनीलाई दिएको समितिको अध्ययनले देखाएको छ । 

तथ्यांकअनुसार पाँच वर्षमा बिमा योजना पुनर्बिमाबापत नेपालबाट ८२ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ भने ३२ करोड ६७ लाख रुपैयाँ नेपाल भित्रिएको छ । बिमा योजनाको जोखिम भनेको सावधिक, आजीवन र म्यादी पोलिसको जोखिम हो । जसमा अन्य सुविधाको जोखिम जोडिएको हुँदैन । समितिको तथ्यांकअनुसार पाँच वर्षमा नेपाली जीवन बिमा कम्पनीहरूमार्फत पुनर्बिमाका लागि ३ अर्ब ४५ करोड रुपैयाँ बाहिरिएको छ । तर, सो अवधिमा पुनर्बिमा भुक्तानीबापत १ अर्ब ६९ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको छ ।

राइडरबापतको ९ प्रतिशत जोखिम मात्रै नेपाल पुनर्बिमालाई 
नेपाली जीवन बिमा कम्पनीहरूले राइडरबापतको ९ प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीमा गर्ने गरेका छन् । समितिको अध्ययनअनुसार नेपाल पुनर्बिमा कम्पनी स्थापनापछि पनि ९१ प्रतिशत राइडरबापतको जोखिम विदेशी पुनर्बिमा कम्पनीलाई नै हस्तान्तरण गरिँदै आएको छ । पाँच वर्षको अवधिमा यस्तोे पुनर्बिमाबापत ३० करोड रुपैयाँ बाहिरिएको छ भने ९ करोड ७ लाख रुपैयाँ मात्रै नेपाल भित्रिएको छ । राइडर भनेको बिमा पोलिसीमा थप शुल्क भुक्तानी गरी लिइने   दुर्घटना, पूर्ण अशक्तताजस्ता अतिरिक्त सुविधा हो । 
 
सामूहिक बिमाको जोखिम न्यून जोखिम नेपाल पुनर्बिमालाई
बिमा कम्पनीहरूले सामूहिक जीवन बिमाको २ दशमलव ५९ प्रतिशत हिस्सा मात्रै नेपाली पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गरेका छन् । विगत पाँच वर्षमा यस्तो बिमाको पुनर्बिमा  गर्न कम्पनीहरूले ६ करोड ११ लाख रुपैयाँ विदेशी कम्पनीलाई भुक्तानी गरेका छन् । जबकि २ करोड ३७ लाख रुपैयाँ मात्रै नेपाल भित्रिने गरेको छ । सामूहिक जीवन बिमा भनेको संघ–संस्थाले आफ्ना कर्मचारीको सामूहिक रूपमा गर्ने बिमा हो । 

पुनर्बिमा भनेको के हो ?
बिमा कम्पनीहरूले आफ्नो क्षमताभन्दा माथि रहेको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । यसरी बिमा कम्पनीहरूले अर्को कम्पनीलाई जोखिम हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बिमा भनिन्छ । यसरी बिमा कम्पनीहरूले जोखिम बहन गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ । नेपाली जीवन बिमा कम्पनीहरूले पहिला स्कोर ग्लोबल लाइफ सिंगापुर र मलेसिया, ह्यानओभर री, डेलावाअर अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँग पुनर्बिमा सम्झौता गर्दै आएका थिए । तर, नेपाल पुनर्बिमा कम्पनीको स्थापना भएपछि नेपाल पुनर्बिमा र ट्रस्ट री कम्पनीमा पनि पुनर्बिमा गर्दै आएको बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए । उनका अनुसार केही कम्पनीले भने भारतको जेबी बोडा ब्रोकर कम्पनीमार्फत पनि पुनर्बिमा गर्दै आएका छन् । स्कोर ग्लोबल लाइफ कम्पनीले फ्रान्सको रेटिङ कम्पनीबाट एए माइनस रेटिङ पाएको छ । त्यस्तै, ह्यानओभर कम्पनीले एए, डेलावाअरले ए, ट्रस्ट रीले बी डबल प्लस रेटिङ पाएको छ । नेपाल पुनर्बिमा कम्पनीले भने अहिलेसम्म रेटिङ गरेको छैन ।